बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

'मदर्स डे'का दुःखी आमाहरु

शुक्रबार, २४ वैशाख २०७३, १३ : ३०
शुक्रबार, २४ वैशाख २०७३

चौरासी वर्षीया लक्ष्मी ढुंगेल १२ वर्षदेखि पशुपति वृद्धाश्रममा बसिरहेकी छन् । जाने ठाउँ कहीँ नभएपछि ढुंगेलले आश्रममा आश्रय लिएकी हुन् । आश्रममा बस्न थालेपछि उनले त्यहीँकी एक वृद्धालाई आमा बनाएकी थिइन् । औँसीका दिन उनैको मुख हेरेर औँसी मनाउँथिन् । तीन वर्षपहिले आमाको निधन भएपछि उनले मातातीर्थ औँसी मनाउन पाएकी छैनन् ।

ढुंगेलसँगै आश्रममा रहेकी सन्तकुमारी उप्रेतीको व्यथा झन् चर्को छ । आफ्नो कोखबाट सन्तान नजन्मेपछि हेलाँहोचोमा परेकी उनी जहाँ–जहाँ पुगिन्, त्यहाँ–त्यहाँबाट लखेटिइन् । श्रीमान्ले कान्छी भित्र्याए । सुनाइन्, ‘गाउँका कोइराला बाहुनका छोराले महिला मन्त्रालयबाट उनको कोही छैन, सुकुम्बासी हुन् भन्ने प्रमाणित कागजपत्र बनाइदिए । कागज लिएर वुद्धाश्रम आइपुगेँ । आमा बाचुँन्जेल मातातीर्थ औँसी मनाएँ । आफ्ना सन्तान भएनन् । तसर्थ, मेरो मुख हेरेर औँसी मनाउने कोही भएनन् । मन लाग्दा देवरका छोराछोरी फलफूल लिएर आउँथे ।’

गुल्मी शान्तिपुरकी रमा केसी पनि पशुपति वृद्धाश्रममै बस्छिन् । छोराहरू धन कमाउन मुग्लान पसे पनि फर्केर नआएपछि बुहारीहरूको राइँदाइँ चल्यो । त्यसपछि वृद्धाश्रम आइपुगेका उनको श्रीमान्को दुई वर्षअघि आश्रममै निधन भयो । मान्छे जन्मदा र मर्दा एक्लै हुने भए पनि उनलाई चित्त बुझाउन गाह्रो परेको छ । शुक्रवार मातातीर्थ औँसी परे पनि उनलाई हर्ष न बिस्मात् केही छैन । भन्छिन्, ‘हामीलाई चाँडो काल आएकै जाती ।’

लक्ष्मी, सन्तकुमारी र रमाजस्तै आश्रममा बस्ने अन्य वृद्धाको दिनचर्या त्यस्तै पीडादायक छ । उनीहरूलाई चाडबाड नआएकै जातीजस्तो लाग्छ । चाडबाडले उनीहरू पीडा दिएर जान्छ । पशुपति वृद्धाश्रमममा २१० जना वृद्धवृद्धाले आश्रय लिएका छन् । त्यसमध्ये ११२ जना वृद्धा छन् । ११२ जनाको साझा पीडा सुनेर साध्य छैन । पीडा नभएको मानिस सायदै भेटिएलान् । जोकोहीको थोर–बहुत पीडा त भइहाल्छ । जे–जस्तो भए पनि पशुपति वृद्धाश्रममा रहेका ११२ आमाहरूलाई हाम्रो पनि मातातीर्थ औँसीको शुभकामना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप