आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

सुरक्षित ड्राइभिङका लागि गाडी चालकले जान्नैपर्ने कुरा

मङ्गलबार, १८ असोज २०७३, ११ : ४८
मङ्गलबार, १८ असोज २०७३
सार्वजनिक यातायातका सवारीचालकको काम अत्यत्न जिम्मेवारीपूर्ण हुन्छ । सानोभन्दा सानो गल्तीले पनि ठूलै दुर्घटना निम्त्याउने तथा धेरैको ज्यानै जान पनि सक्छ । अझ दसैँको समयमा यात्रुका चाप बढ्ने हुँदा सकुसल सबैलाई गन्तव्यमा पुर्‍याउने थप जिम्मेवारी थपिएको हुन्छ । बसका यात्रारत सम्पूर्ण यात्रुहरूको जिम्मेवारी उसैको काँधमा हुन्छ । यात्रालाई सुरक्षित बनाउन विशेषगरी लामो दूरीमा चल्ने सार्वजनिक सवारीचालकले विचार पुर्‍याउनुपर्ने विषयका बारेमा ट्राफिक प्रहरी नायब निरीक्षक विष्णु थापाको सुझाब यस्तो छः लामो दूरीका सवारीसाधन चलाउने चालकहरूले ओभरटाइम काम बढी गर्छन् । जसले गर्दा पर्याप्त निद्राको अभावमा मानिसले थकानको अनुभव गर्न सक्छन् । त्यस्तो अवस्थामा चालकले लिनुपर्ने पूर्ण सावधानी र चनाखोपनमा समेत कमी आउन सक्छ । फुर्तिलो अवस्थामा समेत गाह्रो मानिने यस्तो यात्रामा थकित शरीर भएका चालकको जिम्मा लगाउँदा जोखिम अत्यन्त बढी हुन्छ । तसर्थ, हरेक जिम्मेवार चालकले थकान वा अपुग निद्रा रहेको अवस्थामा गाडी चलाउनुहुँदैन । लामो दूरीको यात्रामा दुईजना चालक अनिवार्य हुनुपर्छ । दुई गाडीबीचको दूरी पर्याप्त हुनु आवश्यक छ जसले गर्दा अगाडिको गाडीले अचानक ब्रेक लगाउँदा आवश्यक सुरक्षित स्थान बनाउन मद्दत पुग्छ । जसले गर्दा गाडी ठोकिएर हुने दुर्घटनाबाट जोगिन सकिन्छ । पानी परिरहेको समयमा यो नियम अपनाउन अझ आवश्यक हुन्छ । गाडी चलाउनुपूर्व आफ्नो गाडीको ऐना ठीक अवस्थामा रहेकोमा निश्चिन्त हुनु आवश्यक छ । गाडीवरिपरि तथा पछाडिको दृश्य स्पष्ट देखिने गरी ऐना मिलाउनुपर्छ । हरेकपटक लेन परिवर्तन गर्दा सम्भावित दुर्घटनासग पनि नजिक भइन्छ । त्यसैले सिग्नल पाएलगत्तै लेन परिवर्तन गरिहाल्नु मूर्खता हो । एउटा मोड छुटिहालेमा पनि अर्को मोडसम्म धैर्य राख्नुपर्छ । आफूले मोड्नुपूर्व अन्य चालकलाई त्यसको संकेत दिनुपर्छ । गाडी ब्याक गर्दा सहचालक वा सहयोगी नदेखिएमा ब्याक नगर्नु राम्रो हुन्छ । सहचालकले दिएको संकेत राम्ररी बुझेपछि मात्र ब्याक गर्ने बानी बसाल्नुपर्छ । टायरवरपर तरल पदार्थ चुहिएमा ब्रेक क्यापिलरी बिग्रिएको हुन सक्छ । यो भएमा ब्रेक लगाउने क्षमतामा ह्रास आउने हुँदा दुर्घटनाको जोखिम रहन्छ । बालबालिकाहरू स्वभावैले चकचके हुन्छन् । त्यसैले, साना बालबालिकाहरू गाडीमा धेरै भएमा अतिरिक्त सावधानी अपनाउनुपर्छ । गाडीको झ्याल सकेसम्म बन्द राख्नु उपयुक्त हुन्छ । बालबालिकाहरूले नजानेर झ्यालबाट टाउको निकाल्न सक्छन् । यसो गर्दा दुर्घटना हुने सम्भावना बढ्छ । यात्रुले गाडीमा आफ्ना सामान भुलेका हुन सक्छन् । तिनलाई लिन ओर्लेका यात्रु पुनः गाडीमा प्रवेश गर्ने सम्भावना रहन्छ । त्यसैले, यात्रु ओर्लिनेबित्तिकै गाडीलाई गति दिनु राम्रो होइन । यसो गर्दा दुर्घटनाको सम्भावना रहन्छ । आफ्नो व्यक्तिगत रिस वा समस्याका कारण गाडी उच्च गतिमा हाँक्ने गरेको पनि पाइन्छ । यसले चालकका साथै अन्यलाई दुर्घटनाको भागी बनाउने गर्छ । तसर्थ, यस्तो अवस्था रहँदा सकेसम्म गाडी नचलाउनु राम्रो हुन्छ । आफ्नो व्यक्तिगत समस्या र व्यावसायिक जीवनलाई सँगसँगै कहिल्यै लानु हुँदैन । चालकस“ग गफ गर्दा वा सँगै यात्रा गर्दा तिनको ध्यान अन्यत्र मोडिन सक्छ । त्यसैले चालकको सिटनजिक यात्रु राख्नुहुँदैन । यात्रुले पनि सकेसम्म आफ्नो निर्धारित सिट मात्र प्रयोग गर्नु राम्रो हुन्छ । कतिपय स्थानमा सामान बोक्न गाह्रोका कारण यात्रुले अतिरिक्त दूरी पार गर्न आग्रह गर्न सक्छन् । कठिन बाटो वा आफूले चलाउन नजानेको र जान नसकिने बाटोमा नाइँ वा हुन्न भन्न डराउनुहुन्न । यसरी सवारीलाई दुर्घटना हुनबाट जोगाउन सकिन्छ । नयाँ पत्रिका  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप