लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
लमजुङ । लमजुङको बेसीसहर नगरपालिका वडा नम्बर १ आकाशेडाँडा माथि भिरपानी सामुदायिक वनमा शङ्कास्पद अवस्थामा मृत भेटिएका वृद्धको हत्या भएको पुष्टि गर्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हत्यामा संलग्न मुख्य अभियुक्त र लुटिएको सुन किन्ने व्यवसायी रहेका छन् । बेसीसहर नगरपालिका–८ तामाङ टोल शेरा बस्ने ५७ वर्षीय बुद्धिबहादुर बोहरा गत असार २१ गते बिहानदेखि घरबाट निस्केकोमा सम्पर्कमा आएका थिएनन्।
उनी नफर्किएपछि श्रीमती बालकुमारी बोहराले असार २३ गते हुलिया सहित खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय लमजुङमा निवेदन दिएकी थिइन्।
खोजतलास गर्ने क्रममा असार २५ गते बिहान करिब ९ः ०० बजे भिरपानी सामुदायिक वनमा उनको शरीर तथा अनुहारको भाग सडिसकेको अवस्थामा शव फेला परेको थियो। घटनास्थलमा प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएर अनुसन्धान सुरु गरिएको थियो। मृतक बोहराले घाँटीमा सुनको सिक्री र हातमा सुनको औँठी लगाउने गरेकोमा शव फेला पर्दा ती गहना गायब थिए।
त्यसपछि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको प्राविधिक टोलीको सहयोगमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। विभिन्न स्थानको सीसीटीभी फुटेज र प्राविधिक विश्लेषणका आधारमा बोहरा हराएकै दिन लमजुङ दोर्दी गाउँपालिका वडा नम्बर १ ढोकेका ३० वर्षीय विजय लामिछाने उनीसँगै रहेको देखियो।
प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले बुद्धि बहादुर बोहरालाई काठको दाउराले हानेर हत्या गरेको स्वीकार गरे। हत्या गरेपछि मृतकले लगाएको सुनको सिक्री र औँठी लुटेर उनी असार २१ गते राति नै चितवनतर्फ भागेका थिए।
लामिछानेले असार २२ गते चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरस्थित दीपक विश्वकर्माले सञ्चालन गरेको मौलाकालिका सुन चाँदी पसलमा उक्त गहना बिक्री गरेको खुलाए। उनले गहना बुझाएर तत्काल ४४ हजार रुपैयाँ लिएको र बाँकी ६ लाख रुपैयाँ पछि लिने गरी सम्झौता गरेको बयान दिएका छन्।
उक्त बयानका आधारमा लमजुङबाट खटिएको प्रहरी टोलीले स्थानीय प्रहरीको सहयोगमा पार्वतीपुरस्थित सुन चाँदी पसलमा खानतलासी गरी चोरीको सुनको सिक्री र औँठी बरामद गरेको छ। चोरीको सुन किन्ने कार्यमा संलग्न रहेको आरोपमा पसल सञ्चालक ४३ वर्षीय दीपक विश्वकर्मालाई असार ३० गते पक्राउ गरी लमजुङ ल्याइएको छ। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको काठको दाउरा समेत बरामद गरिसकेको छ।
पक्राउ परेका मुख्य अभियुक्त विजय लामिछाने र सुन पसल सञ्चालक दीपक विश्वकर्मामाथि कर्तव्य ज्यान तथा डाँका चोरी सम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक नेत्रबहादुर थापाले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण