आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

आइतबार, २८ असार २०८३, ०० : १४
आइतबार, २८ असार २०८३

सारांश

  • वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै उद्यम गर्न पुँजी मागेका छन्।
  • राज्यले अनुदान र सहुलियत दिएर आत्मनिर्भर वातावरण बनाउन जोड दिएका छन्।
  • तालिममा उद्यमशीलता विकास र वित्तीय व्यवस्थापनबारे जानकारी दिइएको छ।

बाँके । वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम सञ्चालनका लागि राज्यले अनुदान तथा सहुलियत उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

स्वदेशमै रोजगारीको उपयुक्त वातावरण नहुँदा विदेशमा श्रम गर्न बाध्य भएका उनीहरूले स्वदेश फर्किएपछि आत्मनिर्भर बन्न सक्ने वातावरण राज्यले निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवर्द्धन तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले शुक्रबारदेखि सञ्चालन गरेको दुई दिने उद्यमशीलता प्रवर्द्धन तालिमका सहभागीले स्थानीयस्तरमा आयआर्जनमूलक व्यवसाय सञ्चालन गर्न आवश्यक पुँजी उपलब्ध गराउन सरकारसँग माग गरेका थिए ।

सहभागी युवाले जतिसुकै विदेशको सपना देखे पनि अन्ततः स्वदेश नै प्यारो हुने भएकाले यहीँ केही गरेर देश र आफ्नै हितमा योगदान गर्न चाहेको बताए । उनीहरूले स्वदेशमै उद्यम गर्न नीतिगत समस्या रहेको, राज्यले उद्यमशील व्यक्तिको पहिचान गर्न नसकेको तथा उनीहरूलाई लक्षित अनुदान, योजना र बजेटको प्रभावकारी व्यवस्था हुन नसकेको भन्दै विदेश गएका तथा विदेश जाने तयारीमा रहेका लाखौँ युवा चिन्तित रहेको वास्तविकता सुनाए ।

उनीहरूले स्थानीय सरकारले सीप विकाससँगै उद्यम सञ्चालनका लागि आवश्यक पुँजीको व्यवस्था गरी युवालाई आत्मनिर्भर बनाउनुपर्ने माग पनि गरेका छन् ।

तालिममा सहभागीलाई उद्यम सञ्चालनका आधारभूत अवधारणा, व्यवसाय छनोट, व्यवसाय योजना निर्माण, बजार व्यवस्थापन, वित्तीय व्यवस्थापन, बचत तथा लगानी, उत्पादनको गुणस्तर सुधार, डिजिटल प्रविधिको प्रयोग तथा सरकारी निकायबाट उपलब्ध हुने सहुलियत र सेवासुविधाबारे जानकारी प्रदान गरिएको थियो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप, अनुभव र पुँजीलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रोजगार संयोजक अल्का मिश्रले वैदेशिक रोजगारीमा पुनः जानुपर्ने बाध्यता कम गर्दै स्थानीय स्रोतसाधन र सीपको उपयोगमार्फत दिगो रोजगारी सिर्जना गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप