बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

संयुक्त विद्यार्थी सङ्गठनद्वारा विद्यालय अनुगमन : कक्षा १ को मासिक शुल्क २८ हजार

बुधबार, २२ वैशाख २०७३, १६ : ०६
बुधबार, २२ वैशाख २०७३
काठमाडौँ - संयुक्त विद्यार्थी सङ्गठनले मनोमानी शुल्क उठाउने विद्यालयलाई आजदेखि अनुगमन सुरु गरेको छ ।

नेपाल विद्यार्थी सङ्घको केन्द्रीय कार्यालय डिल्लीबजारमा मङ्गलबार बसेको बैठकले मनोमानी शुल्क उठाएका विद्यालयलाई कम शुल्क उठाउन पटकपटक आग्रह गरे पनि अटेर गरेको भन्दै अनुगमन गर्न निर्णय गरेअनुसार आजबाट अनुगमन सुरु गरेको हो ।

अभिभावक सङ्घसहित गएको विद्यार्थी टोलीले युलियन्स र रातो बङ्गला विद्यालयमा अनुगमन गरेको थियो ।

नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले अनुगमनका क्रममा युलियन्स र रातोबङ्गलाले शिक्षा नियमावली विपरीत शुल्क उठाएको बताउनुभयो । उनले भने, “युलियन्सले कक्षा १ मा रु २८ हजार र रातोबङ्गलामा रु २५ हजार भर्ना शुल्क लिएको पाइयो यो शिक्षा नियमावली विपरीतको शुल्क हो ।”

यस्तै रातोबङ्गलाले विद्यार्थीलाई दिने निः शुल्क छात्रवृत्ति पनि दिएको छैन ।

एनेकपा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रमेश मल्लले जिल्ला शिक्षा कार्यालयले विद्यालयमा लिने शुल्कसम्बन्धी कुनै पत्राचार नगरेको पाइएको बताए । उनले भने, “सरकार र जिल्ला शिक्षा कार्यालयको मिलेमतो गरेको पाइयो, हामी सरकारलाई कारबाहीका लागि आह्वान गर्छौं, कुनै सुनुवाइ नभए आन्दोलनमा जान्छौँ ।”

अनुगमनमा नेवि सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु पाँचाँै, अनेरास्ववियु छैटौँलगायत ११ विद्यार्थी सङ्गठनका प्रतिनिधिको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप