बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

प्रेममा औकात

आइतबार, १४ माघ २०७४, ११ : २१
आइतबार, १४ माघ २०७४

दीपक घिमिरे
 

मखमलीले कम्मर मर्काउँदै नाच्न थाली, पल्लो छेउमा बसेका अन्टीहरूले गाउन थाले ! अनि यतापट्टि बसेको बिरेले जोस्सिँदै थप्पडी बजायो । मखमलीलाई भित्रभित्रै मन पराउने दिलवालेहरू धेरै थिए, तीमध्ये बिरेले ज्यानै दिन तयार हुने माया गथ्र्यो । 

मखमली नाच्दै गर्दा बिरेको नजिकै उभिएर हल्ला गर्दै सिठ्ठी बजाउने सुन्दरेले प्याच्च भन्यो, “ क्या सेक्सी कम्मर मर्काउँदै छे यार ! यसलाई पाए त ... !” 

सुन्दरेले जे पायो त्यही बोलेको बिरेले सुनिहाल्यो अनि जुरुक्क उठेर सुन्दरेलाई धक्याउँदै भन्यो– “भाउजू भन साले ! फोहोरी कुरा नगर, नत्र भेट्लास् ।”

गाउँघरको काम गरेर हेर्दै हनुमान जस्तो बडी बिल्डर बिरेको धम्की सुनेर सुन्दरे नराम्रोसँग झस्कियो । ऊ किच्च मात्र गर्यो अनि थप्पडी पनि बजाउन छाड्यो । 

मखमलीलाई मन पराउन थालेको वर्षौं भए पनि बिरेले प्रपोज गर्ने मौका पाएको थिएन । न ऊ आफै भन्न सक्थ्यो, न त भन्दिनेवाला कोही थिए । तर आज मखमलीको नाच हेर्दै लठ्ठ परेको बिरेले कसम खायो– “मा कसम आज सीधै आई लभ यू भन्दिन्छु, कुटे कुट्छे ।”

       बिरेको हिम्मत देखेर गोपीले थप्यो– “वा वा वा मेरो दाइ ! बल्ल मर्दको जस्तो कुरा गरिस्, प्यार किया तो डर्ना क्या बे !”

गोपीको हिम्मतले बिरे झन् फुर्तिलो जस्तो भयो । जुरुक्क उठेर नाचबाट बाहिरियो अनि आँपको बुटामुनि बसेर गोपीसँग सल्लाहा माग्दै भन्यो, “त्यसले मेरो प्रपोज नाई भनी र त्यसको बाले थाहा पाए भने त मेरो राम धुलाई हुन्छ बे, कि एक पटक त भन्दे न यार ।”

     डरपोक बिरेको कुरा सुनेर पिच्च थुक्दै गोपीले भन्यो– “थुइक्क नामर्द ! हुनेवाला ससुरासँग डराउछ । तँभन्दा राम्रो ज्वाइँ त त्यसका बाले यो जुनीमा पाउन मुस्किल छ । त नडरा, हम साथ साथ हे बे ।”

      बिरेले तनक्क छाती तन्कायो, टाउकामा हात लगेर आफ्नो कपाल आफैँ लुछ्यो अनि बोल्यो– “आज प्रपोज गरिन्छ, नाई भनी भने रातारात लाउर पसिन्छ, बालै भएन ।”

उता नाच गम्किरहेको थियो । बिरे फेरि भीडमै छिर्यो अनि मखमलीलाई खोज्यो, ऊ निस्कने तयारीमा थिई । बिरे भीडबाट बाहिर निस्केर गोपीलाई भन्यो– “त यतै बस, मखमलीको पछिपछि आएस् । म ऊ त्यो झाडीमा बसेर मखमलीलाई कुर्छु है ।”

गोपीले टाउको हल्लायो, बिरे झाडीतिर गयो । उताबाट मखमली हतार गर्दै झाडितिरकै बाटो घरतिर लम्की । झाडीबाट बिरे फुत्त निस्कियो, मखमली झस्की । 
“झस्काउँछस् ! सात्तै गयो नि मेरो त । के गर्दै थिइस् नि झाडीमा लुकेर ?” मखमली जिस्कँदै सोधी ।

 बिरेले अरू धेरै बोलेर समय बर्बाद गर्नु उचित ठानेन । सीधै योजना बतायो– “तलाई कुरेर बस्या थँे, प्रपोज गर्नु थियो तलाई !”

  बिरेको कुरा सुनेर मखमली ट्वाँ परी अनि फेरि बिरेले भन्यो “आई लभ यु मखमली, प्लिज ! रियल्ली आई लभ यु यार ।” 

मखमली चुप्प लागेर अडिरही, केही बोलिन । बिरेले भन्यो “यत्ति सोच कि तँलाई जीवनभर दुःख दिन्न, सधैँ हसाउने छु । भोलिसम्म हुन्छ या हुन्न जवाफ दिएस ।” 

बिरे फर्कियो गोपीतिर, मखमली घरतिर लागी ।

बिरे डरले कालो भएको थियो, गोपीले एकछिन जिस्क्यायो । गोपीको कुराले बिरे लजायो ।

अर्को दिन बिहानै मखमली पधेरामा पानी लिन जाँदै गरेको बिरेले देख्यो । दगुर्दै गोपीको घर गयो अनि पानी लिएर पँधेराबाट आउने बाटोमा मखमलीलाई कुर्यो ।

कम्मरमा गाग्रो हालेर बारुले कम्मर मर्काउँदै मखमली आई, गोपी अलि परै बस्यो । 

बिरे मखमलीको नजिकै गएर भन्यो– “सोचिस् त, के भन्च तेरो मनले ?”

मखमली केही बोलिन, बिरेले उसको बाटो छेक्दै भन्यो– “पैला मेरो जवाफ दे ।” 

“म भागेर जाने खालकी केटी होइन, तेरो बालाई मेरो घर पठाएर मलाई माग्न भन । मेरोतर्फबाट नाइँ भन्ने छैन, होइन भने यो लपसपको चक्करमा म पर्दिनँ ।” यति भनेर  बिरेलाई पन्छाउँदै मखमली बाटो लागि, 

बिरे तनावमा पर्यो ।

 “यत्रा डराउँछस, त्यसका बा के राजा हुन् र ? भोलि नै तेरा बालाई पठा माग्न ।” गोपीले बिरेलाई सान्त्वना दिँदै पिठ्यौँमा धपधपायो ।

मखमली प्रेमको जालमा नफस्ने देखियपछि बिरे विरक्त हुँदै घरतिर लाग्यो । घरमा न उसका बा थिए न त अलि टाठी आमा । धन कमाउन कालापार छिरेका बालाई बोलाएर मखमली माग्न पठाउने कुरा पनि भएन, बुहारी माग्न आमालाई पठाएर कामै थिएन । 

उता मखमलीले बालाई माग्न पठा भन्दिसकेपछि धेरैपछि लाग्नुको अर्थ पनि थिएन । दुई चार दिन बिरे निक्कै तनावमा देखियो । मखमलीको फोटो हेरेरै भए नि चित्त बुझाउँथ्यो । 
      ऊ बाउ आउने दिन गन्दै बस्न थाल्यो । मखमलीले पुलुक्क हेर्नेबाहेक केही आशा देखाइन । आई लभ युको उत्तर आउँछ कि भनेर बिरे धेरै पटक उसलाई एकान्तमा भेट्यो, बोल्यो तर मखमलीले कुनै प्रतिकृया जनाइन । 

     एक दिन अचानक गाउँमा नयाँ मान्छे देखियो । हिरो जस्तो, खाइलाग्दो गोरो । 

गाउँघरमा गाइँगुइँ हल्ला चल्यो, घर्ती जेठाको कान्छो छोरो सुलभ मखमलीको मायाजालमा परेर हाम्रो गाउँमा धाउँदै छ रे रात दिन ।

 सहरमा बसेर पढेको सुलभलाई हाम्रो गाउँमा कसैले चिन्दैनथे । पल्लो गाउँको घर्ती जेठा हाम्रो इलाकाकै धनाढ्यहरूमा पर्थे । उनैको कान्छो छोरो सुलभ र मखमलीको सामान्य चक्कर चल्या हल्ला बिरेको कानमा पनि पर्यो । उसले सहने कुरै थिएन । गोपिलगायतका साथीहरूलाई चौपारीमा डाक्यो अनि सुलभलाई कुट्ने योजना बनायो ।

 “एक हान्न पाउन पर्च, त्यसका दाँत सप्पै झार्दिन्छु साले । अर्काको गाउँमा आएर हिरो भा’छ ।” बिरेले रिस देखायो ।

 माइलाले थप्दै भन्यो– “त निहँु खोज्या जस्तो गरेस्, म पैला हिर्काउँछु त्यसलाई । ”

 सबैले योजना बनाइसकेपछि सुलभको खोजीमा ग्याङ निस्कियो । रिसले रातो भएको बिरेले बेलाबेलामा मुक्का अर्को हातको पन्जामा बजाथ्र्यो अनि भन्थ्यो “आज गैस तँ साले सुलभे ।”

देवती खोलाको किनारामा बसेर मखमली लुगा धुँदै थिई । छेवैमा बसेर सुलभे गफ लाउँदै थियो । डाँडैबाट बिरेले देख्यो अनि डिलबाटै फाल हानेर खोला झर्यो, पछिपछि उसको ग्याङ थियो ।
      च्याप्प कपालमा समातेर बालुवामा घिसार्दै बिरेले सुलभलाई भन्यो, “अर्काको ठाउँमा आएर हिरो बन्छस् ? मखमली मेरी हो, पट्याउने कोसिस नगर साले ।”
मखमलीले पुलुक्क हेरी अनि सुलभलाई बिरेको पन्जाबाट फुत्काउँदै भनी, “म कहिले तेरी भएँ हँ ? भात खुवाउने औकात छैन, अझ मलाई आफ्नै घरकी जस्तो गर्छ । पैला आफ्नो औकात सुधार, अनि ममाथि आँखा लगा ।”

मखमलीको डाइलगले बिरे कालो भयो– “बा आयसी माग्न पठा भन्या हैनस् ? म मागेरै सिन्दुर हाल्छु तर अरूको हुन दिँदिन ।”  बिरे कामेको स्वरमा मखमलीलाई सम्झायो ।
     “तेरो बाको औकात छैन मेरो घरमा माग्न आउने, तँ जस्ता लफङ्गासँग के मुख लाग्नु भनेर तेरा बालाई माग्न पठा भन्या हुँ, तँसँग बिहे गर्नुभन्दा त ऊ त्यो पिपलको रुखमा झुन्डिन्छु बुझिस् ।”  मखमलीले पनि कामेकै स्वरमा बिरेलाई जवाफ फर्काई ।
 

     बिरेले साथीहरूलाई हेर्यो, सबैका हातमा लाठी र ढुङ्गा थिए । अब पनि सुलभलाई कुटेर मखमलीलाई पाउनुको अर्थ थिएन र मखमलीले पनि सुलभलाई छाड्न नसक्ने देखेपछि ऊ फरक्क फर्कियो ।

बोल्न धेरै खोज्दै थियो बिरे तर आँखाबाट आँसु तप्प खसाल्दै मखमलीलाई हेर्यो । मखमली रुँदै थिई अनि सराप्दै पनि । बिरेले चोर औलाको इसारा गर्दै मखमलीलाई भन्यो “धन र रूपको पछाडि लागेकी छेस, एक दिन अवश्य रुनु पर्नेछ तँलाई !”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप