बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सरकार ढल्ने खबरले पूँजीबजारमा देखियो यस्तो असर

बिहीबार, २३ वैशाख २०७३, ११ : १७
बिहीबार, २३ वैशाख २०७३

काठमाडौं – एमाले अध्यक्ष  केपी ओलीले नेतृत्व गरेको सरकार ढाल्न भइरहेको कसरतको असर नेपाली पूँजीबजारमा देखिएको छ । पार्टी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको उमेद्वार बनाउने एकीकृत माओवादीको औपचारिक प्रेस विज्ञप्ति सार्वजनिक भएपछि हालको सरकार ढल्ने निश्चित प्राय भएपछि नेपालको पूँजी बजार सेलाएको छ । नेप्सेमा सामान्य गिरावट आएको भएपनि सरकार परिवर्तनको यो समयमा नेपालको पूँजीबजारमा देखिएको यस्तो असरलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस्तो थियो बुधबारको कारोबार  साताको चौथो दिन बुधबार नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक ३.८४ अंकले ओरालो लागी १४६८.११ अंकमा अडिएर बजार बन्द भयो । बुधबार वाणिज्य बैंक, विकास बैंक, अन्य र बिमा समूहका परिसूचक क्रमशः ८.९५, ५.२४, २.८३, २.३५ र १.९२ अंकले घटे । यता होटल समूहको सूचक भने १०.२ अंकले उकालो लाग्यो भने फाइनान्स समूहको सूचक पनि ०.२ अंकले उकालो लाग्यो । बुधबार जम्मा १२२ कम्पनीका ९ लाख ७० हजार ५ सय ५२ कित्ता शेयर खरिद बिक्रीबाट ७२ करोड ८९ लाख ६२ हजार ३८ रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी एनआइसी एसियाको ४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक, एभेरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन बैंक रहेका छन् । बुधबार कसले कमाए कसले गुमाए ? साताको चौथो दिन बुधबार भएको कारोबारमा कमाउनेमा साझा विकास बैंक, हामा मर्चेन्ट एण्ड फाइनान्स, काक्रे विहार विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, प्रोफेशनल दियालो विकास बैंकका लगानीकर्ता रहेका छन् । त्यस्तै गुमाउनेमा मिथिला लघुवित्त विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक, बरुण हाइड्रो, राप्तीभेरी विकास बैंक, युनिक फाइनान्सका लगानीकर्ता रहेका छन् । लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा नेपाली राजनीति रातारात तातेपछि लगानीकर्ताहरु ’पर्ख र हेर’ को अवस्थामा रहेको विश्लेषकहरु बताउँछन् । एमालेले नेतृत्व गरेको सरकार ढल्ने पक्कापक्की जस्तो भएका बेला अवको सरकार आएपछिको बजारको अवस्था कस्तो हुन्छ भन्ने एकिन नभएकाले लगानीकर्ताहरुले अहिले लगानी गर्न हतार नगरेको विश्लेषकहरुको तर्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप