उपराष्ट्रपतिद्वारा नागदह, सन्तानेश्वर बज्रबाराही मन्दिर प्रवेशद्वारको शिलान्यास
ललितपुर–उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ)ले नागदह, सन्तानेश्वर बज्रबाराही मन्दिर प्रवेशद्वारको शिलान्यास गरेका छन् । शनिबार बिहान उपराष्ट्रपति पुनले धापाखेलस्थित नागदह दोबाटोस्थित तीनकुने पोखरीसँगै प्रवेशद्वारको शिलान्यास एक समारोहबीच गरेका थिए । किवंदन्ती अनुसार सन्तानेश्वर महादेवको पश्चिम प्रवेशद्वारको रुपमा यसलाई लिइने गरिएको छ । उपराष्ट्रपति पुनले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गरेका छन् । श्रीमद्भागवत सप्ताहको कथा वाचन आचार्य सुदर्शन ढुंगेलले गरेका छन् ।
ललितपुर उपमहानगरपालिका वडा नं. २५, धापाखेलमा रहेको समावेशी टोल सुधार समितिले आयोजना गरेको श्रीमद्भागवत सप्ताह वैशाख २५ देखि जेठ २ गतेसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक मधुसुदन अधिकारीले बताए । महायज्ञ एम्बुलेन्स खरिद गर्न र प्रवेशद्वार निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञ आयोजक समिति अध्यक्ष सलाम सिं मोक्तानले जानकारी दिए ।
संयोजक अधिकारीले आध्यात्मिक ज्ञानबाट समाजमा सद्भाव, एकता, भ्रातृत्व र विवेकशील नागरिक तयार गरी भौतिक विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको बताए । धापाखेलको नागदह उपत्यकाकै प्रसिद्ध ऐतिहासिक पर्यटकीय स्थल हो । झरुवाराशीको सन्तानेश्वर मन्दिर बज्रवाराही मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्वको बारेमा बिभिन्न किम्बदन्तीहरुमा अध्ययन गर्न पाइन्छ ।
ती प्रसिद्ध सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरुको विकास, विस्तार र प्रबद्र्धनका लागि महायज्ञको आयोजना गरिएको आयोजक समितिका कोषाध्यक्ष रमेशजंग पाण्डेले बताए । महायज्ञमा हुने आम्दानी र खर्चको पारदर्शी रुपमा जानकारी दिइने कोषाध्यक्ष पाण्डेले बताए ।
धापाखेल क्षेत्रको अन्य भौतिक तथा अभौतिक विकास गर्न दाताहरुबाट प्राप्त सहयोग बैंक दाखिला गरेपछि मात्र सम्मान गर्ने भएकोले पारदर्शी रुपमा काम गर्ने संयोजक अधिकारीले बताए । श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञलाई धापाखेलवासीले महोत्सवको रुपमा लिएको स्थानीय गोकर्ण अधिकारीले बताए ।
समारोहमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति सहित दैनिक वैदिक आराधना, सांगितिक समूहद्वारा भक्ति संगीत तथा झाँकी प्रदर्शन र प्रत्येक दिन ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति रहने कलाकार पूर्ण थापाले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण