बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

यी हुन् ‘रोल्पा रोग’का नायक !

बिहीबार, २३ वैशाख २०७३, १७ : ४३
बिहीबार, २३ वैशाख २०७३

जनक घर्ती मगर रोल्पाका हुन् । रोल्पाबाट उनी राजधानी काठमाडौं आएका हुन् सपना बोकेर– राम्रो अभिनेता बन्ने । उनको यो सपना पनि रोल्पा नामले नै सघाएको छ । उनी शुक्रबार रिलिज हुने सिनेमा ‘रोल्पा रोग’मा ‘लिड रोल’मा देखिँदैछन् ।

जान्ने बुझ्ने भएदेखि उनी राजेश हमालका सिनेमा हेर्थे । हमालको सिनेमा ‘अर्जुन’ हेरेपछि उनलाई अभिनेता बन्ने रहर पलाएको थियो । हुँदा–हुँदा त स्कुल जाँदा–आउँदा आफूलाई हिरो भएको कल्पना गर्न थाले । हिरोको जस्तै हाउभाउ गर्न थाले, त्यस्तै ‘हेयर स्टाइल’ बनाउन थाले ।

आफ्नो दुब्लो पातलो शरीरले ‘हिरो’ बन्न बाधा पुर्याउँछ कि भनेर उनी ‘मार्सल आर्ट’ सिक्न थाले । सानैबाट खेलाडी थिए उनी । उसो त फिल्म खेल्दा हिरोले गर्नुपर्ने ‘फाइट’का दृश्यले पनि उनलाई मार्सलआर्ट सिक्न थप जाँगर लागेको थियो ।

मार्सलआर्ट, तेक्वान्दो र फुटवलका खेलाडी जनक गाउँ गाविस, जिल्ला, अञ्चल र क्षेत्र हुँदै राष्ट्रिय खेलाडी बन्न सफल भए । तर खेलबाटमात्रै उनी सन्तुष्ट हुन सकेनन् । त्यसो त उच्च शिक्षा अध्ययन पनि त गर्नु थियो ।

रोल्पा, मिझिङको चन्द्रप्रभा माविबाट एसएलसी गरेका उनले ललितपुरको पिनाकल कलेजबाट साइन्समा प्लस टू गरे । त्यहीँ बिएस्सी पढ्न सुरू गरे । तर सिनेमाको सपनाले उनलाई साइन्सतिरको रुचि मर्दै गयो । त्यसैले अभिनयमा स्नातक कक्षा लिन ओस्कार कलेज भर्ना भए । अहिले त्यहीँ स्नातक तेस्रो वर्षमा अध्ययन गरिरहेका छन् ।

तीतो सत्य, सञ्जिवनीजस्ता टेलिसिनेमामा पनि काम गरिसकेका उनले यसअघि ‘मिस्टेक’ र ‘कथा तिम्रो मेरो’जस्ता सिनेमामा पनि काम गरिसकेका छन् । रोल्पा रोगमा भने उनी ‘लिड रोल’ छन् । त्यसले उनलाई खुसी त लागेको छ नै, उत्साहित पनि उत्तिकै छन् ।

१० बर्षे जनयुद्धको घनिभूत प्रभाव परेको रोल्पाको एउटा गाउँको कथा समेटिएको छ ‘रोल्पा रोग’मा । आफू सानो छँदा मसाल जुलुस गर्न, स्कुलमा सभा सम्मेलन गर्न आउने माओवादी छापामारको जीवनकथामा आधारित फिल्ममा काम गर्ने अफर आउँदा नै उनी धेरै उत्साहित भएका थिए । त्यसैले उनलाई विश्वास पनि छ कि आफूले देखेभोगेको कथावस्तु भएकाले सिनेमामा न्याय गरेको छु भन्ने ।

रोल्पाको खुमेल र दाङको पुरन्धाराको हापुरे, हंशपुर आदि गाउँहरूमा सुटिङ गरिएको सिनेमामा उनी माओवादी छापामारको भूमिकामा छन् । सामाजिक र राजनीतिक घटना–परिघटनाहरूले एउटा सामान्य परिवारको युवालाई कसरी सत्ताले विद्रोही बन्न बाध्य पार्छ भन्ने कथा बुनिएको छ । सिनेमाले दर्शकलाई वास्तविक कथाको नजिकै पुगेको अनुभूति गराउने उनको दावी छ । ‘मलाई सिनेमा गर्दा वास्तविक छापामार बनेजस्तो रोमाञ्चक अनुभूति भएको थियो’, उनले भने ।

केही नयाँ काम गर्ने सपना बोकेर फिल्म उद्योगमा हाम फालेका घर्तीलाई त्यही हुटहुटीले सताइरहन्छ । रोल्पामा जन्मिएर जस्तो दुर्गम जिल्लाको एउटा सामान्य परिवारमा जन्मेको मान्छेलाई यो क्षेत्रमा करियर बनाउन सजिलो छैन भन्ने उनलाई राम्रोसँग थाहा छ । तर मिहिनेत गरेर एकदिन सफल भएरै छाड्छु भन्ने विश्वास पनि उत्तिकै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप