अग्नी पिडित भन्छन्–‘कसैबाट सहानुभुति पाईएन’
बिहीबार, २३ वैशाख २०७३, ०८ : ४२
प्रेम सुनार
गुल्मी, गुल्मीको बडागाउँ १ र २ मा गत शनिवार वनमा लागेको आगोले जलेर अधिकांस घरहरु नष्ट भएकाहरु मध्ये माझागाउँका पिडितहरुले राजनैतिक दलका नेता र समाज सेवीहरु प्रति दुखेसो गरेका छन् । तल वडा नम्वर १ को दजाकोटमा राहत संकलन र वितरणको केन्द्र बनाईएको छ । त्यहाँबाट माथी माझागाउँ पैदल जान झण्डै एक घण्टा लाग्ने गर्दछ ।
मोटर वाटाको सुविधा नभएका कारण दलका नेता ,सरकारी निकायका प्रम्ख र सहयोगदाता त्यहाँ कम जाने गरेका कारण त्यहाँका पिडितहरुले त्यस्तो गुनासो गरेका हुन् । माझागाउँका ९ घरधुरी पिडित परिवार मध्येका टेकबहादुर बिश्वकर्मा भन्छन् –‘तल लिन गईयो भने सहयोग त पाईएकै छ तर सहयोगदाता र नेताहरुको सहानुभुति पाउन भने सकिएको छैन् ।’
घरमा श्रीमान नभएकी त्यस गाउँकी ईन्द्रकुमारी दर्लामी घर जले, भत्केको ठाउँमा रुदै बसेकी छिन आफ्नो तिन लाख नगद, तिन तोला सुन, विसौं मुरी मुरी कोदो, मकै र धान लगायतका अन्न र ९ वटा बाख्रा त्यसमा पुरिएको पिरले । हिजो चौथो दिनका दिन गृहमन्त्री शक्तीबहादुर बस्नेत तल दजाकोट आउँदा माथी पनि आउलान् र आफ्नो पुरिएको त्यति ठुलो धनराशी, गहना, अन्न–पातको पिर पोखुला र केहि राहतको माग पनि गरुला भन्ने ठुलो आशा राखेको बताउँदै ईन्द्रकुमारीले भनिन –‘न ति मन्त्री आए न हामीले जिताएर पठाएका चन्द्र भण्डारी आए न त एमालेका ठुला नेता प्रदिप ज्ञवाली नै आए । ’
‘उनिहरु तलै बाट फर्केकोमा साह्रै दुखि छौ, हामी माथीका पिडितहरुलाई सौतेलो व्यवहार भयो’– त्यहाँका नौ वटै घरधुरी अग्नी पिडितको यस्तो गुनासो थियो । गृह मन्त्री आउने क्रममा त्यहाँको अवस्थावारे प्रतिवेदन प्रस्तुत गर्दा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले मरेका सवै चौपाँयहरु खाडलमा गाड्ने काम सकिएको भन्ने कुरा जाहेर गरेका थिए ।
तर आज पाँचौ दिन यो समाचारदाता पुग्दा दर्लामीको जले–भत्केको घरमा ९ वटा बाखाहरु पुरिएकै अवस्थामा रहेको भन्दै देखाईयो । दर्लामीले भनिन् –‘के गर्नु एउटी छोरी अपाङ्ग छे, ःश्रीमान भारतमा हुनुहुन्छ म एक्लै छु यस्तो हुँदा कसैले फर्केर हेरेनन्, मैले गुहार पाउन सकिनु ।’उनका दश वटा बाख्रा मध्ये एउटा मात्र बचाएको र अरु ९ वटा उनकै आँखा अगाडी पुरिएका थिए ।
‘वहिनीको छोरा विदेश पठाउनका लागि केहि श्रीमानले पठाएको र केहि ऋण धन गरेको तिन लाख नगद थियो, तिन तोला सुनका गहना थिए’ –उनले रुदै भनिन्– ‘कोदो मकै त विसौं मुरी थियो सवै जलेर नष्ट हुँदा मर्नु न बाँच्नु भएकी छु । ’
उनले पुरिएका ति बाख्राहरु र विशेषतःसुनका गहना खोजि दिन सम्वन्धित निकाए संग आग्रह गरिन् । पुरिएका पैसा पनि वाकसमा नजलेको हुन सक्ने भन्दै उनले त्यो पैसा पनि पाईन्छ कि भन्ने झिनो आशा बोकेकी छिन् । उनका ःश्रीमान विष्णुबहादुर दर्लामी भारतिय रेलवे सेवामा कार्यरत छन् ।
छुट्टी नपाएकाले उनि आउन नसकेको बताईएको छ । आज पाँचौ दिन सम्म पनि यस गाउँमा सिने उठ्न सकेको छैन् नि भन्दै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलको ध्यानकृष्ट गराउँदा उनले सुचना नपाएको बतए । उनले भने–‘ संवन्धितले सुचना त दिनु प¥यो नि , हामीलाई त्यसै थाह हुने कुरै भएन अव जानकारी आयो तत्काल त्यो निकाल्न लगाउछु । ’
खाने पानीको ठुलो समस्या खेप्दै आएका त्यस गाउँका अग्नी पिडित मध्येका धनबहदुर राकसकोटी पनि उद्धार कार्य र राहत वितरणमा तल दजाकोटमा भन्दा माझागाउँमा केहि अन्याय भएको गुनासो गर्छन् । उनले भने–‘ ल हेर्नुस् आज पाँच दिन सम्म पनि दर्लामीका बाख्रा पुरिएकै अवस्थामा छन् , तल निकालेर सुरक्षित ठाउँमा गाडेर सकियो , त्यहाँ खाने पानी पनि आएको–आई छ तर हामीलाई पिउने पानीको यति ठुलो अभाव छ यो समस्या कसले सुनि िदने ?’
बडागाउँको मैदान र हलोगाडेका व्यवसायीहरुले मेश चलाएर उनिहरुलाई खानाको व्यवस्था गरेका छन् । ९ घरधुरीका झण्डै ५० जनाले खाना खाने ठाउँमा पानीको अभाव भए पछि त्यहाँ खटिएका व्यवसायीहरुले फोन गरेर ज्ञानबहादुर सारु भन्ने व्यक्ति मार्फत मानी मगाउँदै थिए । उनिहरु भन्दै थिए –‘तल दजाकोटमा निमार्ण व्यवसायी संघले पाँच दिन सम्म पानी पुराउने भने पनि यहाँ पानी नआएकोले हामी यहीका व्यवसायीले पैसा हालेर पानी मगाउँदै छौं ।’
प्रजिअ कडेल एकद्धरा प्राणलीबाट राहत वितरण गर्न निर्देशन दिए पछि माथी माझागाउँमा सहयोगदाताले सिधै राहत लैजान नसकेका हुन् । उनिहरुको गुनासाका सम्वन्धमा त्यस अग्नी पिडित राहत संकलन तथा वितरण समितिका अध्यक्ष रहेका बडागाउँ गाविस सचिव यमकान्त पौड्यालको ध्यानकृष्ट गराउँदा राहत वितरणमा कतै विभेद नभएको र तल जे जती वितरण हुन्छ त्यतिनै माथी पठाईने गरिएको बताए ।
उनिहरुले यहाँ जस्तै बेग्लै डेक्सको माग गरेका छन नि ः? भन्ने प्रश्नमा उनले भने–‘ त्यसो भए आजै देखि माथी समितिका केहि साथीहरुलाई खटाएर माथी पनि डेक्स खडा गराउछौं ।दजाकोटमा समाज सेवी तथा पशुपति निम्न माध्यामिक विद्यालयका प्रधानध्यापक हरिप्रसाद छन्त्यालले मोटरबाटाको समस्याका कारणले गर्दा तल दजाकोटलाई राहत संकलनको केन्द्र वनाईएको तर वितरणमा कत्ति पनि विभेद हुन नदिएको बताए ।
उनले भने–‘ कसैले भ्रम पालेको हुन सक्छ त्यस्तो भ्रममा नपरौं , हामीले कत्ति विभेद हुन दिने छैनौं ।’ माझागाउँलेहरुले भने आफुहरुलाई सहयोग गर्न चाहनेहरुले सिधै सहयोग गर्न पाउनु पर्ने माग गरेका छन् । नेपाल रेडक्रश सोसाईटी बडागाउँ उपशाखाका सभापति गुप्तबहादुर कार्कीका अनुसार माझागाउँकी ईन्द्रकुमारी दर्लामीको जले भत्केको घर गोठ खनेर हटाउनै नसक्ने अवस्था भएकोले पुरिएका ति बाख्राहरु निकाल्न नसकिएको हो ।
उनले भने–‘हामीले धेरै प्रयास गरेका हौं तर नसके पछि उनको घर र गोठ भत्काएर ति व्राख्रा त्यसैमा पुर्ने सोच बनाएर बसेका थियौं तर भर्खर सिडियो सावको फोन आए पछि अहिले केहि मानिसहरु त्यस तर्फ पठाएका छौं । ’
एकल बृद्धको विचल्ली
त्यसै माझागाउँमा ७० को नेटो काटेकी रैमती दर्लामीको सम्पत्ती भन्नु साने एउटा झुपडी थियो । त्यही झपडी पनि आगोले सखाप पारे पछि उनको अहिले विचल्ली छ । श्रीमानको धेरै वर्ष अघि मृत्यु भएको थियो । उनका छोरा छैनन् । एउटी सन्तान छोरी छन् जसको विवाह भएर अर्कैको घर गर्छिन् ।
हिड्न सक्दीनन् । घरमा आगो लाग्दा वल्ल वल्ल उनलाई छिमेकीले बचाए तर उनका कपडा लत्ता र भाँडा कुडा बचाई दिन सकेनन् । कान कम सुन्ने उहि आफ्नो पिडा अरुलाई बाँड्न सकेकी छैनन् । छिमेकीको पिंढीमा लौराको साहरा लिएर टुक्रुक्क वसेकी उनलाई अरुले तल वाट राहत ल्याई दिए खाने , प्रयोग गर्ने हो नत्र त्यतिकै बस्ने हो । उनलाई कुनै न कुनै संस्था वा व्यक्तिले बेग्लै राहतको व्यस्था गरी दिए उनको कल्याण हुने बताउ छन् तल दजाकोटका समाज सेवी हरिप्रसाद छन्त्याल ।
राहत वितरणमा एकद्धारा प्रणालीको असर विशेषतः त्यस्तै गरिव वेसहरालाई परेको उनै बृद्धको विचल्लीले पनि देखाएको छ । अग्नी पिडितहरु मध्ये केही विकासितत मुलुकमा मासिक लाखौ कमाउने त कोही शहर वजारमा पक्की घर बनाउनेहरु पनि हुन सक्छन तर त्यस्ता विपन्न र वेसहारालाई एउटै तुलोमा जोखेर राहत वितरण गर्दा कत्तिको न्यायोचित होला ? भनेर प्रश्न उठाउन पनि थालिएको छ ।
वालवालिकामा झाडा पखालाको खतरा
आज पाँचौ दिन सम्म पनि माझागाउँका कतिपय घरहरुमा आगो अझै निभेको छैन् । हुरी वतास चल्दा खरानी मुखमा आउने , केहि दुर्घन्ध पनि आउने भएका कारण पाका मानिसहरुको टाउको दुख्ने ज्वरो आउने विमार सुरु भएको छ भने वालवालिकाहरुलाई पखाला लाग्ने वान्ता हुने गरेको छ ।
बडागाउँ स्वास्थ्य चौकीकी अहेव अनिषा केसीका अनुसार माझागाउँका ६ जना र तल दजाकोटका ८ जना वालिकाहरुलाई पखला लाग्ने र वान्ता हुने गरेको छ । उनिहरुलाई राहत वितरण केन्द्र नजिकै राखिएको स्वास्थ्य शिविरमा औषधी उपचार गरिएको छ । केसीले भनिन् प्रकोपका रुपमा त त्यस्तो विमार छैन् तर फाटफुट भने देखा परेको छ ।
सहयोगदाताले ल्याई दिएका फलफुलहरु कुहिन लागेको हुन सक्ने, पानी सहयोग गर्नेहरुले खोलाको दुर्घन्धित पानी ल्याई दिन सक्ने लगायतका कुराले विशेषत वालवालिकाहरुमा झाडा वान्ताको खतरा बढ्न सक्ने प्रति सचेत हुन पर्ने देखिएको छ ।
यस्तो छ क्षति विवरण
छुट्टिएर गोठ बंगलामा बस्ने सहित ७१ घरधुरी जलेर नष्ट भएको भए पनि ति सवै घरधुरीमा परेनन् । बडागाउँ गाविस कार्यालयले तयार पारेको क्षति विवरणमा पुर्ण नष्ट घर जम्मा ५५ वटा र आंशिक १० मात्रै परेका छन् । घर सरहकै निर्माण खर्च लाग्ने गोठ–बंगालो ६९ वटा जलेर नष्ट भएका छन् । २० वटा आंशिक क्षति भएका छन् ।
शौचालय २० वटा पुर्ण रुपमा क्षति भएका छन भने १५ वटा आंशिक क्षति भएका छन् । भैसी २६ वटा मरेका छन भने ३ वटा घाईते छन् । बाख्रा ८४ वटा मरेका छन् । ८ वटा घाईते छन् । बंगुर ५ वटा मरेका छन १ घाईते छ ।
एक जना मेयरसिंह राकासकोटीको मृत्यु भएको छ भने ३ जना घाईते छन् । कु्खरा परेवाहरु ३ सय ६६ वटा मरेका छन् । गाई र गोरु १५ वटा मरेका छन् ३ घाईते छन् । त्यस आगालागीबाट वडा नम्वर १ को दजाकोटमा मात्र ३ करोड ८३ लाख ७५ हजारको क्षति अनुमान समितिले गरेको छ ।
वडा नम्वर २ को माझगाउँ लगायतका स्थानमा २ करोड १० लाख । वडा नम्वर ३ मा २ लाख ८० हजार सहित शनिवार एकै साथ लागेको आगोले त्यहाँ कुल ५ करोड ९६ लाख ५५ हजार क्षति अनुमान गरिएको छ । तर व्यक्तीका नगद, जिन्सी लगायतको हिसा गर्ने हो भने १५ देखि २० करोड सम्मको क्षति भएको वित्तिय क्षेत्रका मानिसहरु बताउ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण