सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
बुटवल । नवलपरासी (सुस्ता) मा नागरिकता वितरण प्रक्रियालाई अघि बढाउने उद्देश्यले नागरिकता विवरण सङ्कलन कार्य सुरु गरिएको छ।
गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय नवलपरासीको समन्वयमा आइतबारदेखि स्थानीय तहका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सुस्ता गाउँपालिका–५ का विभिन्न बस्तीमा पुगेर घरदैलोमार्फत नागरिकता सम्बन्धी विवरण सङ्कलन थालेको हो।
टोलीले प्रत्येक घरका मुख्य व्यक्तिको तस्बिरसहित उनीहरू नेपाली नागरिक भए/नभएको, यसअघि नागरिकता प्राप्त गरेको भए कुन प्रकारको नागरिकता रहेको लगायतका विवरण सङ्कलन गरिरहेको जिल्ला प्रशासन कार्यालय नवपरासीले जनाएको छ ।
पहिलो दिन वडुका टोल, थारु टोली र सैनिक पहाडी टोलमा पुगेर विवरण सङ्कलन गरिएको छ। सुस्तावासीका मागका विषयमा आन्दोलन परिचालन गर्दै आएका सङ्घर्ष समितिका संयोजक बाबु खाँनले स्थानीय तहका पाँच कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधिसहितको टोलीले घर–घरमा पुगेर विवरण सङ्कलन सुरु गरेको रातोपाटीलाई बताए।
उनका अनुसार सोमबार पनि वडा नम्बर ५ अन्तर्गतका अन्य बस्तीमा यो कार्यलाई निरन्तरता दिइनेछ। विवरण सङ्कलनका क्रममा स्थानीय जनप्रतिनिधिहरू पनि सहभागी छन्।
सीमा अतिक्रमण रोक्न, नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै काठमाडौँमा आन्दोलन गरेका सुस्तावासीहरू गृह मन्त्रालयसँग भएको सहमतिपछि गत साता गाउँ फर्किएका थिए।
मन्त्रालयले नागरिकता विवरण सङ्कलन गरी नागरिकता वितरण प्रक्रिया अघि बढाउने, साथै सुस्ता क्षेत्रको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको थियो।
उनीहरू गाउँ फर्किएपछि गृह मन्त्रालयको निर्देशन कार्यान्वयनका विषयमा गत सोमबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाबिच छलफलसमेत भएको थियो। जिल्ला प्रशासन कार्यालय नवलपरासीका अनुसार गृह मन्त्रालयको निर्देशनअनुसार सीमा सुरक्षा सुदृढ गर्ने र नागरिकता वितरण प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउने काम सुरु गरिएको हो।
यसअघि आफ्ना माग सम्बोधनको माग गर्दै सुस्तावासीहरूले काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिएका थिए। त्यसक्रममा उनीहरूले गृहमन्त्रीसँग भेट गरी आफ्ना मागबारे छलफल गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण