बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

महोत्तरीको रामनगरका ५० वटा इनार सुके

बिहीबार, २३ वैशाख २०७३, ११ : १९
बिहीबार, २३ वैशाख २०७३
गौशाला– चर्को घाम र प्रचण्ड गर्मीका कारण महोत्तरी जिल्लाको उत्तरवर्ती रामनगर गाविसमा ५० वटा इनार सुकिसकेका छन् भने त्यहाँ पानीको हाहाकार मच्चिएको छ । भौगोलिक विकटताका कारण गर्मीयाम आउनासाथ पानीको सतह घटेर धेरै तल गइसकेर रामनगरका विभिन्न वडामा रहेका जम्मा १०० वटा इनारमध्ये ५० वटा इनार पूर्णरुपेण सुकिसकेका छन् भने बाँकी पानी पनि पाताल पुगीसकेको पूर्वगाविस अध्यक्ष गङ्गाप्रसाद महतोले बताउनुभयो । सो गाविसका ५० वटा इनार एकैचोटि सुकिदिँदा त्यहाँ खानेपानीको बिकराल समस्या उत्पन्न भएको र ती इनारबाट एक गाग्री पानी पनि निस्किने अवस्था नरहेको स्थानीय युवा उमाशङ्कर महतोले बताउनुभयो । पानीको हाहाकार मच्चिएपछि पशुपतिनगरका प्रत्येक परिवारका एकजना सदस्यले विगत १५÷२० दिनदेखि दिनभरि खानेपानीको जोहोमा लाग्नुपरेको स्थानीय स्वास्थ्य स्वयम्सेविका सावित्री चौधरीले बताउनुभयो । चौधरीका अनुसार त्यहाँको कुनै पनि इनारमा पानी छैन र एक गाग्री पानीका लागि छिमेकी गाउँबाट वा समूह बनाएर नजिकको सहर–बजारबाट पानी किनेर ल्याउनुपरेको छ । पानीको अभावमा सो गाविसका बासिन्दाले जसोतसो खाना पकाउने र पिउनेसम्म गरेका छन् भने नुहाउने, लुगाधुने, वस्तुभाउलाई खुवाउने जस्ता कार्य सातामा दुई÷तीन पटक मात्रै गर्ने गरेको गाविस सचिव महेश्वर महतोले बताउनुभयो । पाँचवटा गाउँ मिलेर बनेको धेरै ठूलो सो गाविसमा धेरै पहिले जडान गरिएका दुईवटा डिप बोरिङ पनि खराब भएर सञ्चालनमा नहुँदा स्थानीयवासीलाई पानीको जोहोका लागि छिमेकी जिल्ला सर्लाहीको सहर–बजार र पाँचदेखि सात किलोमिटर टाढासम्म रहेका छिमेकी गाविसका नदीनाला र इनारमा जानुपर्ने बाध्यता रहेको सचिव महतोले बताउनुभयो । जिल्लामा प्रचण्ड गर्मी र चर्को घामका कारण उत्तरवर्ती रामनगरमा मात्रै नभई त्यस क्षेत्रका किसाननगर, बिजलपुरा, हात्तिलेट, लक्ष्मिनियाँ, बेलगाछी, पशुपतिनगर तथा बर्दिबास र गौशाला नगरपालिका सहितका स्थानमा पनि पानीको हाहाकार मच्चिएको स्थानीय बासिन्दाले बताएका छन् । यस वर्ष लामो समयदेखि पानी नपरेको र दिनानुदिन बढ्दै गरेको गर्मीले जिल्लामा पानीको समस्या बढ्दै गइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप