आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

ALERT : नेपालमा क्यान्सर महिलामा बढी

आइतबार, १६ असोज २०७३, १४ : ५३
आइतबार, १६ असोज २०७३
कुनै पनि अंगका कोषहरू असामान्य र अनियन्त्रित रूपले वृद्धि भएर समस्या निम्तिनुलाई क्यान्सर भनिन्छ । एक अंगमा क्यान्सर लागेपछि शरीरका अन्य अंगमा पनि सर्न सक्छ । जस्तैः स्तनमा क्यान्सर लागे फोक्सो, हड्डी र मस्तिष्कमा सर्न सक्छ । तर, क्यान्सर एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने सरुवा रोग भने होइन । विश्वमा हरेक वर्ष क्यान्सरका एक करोड ४१ लाख नयाँ बिरामी देखिने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । उसले बर्सेनि करिब ८२ लाख मानिसको क्यान्सरले ज्यान लिने गरेको पनि तथ्यांक देखाएको छ । समस्या नेपालजस्ता विकासशील देशमै बढी देखिएको छ । नेपालमा पुरुषभन्दा महिला क्यान्सररोगी धेरै रहेको बताउँछन् क्यान्सररोग विशेषज्ञ डा. किशोरकुमार प्रधानांग : विश्वमा हुने कुल मृत्युको करिब १३ प्रतिशत कारक क्यान्सर नै हुने गरेको छ । फोक्सो, स्तन र कोलोरेक्टल क्यान्सर प्रमुख रूपमा देखिएका छन् । पुरुषमा फोक्सो, आमाशय, प्रोस्टेट, कोलन-रेक्टम, पिसाबथैली, अन्ननली र कलेजो तथा महिलामा स्तन, पाठेघरको मुख, कोलन-रेक्टम, फोक्सो र आमाशयको क्यान्सर हुने गरेको छ । नेपालमा क्यान्सररोग उपचार हुने अस्पतालहरूको तथ्यांकलाई आधार मान्दा फोक्सो, पाठेघरको मुख, स्तन, आमाशय, रगत, घाँटी, कोलन र पिसाबथैलीको क्यान्सर प्रमुख समस्याका रूपमा देखिएको छ । नेपालमा अहिले क्यान्सररोगी कति छन् र बर्सेनि कतिको मृत्यु हुने गरेको छ भन्ने यकिन तथ्यांक छैन । तर, करिब एक लाखभन्दा बढी क्यान्सररोगी रहेको अनुमान गरिन्छ । यस्तै अवस्था रहे आगामी केही वर्षमा दोब्बर हुने सम्भावना देखिन्छ । सन् २००३ देखि २०१२ सम्म जम्मा ५६ हजार १३ क्यान्सरका बिरामी रहेको तथ्यांक सार्वजनिक भएको थियो । यसमध्ये महिला ५३ दशमलव ४ प्रतिशत र पुरुष ४६ प्रतिशत ६ प्रतिशत रोगी छन् । यसले नेपालमा पुरुषभन्दा महिलामा क्यान्सरको समस्या बढी भएको देखाउँछ । क्यान्सरको रोकथाम सम्भव छ ? बेलैमा सचेत भए क्यान्सर रोकथाम गर्न सम्भव छ । क्यान्सरको ९० प्रतिशत सम्भावना बाहिरी कारणले हुने गरेको देखिएको छ । यसमध्ये हामीले खाने अस्वस्थकर खाना, सुर्तीजन्य पदार्थको प्रयोग, वातावरणीय प्रदूषणलगायत छन् । सुर्तीजन्य पदार्थको सेवन नगर्ने, कीटनाशक औषधि तथा रासायनिक मलको प्रयोग नियन्त्रण गर्ने, अखाद्य पदार्थ नमिसाएको खानेकुरा खाने, मौसमअनुसारको फलफूल तथा हरियो सागपात दिनहुँ खानाले क्यान्सरको रोकथाम गर्न सकिन्छ । यसैगरी सुरुको अवस्थामा क्यान्सर पत्ता लागेमा उपचार गरी निको पार्न पनि सकिन्छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक रेडियसनथेरापी लिन्याक मेसिनका साथै विभिन्न विभागमा क्यान्सर विशेषज्ञ चिकित्सकबाट क्यान्सरको उपचार हुने व्यवस्था छ । यसैगरी, भक्तपुर क्यान्सर अस्पताल, वीर अस्पताल, निजामती अस्पताल, कान्ति बाल अस्पताल, काठमाडौं र मणिपाल मेडिकल कलेज पोखरामा पनि क्यान्सरको उपचार गर्न सकिन्छ । क्यान्सर रोगीका लागि सरकारले विभिन्न सहयोग र सुविधाका कार्यक्रम पनि दिइरहेको छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप