बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

यस्ता छन् ५ नम्बरका ७९ वर्षीय ‘सभामुख’

आइतबार, २१ माघ २०७४, १२ : ३५
आइतबार, २१ माघ २०७४

तेजेन्द्र केसी 
 

बुटवल - रूपन्देहीको तिलोत्तमा नगरपालिका–१८ निवासी बलदेव शर्मा पोखरेलले गत माघ ७ गते ज्येष्ठ प्रदेश सदस्यको नाताले ५ नम्बर प्रदेश संसद् प्रमुखको भूमिका पाए । उनी प्रदेशसभाले सभामुखको निर्वाचित नगरुन्जेलका लागि सभामुखको भूमिकामा हुनेछन् । 

सभामुखको भूमिका पाएका पोखरेल हिजोआज बिहानैदेखि बैठक, छलफल र भेटघाटमा व्यस्त छन् । प्रदेश सांसदको पहिलो बैठकमा के गर्ने र कसरी सञ्चालन गर्ने विषयमा उनको ध्यान केन्द्रित छ ।
प्रदेश संसद्को पहिलो बैठक माघ २१ गते बस्दै छ । उनले बैठक सम्पन्न गर्ने जिम्मेवारीलाई ठूलो अवसरका रूपमा लिएका छन् । बैठक तयारीमा संसद् सचिवालयका कर्मचारी छन् । केन्द्रबाट संसदीय सहजीकरण टोली बैठक सम्पन्न गर्न बुटवल आइपुगेको छ । 

७९ वर्षीय पोखरेल रूपन्देहीका काँग्रेस संस्थापक सचिव हुन् । उनीसँग बीपी कोइरालाको समितिमा बसेर काम गरेको अनुभव छ । पछिल्ला वर्षमा भने पार्टीको इमानदार कार्यकर्तामात्रै थिए । पार्टीको बुथ सभापतिले सिफारिस गरे पनि प्रदेश सांसद बन्नेमा उनी ढुक्क थिएनन् । 

राजनीतिकर्मी भएपछि पदमा बस्ने सबैको इच्छा हुन्छ । ‘जोकोहीको इच्छा हुन्छ । तर, मलाई यहाँ आइएला भन्ने आस थिएन,’ उनले आफ्नो कार्यकक्षमा भने, ‘किनकि यसअघि  लाभको पद पाइएको थिएन ।’

काँग्रेसको राजनीति गर्ने तर पदको आस नगर्ने उनको चिनारी हो । उनी पार्टीका इमानदार कार्यकर्तामा गनिन्थे । पछिल्ला वर्षमा राजनीतिभन्दा पनि घरमै रहेका उनको प्रदेशसभा सदस्यमा काँग्रेसबाट मनोनीत भएपछि चर्चामा आए । 

सभामुखको भूमिकापछि उनलाई पटक–पटक पत्रकारले जन्ममिति, शिक्षालगायत सोधेर हैरान पारे । टाइप गराएर व्यक्तिगत विवरण कोटको खल्तीमा बोक्न थालेका छन् । पत्रकारले सोध्दा त्यही विवरण दिने गरेका छन् । 

बुटवल उद्योग वाणिज्य संघको महासचिवको कार्यकक्षमा नयाँ कुर्ची, राष्ट्रिय झन्डा, साइडमा फोन, भेटघाटका लागि चट्ट पारी सोफाको व्यवस्था गरिएको सभामुखको कार्यकक्षमा उनी भेटिए । २१ गतेको बैठकका लागि निकै खटेर काम गर्नुपर्यो । हामी पनि नयाँ, कर्मचारी पनि नयाँ भएकाले अलि समस्या भएको उनले सुनाए । 

बिहान चार बजे उठ्ने उनको बानी छ । उनले दुई गाई पालेका छन् । काम गर्ने कोही छैनन् । तीन भाइ छोरा घरबाहिर छन् । कोही अमेरिका । केही काठमाडौंतिर छन् । यहाँ बसेका छोराबुहारी आफ्नै काममा व्यस्त छन् । बूढाबूढीले गाईको स्याहार गर्ने उनले बताए । ‘विवाह भोज होस् वा अन्य पार्टी, जहाँ गए पनि राति घर फर्केर एक गिलास गाईको दूध नखाई मनले मान्दैन,’ उनले भने, ‘दूध खान गाई पालेको हँु । म गाईको दूधमा अलि लोभी छु ।’ 

गाईलाई दानापानी गर्ने उनलाई अकस्मात् प्रदेश सांसद बन्दा धेरैले अचम्म माने । बधाइको ओइरो लाग्यो । कोही बधाइ दिन घरमै पुगे । धेरैले फोनबाट बधाइ दिए । निर्वाचित भएपछि एक सातासम्म फोन बजिरह्यो । ‘पूर्वदेखि पश्चिमसम्मका काँग्रेस कार्यकर्ताले बधाइ दिए,’ उनले भने, ‘नयाँ पुराना धेरैले चिनेका छन् ।’ 
राजनीति गर्दा सम्पत्ति सकिए पनि निश्चिन्त 

हिन्दु धर्मअनुसार चौरासी पूजा गर्न चाहेमा दुई वर्षमात्रै बाँकी छ । यो उमेरमा प्रदेश सांसद बन्नु उनी जिन्दगीका सबैभन्दा ठूलो उपलब्धि ठान्छन् ।

संस्कृत अध्ययन गरेका पोखरेल तार्किक र फरासिला छन् । १९९५ माघ १९ गते प्युठानमा जन्मिएका उनी रूपन्देहीको तिलोत्तमै जीवनका धेरैजसो समय बिताए । राजनीति गर्दा चार वर्ष जेलजीवन बिताए । २०१७ मा तत्कालीन राजा महेन्द्रको कदमको विरोध गर्दा तीन वर्ष जेल बसे । काँग्रेसमा उनीभन्दा दुई ज्येष्ठ नेता सक्रिय राजनीतिमा छन् । त्यसमध्ये कुलबहादुर गुरुङ काँग्रेसको पूर्वमहामन्त्री हुन् भने अर्का नेता पूर्वसांसाद रामहरि जोशी ।

उनका अनुसार ०१७ मा जेल परेर छुटेपछि शेरबहादुर देउवा, रामचन्द्र पौड्याल विद्यार्थी राजनीति आएका हुन् । शेरबहादुर, रामचन्द्र पार्टीमा आफूभन्दा पछि काम गरेको उनले सुनाए । ‘सम्पत्ति कमाउनेतिर लागिएन,’ उनले भने, ‘भएको सम्पत्ति सकियो । मर्दा सम्पत्ति कसले पो लैजान्छ र ।’ 

सेकेन्ड म्यान अस्वीकार 

२०४२ को सत्याग्रहमा पनि चार महिना जेल यातना भोगेका उनलाई जिल्ला विकास समिति रूपन्देहीको उपसभापति बनाउन पार्र्टीले ०५४ मा सिफारिस गरेको थियो । काँग्रेस र राप्रपा तालमेल गरेर उनलाई उपसभापति बनाउने प्रस्ताव आयो । उनले त्यो बेला सभापति पाए जाने नत्र अरूलाई पठाउन आग्रह गरे । ६ दशक राजनीति गरेर पहिलोपटक लाभको पद पाएका उनले प्रदेश सांसदलाई पहिलो र अन्तिम लाभको पद ठानेका छन् ।

समानुपातिकबाट प्रदेश सांसद बनेको सञ्चारमाध्यमबाटै थाहा पाएका उनले पार्र्टी पटक–पटक सरकारमा रहँदा केही मागेनन् । २०११ म संस्कृत छात्र संघमा सक्रिय उनी २०१४ को भद्रअवज्ञा आन्दोलनमा समेत सक्रिय रहेका थिए । 

नयाँ नआउँदासम्म उनै सभामुख प्रदेशसभाबाट नयाँ सभामुख चयन नभएसम्म उनी सभामुखको जिम्मेवारीमा रहनेछन् । वाम गठबन्धनको सहमतिअनुसार ५ नम्बर प्रदेशमा माओवादी केन्द्रले सभामुख पाउने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप