आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

मुटुरोगबाट पीडित हुनुहुन्छ ? जान्नुहोस्, जोगिने उपाय

आइतबार, १६ असोज २०७३, १५ : ०८
आइतबार, १६ असोज २०७३
अधिकांश नेपाली आफ्नो स्वास्थ्यलाई कहिल्यै प्राथमिकतामा राख्दैनन् । रोगले साह्रै नै गाह्रो नबनाएसम्म वा थलै नपारेसम्म डाक्टर कहाँ गएर चेकजाँच गर्ने चलन छँदै छैन । तातोपानी खाएर हुन्छ कि दुखाइ कम गर्ने औषधि खाएर हुन्छ, घरमै रोग ठीक पार्ने कोसिस गर्ने जबर्जस्ती व्यवहार पाइन्छ । यस्तो व्यवहारले समस्याको रूप ठूलो बन्दै जान्छ । रोगले ठूलो रूप लिएपछि डाक्टरकहाँ पुग्दा रोग निको पार्न डाक्टरलाई पनि गाह्रो हुन्छ । रोगको उपचार खर्च बढी लाग्छ, दैनिक कामकाजमा बाधा निम्तिन्छ र तनावले झनै समस्या थपिँदै जान्छ । मुटुसम्बन्धी रोग त झनै बोझिलो बन्न सक्छ । मुटुरोग विशेषज्ञ डा. मिलनप्रकाश श्रेष्ठले मुटुरोगबाट जोगिने उपाय सिकाएका छन्ः मुटुरोग लाग्नु भनेको एक किसिमको जटिल अवस्था हो । साधारण काम गर्दा पनि स्वास फुल्नु, हिँड्दा काम गर्दा छाती भारी हुनु/दुख्नु, साधारण अवस्थामा पनि मुटुको धड्कन बढेको महसुस हुनु, ब्लडप्रेसर आवश्यकताभन्दा कम वा बढी हुनु, रगतमा कोलेस्ट्रोल र सुगरको मात्रा बढिरहनु भनेको मुटुरोग लाग्ने लक्षणहरू हुन् । यस्ता लक्षण पहिचान हुनासाथ डाक्टरको सल्लाहअनुसार चेकजाँच गरेर उपचारतर्फ लागियो भने आरामको जीवन जिउन सकिन्छ । नभए हामीले सामान्य ठान्ने ब्लडप्रेसरले पनि ज्यानै लिएका प्रशस्त उदाहरण छन् । हाम्रो समाजमा ब्लडप्रेसरलाई उति महत्व दिएको देखिन्न । औषधि सधैँ खानुपर्छ, किड्नी खराब गर्छ भन्ने भ्रम व्याप्त छ । तर, हाई ब्लडप्रेसरको समयमै उपचार नगर्दा के–कस्तो समस्या हुन सक्छ भन्ने कुरा धेरैलाई थाहा छैन । थाहा छ त केवल समस्या भोग्ने वा प्रत्यक्ष देख्नेलाई मात्रै । ब्लडप्रेसरको उपचार समयमै सुरु गरियो र ब्लडप्रेसर नियन्त्रणमा राखियो भने भविष्यमा हुनसक्ने खराबीबाट बच्न सकिन्छ । होइन भने त्यही ब्लडप्रेसरले आँखाको खराबी, मिर्गौलाको खराबी, पक्षघात, हृदयाघातजस्ता समस्या निम्त्याउन सक्छ । छाती दुख्ने, सास फेर्न गाह्रो हुने मुटुकै कारणले भएको हो भनेर समयमै उपचार भएन भने मुटुलाई कामै नलाग्ने अवस्थामा पुर्‍याइदिने वा हृदयाघातसम्म पनि गराइदिन सक्छ । मुटुको ढुकढुकी बढ्ने समस्या मुटुकै चालको गडबडीका कारणले हो भने यसको पनि उपचार उपलब्ध छ । औषधि खानेदेखि अपरेसन गर्नेसम्मका उपचार हुन्छन् । यस्ता समस्याको उपचार समयमै नगर्ने हो भने यसले कुनै पनि वेला ज्यान लिन सक्छ । मुटुको भल्भको समस्याले सुरुसुरुमा श्वास फेर्न गाह्रो हुने, ढुकढुकी बढ्नेजस्ता लक्षण देखाउँछ । अवस्था बिग्रिँदै गए खुट्टा सुन्निनेसम्म पनि गराउँछ । भल्भको समस्या भएका बिरामीमा भल्भको अवस्था हेरेर दिनहुँ औषधि खानेदेखि अपरेसन गर्नेसम्मका उपचार गरिन्छ । खाने औषधिले भल्भलाई पूर्ण ठीक नगरे पनि बिरामीको मुटुलाई अरू बिग्रिनबाट बचाउ“छ । औषधिले अपरेसन गर्नुपर्ने अवस्थालाई पनि धेरै हदसम्म पर सारिदिन्छ । तर, भल्भको समस्याको उपचार समयमै सुरु नगरे कतिको ज्यानै जान सक्छ । जन्मजात पनि मुटुमा समस्या हुन सक्छ । जन्मजात मुटुका समस्याहरू धेरै किसिमका हुन्छन् । कतिपय समस्यामा औषधि सेवन गर्नुपर्छ भने कतिपयमा केही पनि गर्नु पर्दैन । कतिपय बच्चाको मुटुको अपरेसन पनि गर्नुपर्ने हुन्छ । हृदयाघात अर्को खतरापूर्ण अवस्था हो । मुटुका रक्तनलीमा अवरोध (ब्लक) भए-नभएको विभिन्न जाँच गरेर पहिचान गर्न सकिन्छ । अवरोध भएको देखिएमा समयमै उपचार गरेर भविष्यमा हुने हृदयाघातबाट बच्न सकिन्छ । हृदयाघात भइसकेपछि उपचार खर्चिलो छ, जीवनभर औषधि सेवन गर्नुपर्छ । एकचोटि हृदयाघात भएमा फेरि–फेरि हुनसक्ने सम्भावना रहिरहन्छ । हाम्रो देशमा हृदयाघातको उपचार त्यति सुलभ पनि छैन । हृदयाघात भएमा समयमै आवश्यक उपचार पाए मानिसले नयाँ जीवन पाउन पनि सक्छ । बेला–बेलामा चक्कर आउने, आँखाअगाडि कालो पर्दा लागेजस्तो भएर एकैचोटि ढल्ने, बेहोस हुने र तत्कालै होस आउने लक्षणहरू पनि मुटुसँग सम्बन्धित हुन सक्छन् । विशेषगरी मुटुको चालको गडबडी भएमा, मुटुको गति कम भएमा यस्ता लक्षणहरू देखिन सक्छन् । यसको पनि समयमै उपचार गरे भविष्यमा हुन सक्ने खतराबाट जोगिन सकिन्छ  । रोग सुरु हुँदा जहिले पनि केही न केही लक्षण पक्कै देखिन्छ । लक्षण देखिनासाथ स्वास्थ्यप्रति सचेत हुनु जरुरी छ । आफूलाई समस्या भएको थाहा पाएपछि पनि भोलि या पर्सी जचाउँला, सानो समस्याले के होला र ? भन्दै बस्ने हो भने ज्यान जान बेर लाग्दैन । शरीरमा साधारण समस्या देखिनासाथ डाक्टरको सल्लाह लिने हो भने रोगका कारण मर्नु पर्दैन भने पैसाको धेरै क्षति पनि हुन पाउँदैन । नयाँ पत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप