अनि हुन्छ जग बलियो
शनिबार, ०९ वैशाख २०७४, ११ : ००
सुरेश राउत इन्जिनियर भिमेश्वर नगरपालिका
७२ सालको महाभूकम्पपछि नेपालमा बलियो तथा भूकम्प प्रतिरोधी घर बनाउने चाहना सबैमा आएको छ । घर आकर्षक मात्र भएर हुँदैन, बलियो हुनु पनि उत्तिकै आवश्यक छ भन्ने चेतना फैलिएको छ । सोही कारण अहिले घर बनाउनुअघि मानिसहरू उपयुक्त जमिन, दक्ष कामदार तथा गुणस्तरीय निर्माण सामग्रीमा विशेष ध्यान दिन थालेका छन् । तर, घरको आधार मानिने जग निर्माणकार्य भने ठेकेदारको भरमा छोड्ने प्रचलन पनि देखिन्छ । भवनको सम्पूर्ण भार जगले नै थेग्नुपर्ने हुन्छ । सोही कारण पनि चलनचल्तीको भाषामा पनि भनिन्छ, ‘जग बलियो भए मात्र घर बलियो हुन्छ ।’ माटोको लेभलभन्दा मुनि खाल्डो खनेर घरको आधार बनाउने काम नै जग निर्माण हो । यसलाई बलियो बनाउने कार्य केही प्राविधिक पनि भएको हुनाले दक्ष प्राविधिकको सल्लाह निकै नै आवश्यक हुन्छ ।
जमिनको अवस्था, घरको उचाइ तथा अन्य पक्षबारे जानकारी लिएर जग निर्माण गर्नुपर्ने हुन्छ । सोही कारण माटो परीक्षण गरिएको स्थानमा जग खन्दा कडा माटो नभेटुन्जेलसम्म खन्नुपर्छ । यसरी खन्दा कडा माटो खोज्ने क्रममा कम्तीमा तीन फिट गहिराइ बनाउनै पर्छ । त्यति खाल्डो बनाउँदा पनि कडा माटो नभेटिएमा जग राख्ने स्थान नै परिवर्तन गर्दा पनि हुन्छ । यदि स्थान परिवर्तन गर्न सम्भव छैन भने कृृत्रिम जग प्रबलीकरण गर्नुपर्ने हुन्छ । त्यसका लागि जगमा ठूलो ढुंगाको बीचमा सानो ढुंगा र माटो राखेर कृत्रिम रूपमा खँदिलो बनाउन सकिन्छ । यदि जग खन्दै गर्दा माटो खँदिलो भएर खाल्डो बनाउन कठिन भएमा या चट्टान भेटियो भन्दैमा कम गहिराइमा जग राख्नु उपयुक्त हुँदैन । जगको खाल्डो बनाउँदा कम्तीमा पनि जगको गारोको चौडाइ बराबर हुनुपर्छ ।
जग बनाउँदै गर्दा जगको उचाइको कम्तीमा दुई तहमा एउटा र चौडाइमा दुई फिटमा एउटा टाइस्टोन्स बनाउनुपर्छ । टाइस्टोन्सले गारोको जोर्नीहरूको जडानलाई बलियो बनाउँछ । टाइस्टोन सामान्य गारो लगाउने ढुंगाभन्दा केही लामो हुन्छ । जगको गारो लगाउँदा एउटै ठाडो हुनु हुँदैन । सोबाट जोगाउन टाइस्टोन महत्वपूर्ण हुन्छ ।
जगको गारो जमिनको लेभलमा आइपुगेपछि ‘जगको पट्टी’ आवश्यक हुन्छ । पट्टी प्रत्येक गारोको सबैतिर समान उचाइमा राख्नुपर्छ । जगको पट्टी लगाउन ढलान या परीक्षण गरिएको काठको प्रयोग गरिन्छ । जमिनको लेभलमा हुने कारण काठ चाँडै कमजोर हुने भएकाले काठ प्रयोग नगर्नु नै राम्रो हुन्छ ।
घरको भारलाई जमिनमा प्रत्यायोजन गर्न क्रमशः जगको चौडाइलाई बढाउँदै लानुपर्ने हुन्छ । सामान्यतया नरम माटोमा कम्तीमा तीन फिटको चौडाइ राख्नु उत्तम हुन्छ । जगको सबैभन्दा तल्लो भाग एउटै सतहमा हुनुपर्छ । तर, पहाडी भेगमा यो अवस्था नहुन पनि सक्छ । अधिकतम २० डिग्रीभन्दा बढी जगको सतह फरक हुनु भएन । कहिलेकाहीँ जगमा पत्थर फेला परेमा यस्तो अवस्था आउन सक्छ ।
जगको तल्लो भाग नरम माटो भएमा कम्तीमा तीन फिट चौडाइ हुनुपर्छ । कडा भएमा सोभन्दा कम गर्दा पनि हुन सक्छ । तर, प्राविधिकको उचित सल्लाह लिन भने आवश्यक हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
-
‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
-
दलाई लामासम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक : झलनाथ खनाल
-
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज, बजेटमाथिको छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण