आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

यसरी सजग भए लाग्दैन करेन्ट

शुक्रबार, ०५ कात्तिक २०७३, १३ : ०२
शुक्रबार, ०५ कात्तिक २०७३
घरायसी प्रयोजनका लागि जडान गरिएका कुनै पनि विद्युतीय उपकरण सावधानीपूर्वक नचलाएमा ठूलै दुघर्टना हुन सक्छ । पानीमा सजिलै प्रवाह हुने भएकाले चिसो हातले त्यस्ता उपकरण प्रयोग गर्दा वा छोएमा करेन्ट लाग्न सक्छ । मानव शरीरमा करिब ७० प्रतिशत भाग पानी रहेको हुन्छ । जसले गर्दा पनि हामीलाई करेन्टको असर चाँडै पर्छ । त्यसैले घरमा रहेका बच्चालाई यस्ता उपकरण तथा विद्युत्बाट असर पुग्न सक्ने स्थानबाट टाढा राख्नुका साथै सचेत पनि गराउनुपर्छ । बच्चाहरू प्राकृतिक रूपमै जिज्ञासु स्वभावका हुन्छन् । उनीहरूलाई बिजुलीबाट हुने खतरा तथा पु-याउन सक्ने क्षतिबारे जानकारी नहुन सक्छ । त्यसैले अभिभावकले बच्चालाई बिजुलीको शक्ति र त्यसबाट लाग्ने करेन्टबारे बुझाउनुपर्छ । उनीहरूको उमेरअनुसार बिजुलीको खतराबारे जानकारी गराउनुपर्छ । बच्चाहरूलाई घरभित्र तथा बाहिर विद्युत् शक्तिबाट जोगिन ध्यान पु-याउनुपर्ने विषयबारे इलेक्ट्रिक ओभरसियर सुशील श्रेष्ठका सुझाब यस्ता छन्: सुशील श्रेष्ठ इलेक्ट्रिक ओभरसियर घरभित्र जडान गरिएका विद्युतीय स्विचका प्वाल वा सकेटमा हातका औँला तथा अन्य वस्तु छिराउन दिनु हुँदैन । साना विद्युतीय उपकरण जस्तै– टोस्टर आदिलाई ‘अफ’ गरे पनि हातको औँला तथा अन्य वस्तुले छुन दिनु हुँदैन । पानी प्रयोग गरिने ठाउँ जस्तै– भान्सा, बाथटब तथा अन्य पानीको स्रोतनजिक विद्युतीय उपकरण चलाउन हुँदैन । विद्युतीय उपकरणका तार तापको स्रोतदेखि टाढा राख्नुपर्छ । पानी छोएको चिसो हातले विद्युतीय उपकरण जस्तै– बल्ब, हेयरड्रायर, टोस्टरलगायतका स्विच छुनु हुँदैन । विद्युतीय उपकरणलाई स्विचबाट निकालेर त्यसको सरसफाइ गरिरहनुपर्छ । विद्युतीय स्विचबाट ‘प्लग’ निकाल्दा तार समातेर झट्कारेर तान्नु हुँदैन । प्लग समातेर बिस्तारै निकाल्नुपर्छ । शरीरको कुनै पनि भाग भिजेको छ भने विद्युतीय उपकरण चलाउन हुँदैन । विद्युतीय तार जलेको, तातेको वा काम नलाग्ने भएको देखिएमा तुरुन्त प्राविधिकलाई खबर गरेर परिवर्तन गर्नुपर्छ । घरबाहिर अत्यधिक बिजुली प्रवाह भएको तारनजिकका रुख, पर्खाललगायतका उच्च स्थानमा चढ्नु हुँदैन । चंगा तथा हेलियम भरिएको बेलुन उडाउनुभन्दा पहिले त्यसको डोरीले विद्युत् प्रवाह भइरहेको तारलाई छुँदैन भन्ने निश्चित गर्नुपर्छ । चंगा वा बेलुन उडाएकोे डोरीमा विद्युत् प्रवाह भयो भने त्यसमा करेन्ट प्रवाह हुनुका साथै आगो लाग्न सक्छ । हुरी बतास चलेको समयमा पौडी खेल्नु हुँदैन । यस्तो समयमा चट्याङ पर्न सक्छ । विद्युत् प्रवाह भइरहेको तारमा केही वस्तु झुन्डिएको देखिएमा आफूभन्दा ठूला व्यक्तिलाई बोलाई विद्युत् कार्यालयमा खबर गर्नुपर्छ । आफैँले हटाउने कोसिस गर्नु हुँदैन । विद्युत् प्रसारण भइरहेको पोलमा चढ्नु हुँदैन । विद्युतीय सबस्टेसनबाट टाढै रहनुपर्छ । विद्युतीय सबस्टेसनको वरिपरि रहेका रुख, पर्खाललगायतमा चढ्नु हुँदैन । हिँड्ने बाटोमा विद्युतीय तार झरेको देखिएमा अभिभावकलाई वा विद्युत् प्राधिकरणमा खबर गर्न लगाउनुपर्छ । तारले छोएको कुनै पनि वस्तुलाई छुनु हुँदैन । लामो वस्तु बोकेर हिँड्दै हुनुहुन्छ भने त्यसले विद्युतीय तार नछोओस् भनी सतर्क रहनुपर्छ । नरम ‘सोल’ भएका रबरका जुत्ता वा त्यस्तै कुनै वस्तु विद्युत् प्रसारण भएको तारमा कहिल्यै फाल्नु हुँदैन । रिमोटकन्ट्रोलवाला खेलौना हवाईजहाज-हेलिकोप्टरलाई विद्युत प्रवाह भइरहेको तारनजिक कहिल्यै खेलाउनु हुँदैन । यस्ता खेलौनालाई खुला ठाउँ वा पार्कमा मात्र खेलाउनुपर्छ । विद्युतीय सबस्टेसनभित्र छिर्नु हुँदैन । कुनै वस्तु त्यस क्षेत्रभित्र गयो भने आफैँ त्यसलाई निकाल्ने प्रयास गर्नु हुँदैन । ठूला व्यक्तिको सहायताले सबस्टेसनका कर्मचारीलाई खबर गर्नुपर्छ । विद्युत् प्रसारण भइरहेको तारको पोलमा कुनै पनि किसिमका ब्यानर, पोस्टरलगायत टाँग्नु तथा टाँस्नु हुँदैन । साथी, परिवारका सदस्य वा घरपालुवा जनावरलाई जमिनमा झरेको तार वा अन्य कुनै उपकरण छुन गई करेन्ट लागेमा आफूभन्दा ठूला मान्छेलाई तुरुन्त खबर गर्नुपर्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप