बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कविता : देश

आइतबार, १४ माघ २०७४, ११ : ३१
आइतबार, १४ माघ २०७४

–मिसन अधिकारी

तिमी बाँध्छौ आली भित्र मेरो देश
म चिहाउँछु आली बाहिर बाहिर देश
तिमी बुझ्छौ पुर्खाको अंशमा देश
म पुज्छु आमाका पाउँझैँ मेरो देश
अनेक रङहरूको जीवन हो देश ।

तिमी खोज्दछौ मनहरूमा सिमाना 
म भत्काउँछु मनको साँध (सिमाना
म त खोज्दछु मन सिमानाहरूमा 
तिमी गाइरहन्छौ निरन्तरताको कोरस
म डाकिरहन्छु निरन्तर यौटा क्रमभङ्गता

तिमी जित्नेहरूको इतिहास बनाउँछौ देश
म हार्ने सिपाहीको भविष्य सम्झन्छु देश
आकाश जमिन छ परिभाषामा भिन्नता
जस्तो फरक तिमी र म बीचमा पनि छ
एक दिन सधैँसधैँ हार्नेहरूकै हो देश !


तिमी देश खोज्छौ लालीगुराँसमा
म देश खोज्दछु बुकी–प्याउलीमा 
तिमी केवल आफैंभित्र देश खोज्छौ
डिग्री, ज्ञान, डीभी पाएका छौ प्रवासी
म त आफूलाई पाउँछु केवल देशभित्र 
सुख्खा बारीमा धान फलाइरहेको किसान ।


आमाको न्यानो काख हो मेरो देश
यहीँ सिकेको हुँ मैले मातृवात्सल्य 
तिमीले फोहोर गर्यौ, वाक्यौ मात्र
म पन्छाइरहन्छु घुर, सोहोरिरहन्छु वान्ता
यो तिम्रो खेल मैदान, हो मेरो त देश !!


चिसो काखमा पुल्पुलिएको सन्तान म
खेल्छु न्यानो मानी म सानु बालकझैँ
म तिम्रै सन्तान आमा म त सिङ्गो देश !
मजस्तै देशहरूको देश हो मेरो देश !
झण्डासित उठेको  बलियो मुठ्ठी हो मेरो देश !


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप