मुलुककै जेठो उद्योगमा जे देखियो... (फोटोफिचर)
फणिन्द्र नेपाल/ कृष्ण खड्का
मोरङ– विक्रम संवत् १९९३ मा स्थापना भएको विराटनगर जुटमिल धेरैका लागि देखाउन दाँत बनेको छ ।
झण्डै ८१ वर्ष पुरानो यो मिल जीर्ण मात्र छैन, यसमा प्रयोग गरिएका अर्बौं रुपियाँ मूल्य बराबरका दुलर्भ मेसिनहरू खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेका छन् ।
३३ केभी क्षमताको मेसिन अलपत्र
विराटनगर जुटमलिमा रहेका सयौँ मेसिन सञ्चालन गर्न उद्योग परिसरभित्रै दुईवटा विद्युत उत्पादन गर्ने मेसिन पनि छन् । जसको क्षमता ३३ केभी विद्युत उत्पादन रहेको छ । उद्योग स्थापना भएकै बेला जर्मनबाट ल्याइएका यिनै मेसिनबाट विद्युत उत्पादन गरी उद्योगका सबै मेसिन सञ्चालन भए पनि अहिले यी दुई मेसिन नचलेको वर्षौं भइसकेको छ ।
चासो नै छैन
‘यो मिल स्थापना भएयता नेपालमा धेरै राजनीतिक परिवर्तन भए । यही मिललाई कर्मथलो बनाएका काङ्ग्रेस नेता गिरीजाप्रसाद कोइराला पटक पटक र मनमोहन अधकारी एक पटक प्रधानमन्त्रीसमेत बने । तर, यो ऐतिहासिक पृष्ठभूमि बोकेको मिलको अवस्था भने दयनीय छ, चलाउनतर्फ कसैको चासो छैन’ गत बुधबार साँझ उद्योगको गेटमै भेटिएका स्थानीय क्षितिज निरौलाले रातोपाटीसँग भने ।
अथाह सम्पत्ति सदुपयोग छैन
मिलसँग ५१ विगाहा क्षेत्रफलमा फैलिएको जमिन छ । यही जमिनमा करौडौँ मूल्यका जुट उत्पादन गर्ने विभिन्न किसिमका मेसिनहरू छन् तर मिल सधँै बन्द रहन्छ । उद्योगले चर्चेको १० विगाहाभन्दा बढी जमिन स्थानीयले अतिक्रमण गरिसकेका छन् ।
आक्कल झुक्कल राजनीतिक स्वार्थ पूरा गर्न मिल सञ्चालन गर्ने गरिए पनि उद्योगको क्षमताअनुसार उत्पादन नभएको धेरै वर्ष भैसकेको छ ।
क्षमता दैनिक २० टन, उत्पादन शून्य
पछिल्लो पटक गत मङ्सिर १० गते मिल चलाएको घोषणा पनि गरियो तर, फोटो खिचुन्जेलसम्म मात्रै मिल चल्यो, त्यसपछि बन्दजस्तै छ । कोही नयाँ मान्छे उद्योगमा गएभने चल्छ भनेर देखाउने गरिन्छ । ‘असल शासन र राज्यको निगरानीसहितको लगानी भए यो मिल पुनः सञ्चालन गर्न कुनै कठिनाइ छैन’ विराटनगर जुटमिल प्रशासन अधिकृत तारानाथ तिमिल्सिना भन्छन्– ‘दैनिक २० टन सुतली निकाल्ने क्षमता उद्योगको छ तर पूर्णतया चल्न सकेको छैन । अहिले एक दुई लुम सुतली उत्पादन पनि हुँदैन ।’
माकुराको जालो छ मेसिनमा
मेसिन नचलेपछि टुटफुट हुने नै भए । कति मेसिन विग्रेर बसेका छन् त कति माकुराको जालेले जेलिएका छन् । तिमिल्सिनाका अनुसार राज्यले तत्काल २५ करोड रुपियाँ लगानी गर्ने हो भने मिल फुलफेजमा सञ्चालनमा आउँछ तर त्यो लगानी गर्न राज्य तयार छैन ।
यो उद्योग परिसरमा ४०० लुम (ताँत) मेसिन रहेका छन् । यी मेसिन सबै विदेशबाट झिकाइएका हुन् । उहीबेला जर्मन र भारतबाट ल्याएका मेसिनको मात्रै मूल्य अर्बौं रुपियाँ भएको जुट मिलका कर्मचारीहरू बताउँछन् ।
उद्योग परिसरमा जुट बनाउने र पेल्ने लगायतका स्प्रिङ ४५ वटा, कोप १०, रोल १०, बिमा ६, डस्टम मेसिन १, सफनर (पेल्ने) ४, टिजर कार्ड ६, फस्टब्रेकर ११, सेकेन्ड ब्रेकर १० लगायतका अन्य धेरै मेसिन छन्, जुन कामविहीन अवस्थामा रहेका छन् ।
‘कति मेसिन त खिया लागेर बसेका मात्रै छैनन्, टुटफुटसमेत भइसकेका छन् । राज्यले उद्योग सञ्चालन गर्न हामीलाई बाटो खोलिदिए अझै उद्योग चलाउन सकिन्छ, व्यवस्थापन मात्रै गरिदिए पुग्छ’, मिल उद्योगका प्रवन्ध निर्देशक निलहरी काफ्ले भन्छन्– ‘घिटिघिटी चलेको मात्रै छ ।’
२२ सय मजदुरको रोजगारी गुम्दै
यो उद्योग सञ्चालन भए करिब दैनिक २२ सय मजदुरले रोजगारी पाउने तथा स्थानीय सयौँ किसानले समेत जुट खेती गरेर प्रशस्त आम्दानी गर्न सक्ने सम्भावना रहेको सरोकारवालाहरू बताउँछन् ।
सरकारले पछिल्लो समय उद्योग चलाउन १७ जना अस्थायी कर्मचारी भर्ना गरेको छ । पहिलादेखि काम गर्दै १५ भन्दा कर्मचारीले झण्डै २ वर्षदेखि तलब पाएका छैनन् । तलब नपाएपछि उनीहरू उद्योगमा पनि त्यति आउँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
-
इंग्ल्यान्ड विरुद्ध अर्जेन्टिना : कुन कुन खेलाडी चम्किए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण