धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
सारांश
- धनुषामा चैते धानखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ।
- प्रशस्त उत्पादन, वर्षमा तीन बाली र सरकारी सहयोगले किसान आकर्षित भएका हुन्।
- कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ८५० हेक्टरमा खेती र ३,३३२ मेट्रिकटन उत्पादन भएको छ।
धनुषा । जिल्लाका विभिन्न स्थानीय तहमा पछिल्लो समय चैते धान खेती गर्ने किसानको सङ्ख्यामा उल्लेख्य रूपमा बढ्न थालेको छ । प्रशस्त उत्पादन हुने, वर्षमा तीन बाली लिन सकिने तथा सरकारी र विकास साझेदार संस्थाको सहयोग उपलब्ध हुने भएपछि किसानहरू चैते धान खेतीतर्फ आकर्षित भएका हुन् ।
यहाँको लक्ष्मीनियाँ गाउँपालिकाका किसान विल्टु साहका अनुसार एक कट्ठा जमिनमा तीनदेखि पाँच मनसम्म उत्पादन हुने भएकाले चैते धानखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । धनुषाका सुक्खा तथा बाढी प्रभावित दुई पालिकामा सङ्घीय सरकारले सञ्चालन गरेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाअन्तर्गत चैते धान प्रवर्द्धन कार्यक्रम सञ्चालन भएपछि किसानको सहभागिता बढेको किसान भोला यादवले बताए ।
विश्व बैंक र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको सहयोगमा यहाँका वटेश्वर र जनकनन्दनी गाउँपालिकाका साना तथा निम्न आय भएका किसानलाई उन्नत बीउ, आधुनिक खेती गर्न प्रविधि, सिँचाइका सामग्री तथा आवश्यक तालिम उपलब्ध गराइएपछि किसानले चैते धान खेती विस्तार गर्न थालेका स्थानीय दीपक यादवले जानकारी दिए ।
किसान दीपेन्द्र महतोका अनुसार वर्षमा तीन बाली उत्पादन गर्न सकिने भएकाले वटेश्वरमा मात्र १४० बिघा क्षेत्रफलमा चैते धान खेती गरिएको छ । हर्दिनाथ–१, २ र ३ जातका चैते धानको बीउ ८५ प्रतिशत अनुदानमा उपलब्ध गराइएपछि गाउँका अधिकांश किसानले यो खेती सुरु गरेका किसान भाग्यचन्द्र महतोले बताए । उनले समयमा बीउ, मल तथा सिँचाइको व्यवस्था भए मुलुकलाई धान, चामल तथा अन्य खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने विश्वास व्यक्त गरे ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना समूह एकाइ धनुषाका कृषि अधिकृत शिवचन्द्र झाले जिल्लाका दुई पालिकामा चैते धान प्रवर्द्धन कार्यक्रम सञ्चालन भएपछि किसान उत्साहित भई खेतीको क्षेत्र विस्तार हुँदै गएको बताए । उनका अनुसार सो पालिकामा हाल करिब १५० बिघा क्षेत्रफलमा चैते धान खेती गरिएको छ ।
आयोजनाका समूह एकाइ प्रमुख रविलाल शर्माले साना तथा निम्न आय भएका किसानको खाद्य सुरक्षा, पोषण सुधार, कृषि उत्पादन वृद्धि तथा बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । उनले यसले किसानको आयआर्जन वृद्धि र कृषि उत्पादनमा आत्मनिर्भरताका लागि महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ८५० हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको छ । सो क्षेत्रबाट तीन हजार ३३२ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ । प्रतिहेक्टर तीन दशमलव ९२ मेट्रिक टन औसत रूपमा उत्पादकत्व हासिल जनाउँदै केन्द्रका प्रमुख प्रदीपकुमार यादवले जिल्लामा चैते धानखेतीको क्षेत्र विस्तारसँगै उत्पादनमा उल्लेखनीय वृद्धि भएको बताए ।
कृषि ज्ञान केन्द्रले आगामी वर्षमा चैते धान खेती विस्तार गरी उत्पादन वृद्धि गर्न किसानलाई आवश्यक प्राविधिक सहयोग र प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण