सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

रङ दलेका खाद्यपदार्थ मानव स्वास्थ्यको लागि हानिकारक

सोमबार, २४ साउन २०७३, १९ : ०२
सोमबार, २४ साउन २०७३

पोखरा – रङ दलेर बजारमा बिक्रीका लागि राखिएका खाद्यपदार्थहरु मानव स्वास्थ्यको लागि हानिकारक भएको एक कार्यक्रममा वक्ताले बताएका छन् । क्षेत्रीय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाद्धारा आईतबार पोखरामा आयोजित तेस्रो चौमासिक एवं वार्षिक समीक्षा कार्यक्रममा बोल्ने खाद्य अनुसन्धान कर्ताहरुले सो कुरा बताएका हुन् ।

उनीहरुले प्राकृतिक रङ बाहेकका अन्य सबै रङ खाद्य पदार्थमा मिसाउनु घातक हुने बताए । प्राकृतिक रङले मानव स्वास्थ्यमा कुनै असर नपारे पनि कृत्रिम रङ दलिएका वस्तु खानै नहुने बताए । अझ कृत्रिम रङ दलेर सो कुरा पकाएको छ भने पकाएको रङ झन हानिकारक हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रगति विवरण पेश गर्दै क्षेत्रीय गुण नियन्त्रण केन्द्र भैरहवाका खाद्य निरीक्षण अधिकृत किशोर खत्रीले यो आर्थिक वर्षमा दूध, घीउ, पानी, गुलियो पदार्थ, कन्फेक्सनरीलगायतका गरी ३ सय नमूना संकलन गरिएको बताए ।

यो वर्ष सवै वेरुजू फस्र्यौट भएको र कूल बजेटको ८२ प्रतिशत बजेट खर्च भएको अन्य सबै बजेट फ्रिज भएको जानकारी दिएका छन् । कार्यालयको मातहतमा ७ लाख ५० हजार बजेट रहेकोमा ६ लाख ६१ हजार ८ सय ९० रुपैयाँ खर्च भएको कार्यालय प्रमुख खत्रीले जानकारी दिएका छन् ।

कार्यालयले खाद्य अनुज्ञा पत्र नविकरणलाई विशेष प्राथमिकतामा राखेका भन्दै यो वर्ष १ सय ५७ उद्योगका खाद्य अनुज्ञा पत्र नविकरण गरिएको जानकारी दिए ।

सो अवसरमा खाद्य निरीक्षण इकाई तनहँुका भूमिका प्रधान र कास्कीका अनिता पौडेलले यो क्षेत्रको अनुगमन तथा निरीक्षणको वारेमा जानकारी गराएका थिए ।

क्षेत्रीय कार्यालयमा जम्मा १७ जना कर्मचारीको दरवन्दी भएकोले काम गर्न निकै कठिन भएको सो कार्यक्रममा बताइएको छ ।

कार्यक्रममा बोल्दै उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले खाद्य पदार्थ उत्पादकहरु विशेष जिम्मेवार बन्नुपर्ने बताए । उत्पादन गरेको वस्तुबाट पैसा संकलन गर्ने काम मात्र नभई त्यसले मानव स्वास्थ्यमा के फाईदा वा हानी गरेको छ भन्नेवारे पनि ख्याल राख्न उनले आग्रह गरे । कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख नेपालभूषण वैद्य, गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख मनोजकुमार पोखरेल, कृष्णप्रसाद वराल लगायतले आ–आफ्ना भनाई राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप