क्यानभासमा कालिका
गण्डकी । अघिल्तिर सतिसालझैँ उभिएको कालिका भगवती मन्दिर । मन्दिरको चौघेरोमा बसेर कुची र रङसँग खेलिरहेका कलाकार । आफैँमा चित्रमय कालिका मन्दिर क्यानभासमा जीवन्त रूपमा पोतिँदै थियो । सोह्रौँ शताब्दीताकाको मन्दिर कलामा प्रतिबिम्बित भइरहेको थियो । बागलुङस्थित कालिका मन्दिर शनिबार कलामय बन्यो । ‘मनसुन स्थलगत चित्रकला कार्यशाला’मा अग्रजदेखि अनुजसम्मका कलाकार एकैथलोमा जुटे ।
सम्पदा चिनाउनुका साथै कलालाई सर्वसाधारणसँग जोड्न मन्दिरमा स्थलगत दृश्य चित्रकला कार्यशाला गरिएको थियो । कार्यशालामा सहभागी कलाकारले चित्र मात्र उतारेनन्, कलाकर्मका अनुभव र सिकाइसमेत साटासाट गरे । चित्रकलाका आयामबारे मन्थन गरे । कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको कार्यशालामा काठमाडौँ, पोखरा, म्याग्दी र बागलुङका गरी २९ जना कलाकार सहभागी थिए ।
पोखराका कलाकार हरेराम जोजिजुले कार्यशालाले सम्पदा संरक्षणको सन्देश दिनुका साथै कलाको महत्त्व बढाएको बताए । उनले खुला आकाश र परिवेशमा हुने यस्ता चित्रकला कार्यशालाले कलाकारको सिर्जनाशील दायरा थप फराकिलो हुने धारणा राखे । “स्टुडियोमा मात्र बसेर कला सृजना गरिरहेको कलाकार प्रकृतिसँग जोडिन प्लेन एयर पेन्टिङको अवधारणा सुरु भएको हो”, उनले भने, “यस्ता कार्यशालामा स्थलमै पुगेर दृश्य चित्र उतार्ने गरिन्छ ।”
कार्यशालामा कालिका मन्दिरको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले यथार्थवादी शैलीमा चित्र कोरिएको उनले बताए । कलाकारले एक्रेलिक र पानी रङका माध्यमबाट चित्र कारेका थिए । कलाको जगेर्नासँगै कलाकारको व्यावसायिक सुरक्षामा यस्ता कार्यशालाले सघाउ पुर्याउने कलाकार रञ्जित कुँवरले बताए । ललितकला विषयमा स्नातक चौथो वर्षमा अध्ययनरत कुँवर पानी रङमार्फत कालिका मन्दिरलाई क्यानभासमा उतारेका थिए । उनीसँगै ललितकला विषयमा अध्ययनरत पाँच जना कलाकार कार्यशालामा सहभागी थिए । समाजलाई कलाको महत्त्व बुझाउन र नयाँ पिँढीलाई कला सिकाउन जरुरी रहेको कुँवरले बताए ।
शनिबारीय चित्रकला कार्यशाला अभियानका सचिव दिवेश प्रधानले कुनै बेला धनी र सम्भ्रान्त वर्गको मात्र पहुँचमा रहेको चित्रकला बिस्तारै सर्वसाधारणसम्म आइपुगेको बताए । शनिबारीय चित्रकला कार्यशालाई देशभर अभियानका रूपमा विस्तार गरिएको उनको भनाइ छ ।
“ऐतिहासिक सम्पदा, मठमन्दिरलगायत ठाउँमा पुगेर स्थलगत रूपमा चित्र कोर्ने, नयाँ पुस्तालाई चित्रकला सिकाउने गर्दै आएका छौँ”, उनले भने, “कार्यशालामा कोरिएका चित्र सङ्ग्रह गरेर प्रदर्शनीमा राख्ने, बिक्री–वितरण गर्ने गरिएको छ ।” अभियान सुरु भएपछि देशभरका कलाकार एकापसमा जोडिने र सहकार्य गर्ने वातावरण बनेको प्रधानले बताए । कालिका मन्दिरले आफूसहित कार्यशालामा सहभागी कलाकारलाई सम्मोहित बनाएको उनले सुनाए ।
मन्दिर परिसरको प्राकृतिक वातावरण, भौगोलिक अवस्थिति, ऐतिहासिक महिमा र सौन्दर्य कारण कालिका मन्दिरले आफूहरूलाई आकर्षित गरिरहेको प्रधानले बताए । कालिका भगवती गुठीले पनि शनिबारीय चित्रकला कार्यशाला अभियान, बागलुङस्थित रन्तल आर्ट र मिलन ट्याटुसँग मिलेर कार्यशाला आयोजना गरेको हो ।
बागलुङका अग्रज कलाकार एवं रन्तज आर्टका सञ्चालक मच्छिन्द्र शाक्यले कालिका भगवती मन्दिरलाई कलाका माध्यमबाट देश विदेशमा चिनाउन चित्रकला कार्यशालाको आयोजना गरिएको बताए । कार्यशालाले कलाकारको सम्मानसहित नयाँ पुस्तालाई चित्रकलामा आकर्षित गर्न मद्दत पुगेको उनको भनाइ छ । बागलुङसहित सिङ्गो धवलागिरि क्षेत्र कलाको उर्वरा भूमि भएकाले यस क्षेत्रमा कला गतिविधि बढ्नु जरुरी रहेको शाक्यले बताए । कला क्षेत्र उपेक्षामा परेको भन्दै उहाँले यसको संरक्षण र जगेर्ना गर्ने दायित्व राज्यले लिनुपर्ने बताए ।
पछिल्लो समय जिल्लास्तरमा पनि ललितकलाका गतिविधि छिटपुट रूपमा हुनुलाई सुखद मान्नुपर्ने शाक्यले बताए । राजधानी र ठुला सहरमा मात्र हुँदै आएका कला प्रवर्द्धनका कार्यक्रमलाई विकेन्द्रित गर्नुपर्ने आवाज पनि उठ्दै आएको छ । कार्यशालामा सहभागी कलाकारले कालिका मन्दिरसहित त्यहाँ रहेका सम्पदालाई क्यानभासमा उतारेका थिए । मन्दिर गुठीका अध्यक्ष भूपेन्द्र खड्काले चित्रकलाका माध्यमबाट ऐतिहासिक महत्त्व बोकेको कालिका मन्दिरको महिमा थप उजागर हुने विश्वास व्यक्त गरे ।
“बागलुङलाई नयाँ तरिकाबाट चिनाउने प्रयास हो, कालिका मन्दिरको आफ्नै महिमा छ, यो कार्यशालाले देश विदेशमा यसको महत्त्व थप वृद्धि हुनेछ”, उनले भने, “यसबाट कला र कलाकारको पनि सम्मान भएको हाम्रो बुझाई छ, कार्यशालामा सृजना गरिएका कला मन्दिरका अमूल्य सम्पत्तिका रूपमा रहनेछन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण