आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिनी खेलाडीले किन लगाए कालो पट्टी ?

आइतबार, २८ असार २०८३, १५ : ५७
आइतबार, २८ असार २०८३

सारांश

  • विश्वकप २०२६ को क्वाटरफाइनल खेलमा अर्जेन्टिनाका खेलाडीहरूले पूर्व कप्तान एन्टोनिओ रटिनको निधनप्रति शोक व्यक्त गर्न हातमा कालो पट्टी बाँधेर खेले।
  • रटिनको निधन मस्तिष्कघातका कारण ८९ वर्षको उमेरमा भएको हो र उनी फुटबलमा पहेँलो र रातो कार्डको अवधारणा ल्याउन मुख्य भूमिका खेल्ने खेलाडी थिए।
  • भाषाको समस्याले गर्दा खेलाडीलाई सजाय दिन गाह्रो भएपछि फिफाले सन् १९७० को विश्वकपदेखि रंगीन कार्ड प्रणाली सुरु गरेको थियो।

काठमाडौँ। स्विजरल्याण्ड विरुद्धको विश्वकप २०२६ को क्वाटरफाइनल खेलमा अर्जेन्टिनाका खेलाडीहरू हातमा कालो पट्टी बाँधेर मैदानमा उत्रिए। यो कुनै सामान्य विरोध नभई अर्जेन्टिनी फुटबलका लेजेन्ड एवं पूर्व कप्तान एन्टोनिओ रटिनको निधनप्रति शोक व्यक्त गर्न चालिएको कदम भएकाे समाचारहरुमा जनाइएको छ। 

८९ वर्षको उमेरमा मस्तिष्कघातका कारण निधन भएका रटिनको सम्मानमा अर्जेन्टिनी फुटबल संघले फिफासँग अनुमति माग गरेको थियो। फिफाको स्वीकृतिपछि आइतबार बिहान भएको अन्तिम आठको भिडन्तमा अर्जेन्टिनी खेलाडीहरूले आफ्नो जर्सीको बाहुलामा कालो पट्टी लगाएका हुन्।

एन्टोनिओ रटिन फुटबल इतिहासमा यस्तो नाम हो, जसले खेलको नियम नै परिवर्तन गर्न मुख्य भूमिका खेलेका थिए। वर्तमान समयमा फुटबलमा प्रयोग हुने 'पहेँलो' र 'रातो' कार्डको अवधारणा रटिनकै कारण सुरु भएको मानिन्छ। सन् १९६६ को विश्वकपमा इङ्गल्याण्ड विरुद्धको क्वाटरफाइनल खेलमा भएको एउटा घटनाले विश्व फुटबललाई नयाँ मोड दिएको थियो।

उक्त खेलमा जर्मन रेफ्री रुडोल्फ क्रेइटलेनले रटिनलाई मैदान बाहिर जान आदेश दिएका थिए। तर, रटिनले भाषाको समस्याका कारण आफूलाई किन निकालिएको हो भन्ने बुझ्न नसकेको दाबी गर्दै मैदान छाड्न अस्वीकार गरे। उनले मैदान बाहिर जानुअघि रानीका लागि आरक्षित रातो गलैँचामा बस्ने र इङ्गल्याण्डको झण्डालाई अनादर गर्ने जस्ता आक्रोशपूर्ण गतिविधि समेत गरेका थिए।

त्यस समयमा रेफ्री र खेलाडीबीच भाषाको बाधाका कारण उत्पन्न हुने यस्तै असमझदारीलाई हटाउन फिफाले सन् १९७० को विश्वकपदेखि रंगीन कार्डको प्रणाली सुरु गरेको थियो। जसले गर्दा भाषा नबुझे पनि संकेतका आधारमा सजाय स्पष्ट होस् भन्ने अपेक्षा थियो । 

बोका जुनियर्सका लेजेन्ड समेत रहेका रटिनले आफ्नो १४ वर्षको व्यावसायिक करियरमा एउटै क्लबबाट मात्र खेलेका थिए। खेल जीवनपछि उनी राजनीतिमा पनि सक्रिय रहे। उनी सन् २००१ देखि २००५ सम्म अर्जेन्टिनाको 'नेशनल चेम्बर अफ डेपुटीज' को सदस्य बनेका थिए।

जुन पदमा पुग्ने उनी पहिलो पूर्व व्यावसायिक फुटबलर हुन्। उनै ऐतिहासिक व्यक्तित्वको सम्मानमा आज अर्जेन्टिनी टोलीले मैदानमा शोक मनाइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप