बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

न्युरो सर्जरी क्षेत्रमा नयाँ आयाम : नोबेल अस्पतालले भित्र्यायो अत्याधुनिक उपकरण (फोटोफिचर)

बुधबार, १७ माघ २०७४, १५ : ००
बुधबार, १७ माघ २०७४

फणिन्द्र नेपाल/ कृष्ण खड्का
 

विराटनगर-मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा न्युरोसम्बन्धी सम्पूर्ण रोगको उपचारका लागि अत्याधुनिक उपकरण भित्र्याइएकोे छ । अस्पतालले जर्मन, अमेरिकालगायतका देशबाट त्यस्ता उपकरण भित्र्याएर सेवा प्रदान गर्न थालेको हो ।

अस्पतालले अत्याधुनिक उपकरणसँगै विशेषज्ञ डाक्टरहरूको समेत व्यवस्थापन गरेपछि जटिल प्रकारका बिरामीहरूलाई उपचारका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य भएको छ । त्यस्तै नेपालीहरूले सहजै उपचार सेवा पाएकोमा खुशी व्यक्त गरेका छन् ।

‘हामीले पछिल्लो समय न्युरोसम्बन्धी सामान्यदेखि जटिल प्रकारका रोगको सर्वसुलभ र सहजै ढङ्गले सेवा प्रदान गरिरहेका छौँ । अत्याधुनिक उपकरणसहित न्युरोसम्बन्धीे सेवाका लागि स्वदेशी तथा विदेशी चिकित्सकहरूले काम गरिरहनु भएको छ’– अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईले भने– ‘अब न्यरोसम्बन्धी जुनसुकै रोगको उपचार गर्न कुनै पनि नेपालीले विदेशिनु पर्दैन ।’
अधिकृत राईका अनुसार जस्तोसुकै जटिल प्रकारका अप्रेसन गर्न अब नोबेल अस्पताल सक्षम छ ।

अस्पतालका अनुसार सिमेन्स थ्री टेस्ला इन्ट्राअपरेटिभ ४८ च्यानल फङ्सनल एमआरआई, सिमेन्स १२८ स्लाइस सीटी स्क्यान, मेट्रोनिक्स न्युरो नेभिगेसन गाइडेड सर्जरी, ओआर्म, अप्रेसन गर्दा प्रयोग हुने माइक्रो सिस्टम, पेन्टेरो नाइन हन्ड्रेड थ्रीडी एचडी माइस्क्रोसकप लगायतका उच्च स्तरीय प्रविधिले न्यरोसम्बन्धी उपचारमा सहजता ल्याएको छ । ‘यी उपकरणले सेवाग्राहीलाई सेफ सर्जरी गराउँछ, कम्प्लिकेसन केस कम गराउँछ’ अस्पतालका न्युरोसर्जन डा. प्रकाश काफ्लले बताए ।

उनका अनुसार न्यूरो विभागमा डा. आइप चेरियनको नेतृत्वमा फिनल्यान्डका प्रो. जुवा हरनेन्सिएमी, रसियन डा. सेरगी, सुनिल मुनाकोमी, डिल्ली काफ्ले, प्रमोद चौधरी, जगदीश थिङगुजा, विनोद फेलेक्स र इन्डोनेसियाका डा. फिट्रिलगायतको टोली न्युरोसम्बन्धी उपचारमा चौबीसै घण्टा खटिन्छ ।

एमआर थर्मल इमेजिङबाट मस्तिष्क र ट्युमरको तापक्रम पत्ता लगाउन सकिन्छ । मस्तिष्क र ट्युमरको तापक्रम फरक हुन्छ । यसले अप्रेसन गर्दा ट्युमर छुटे–नछुटेको अपरेसन गर्दागर्दै पत्ता लगाउन सकिन्छ ।

न्युरो स्विटमा रहेको अमेरिकामा निर्मित मेड्ट्रोनिक कम्पनीको आई७ नेभेगेसनले एमआरआई र सिटीको चित्रलाई एकत्रित गरी एउटा चित्र बनाइदिन्छ । सो चित्रका आधारमा अपरेसनको योजना बनाइन्छ । जसले उपकरण कता चलाउने भन्ने सूचना पनि दिन्छ । यसरी शल्यक्रिया गर्दा असफल हुने सम्भावना अन्य विधिभन्दा आधा कम हुने न्युरोसाइन्सेजका निर्देशक डा. आइप चेरियनले बताए । डा. चेरियनका अनुसार यसरी शल्यक्रिया गर्दा अस्पताल बस्नुपर्ने समय पनि आधा कम हुने, उपचार शुल्क कम पर्ने, दुखाइ कम हुने र गलत शल्यक्रिया हुने सम्भावना रहँदैन ।

न्युरो स्विट शल्यकक्षमा इन्डोस्कोपिक र माइक्रोस्कोपिक विधिबाट एकै पटक शल्यक्रिया गर्न सकिन्छ । माइस्क्रोस्कोपिकबाट मस्तिष्कको बाहिरी भाग र इन्डोस्कोपिकबाट मस्तिष्कको भित्री भागमा रहेको समस्याको शल्यक्रिया गरिन्छ । माइस्क्रोपिकमा टाउकोमा सानो चिरफार गरिन्छ भने इन्डोस्कोपिकमा नाकको प्वालबाट उपकरण छिराएर शल्यक्रिया गरिने चिकित्सक बताउँछन् ।
डा. काफ्लेका अनुसार अस्पतालमा रहेको ‘पेन्टेरो ९०० विथ थ्रीडी एचडी’ माइस्क्रोप नेपालमै पहिलो पटक ल्याइएको हो ।

न्युरो शल्यकक्षमा मस्तिष्कको शल्यक्रिया गरिरहेकै अवस्थामा एमआरआई गर्न सकिने डा. चेरियनले थपे । यसबाट ट्युमरलगायतका समस्याको शल्यक्रिया पूर्ण रूपमा भए–नभएकोे थाहा हुन्छ । त्यस्तै न्युरो स्विट शल्यकक्षमा मस्तिष्कमा आउने सम्पूर्ण समस्याको जटिल प्रकारको अपरेसन गर्न सकिन्छ ।

यसैगरी, स्पाइन स्विटमा मेरुदण्डसम्बन्धी रोगको अत्याधुनिक उपचार हुन्छ । यसमा पनि माइस्क्रोप र इन्डोस्कोप दुवै विधिबाट शल्यक्रिया गर्न सकिन्छ । यो शल्यकक्षमा पनि नेपालमै पहिलो पटक अत्याधुनिक ‘ओ आर्म’ (ओ टु) जडान गरिएको छ । यसले मेरुदण्डको शल्यक्रिया गरिरहेकै अवस्थामा थ्रीडी भिडियो चित्र बनाउँछ र यही भिडियो चित्रका आधारमा चिकित्सकहरूले शल्यक्रिया गर्छन् ।
 
न्युरोका लागि मात्रै एक सयवटा बेड छुट्याएको अस्पतालले बिरामीहरूको माग र आर्थिक अवस्थालाई समेत मध्यनजर गरेर उपयोग गर्न सक्ने व्यवस्था मिलाएको छ ।

अस्पतालले न्युरोसम्बन्धी उपचारका लागि आउने बिरामीहरूलाई सहजै औषधी उपलब्ध गराउन अस्पताल परिसरमै छुट्टै फार्मेसीको समेत व्यवस्था गरेको छ ।

अत्याधुनिक उपकरणमार्फत सेवा दिन थालेको अस्पतालले सबै किसिमका बिरामीहरू उपचार सेवाबाट वञ्चित नहुन् भनेर अप्रेसन, वार्डलगायतका छुट्टाछुटै व्यवस्था मिलाएको छ । न्युरोसम्बन्धी अत्याधुनिक सेवा र सुविधा प्रदान गर्न अस्पताल व्यवस्थापनले कुनै कसर बाँकी नराखी काम गरिरहेको र हालसम्म न्युरोका लागि मात्रै डेढ अर्ब रकम लगानी गरेकोे अस्पतालका एमडी इन्दिरा शर्माले बताइन् ।

अस्पतालका अनुसार यी सेवासँगै व्यवस्थापन पक्षले मेडिकल टुरिजमको विकास गर्ने लक्ष्य लिएको दाबी गरेको छ । त्यसका लागि अस्पतालले अत्याधुनिक उपकरण र विश्वप्रसिद्ध चिकित्सकको व्यवस्थापन गरेको जनाएको छ ।  

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप