बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
अपडेट

हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो

बिहीबार, २५ असार २०८३, ०८ : १२
बिहीबार, २५ असार २०८३

सारांश

  • कैलालीमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ।
  • डीएसपी चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति वा राजनीतिक नेतृत्वको नभई कानुनअनुसार काम गर्ने संस्था भएको बताएका थिए।
  • कार्यक्रममा बोलिएको भिडियो सार्वजनिक नगर्न अनुरोध गरे पनि उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा डीएसपी चौधरीले व्यक्त गरेको भनाइबारे जानकारी लिन र आवश्यक सोधपुछ गर्न उनलाई जिल्ला बोलाइएको जनाएको हो।

कैलालीका प्रमुख जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी) नरेन्द्र चन्दका अनुसार डीएसपी चौधरीलाई अन्य विषयमा काउन्सिलिङका लागि जिल्ला बोलाइएको थियो। सोही क्रममा उक्त भिडियो सार्वजनिक भएपछि भिडियोमा दिएको अभिव्यक्तिबारे पनि सोधपुछ गरिने उनले बताए।

‘हामीले उहाँलाई अन्य विषयमा काउन्सिलिङ र कुराकानीका लागि बोलाएका थियौँ। त्यससँग सम्बन्धित केही विषय पनि थिए। यहीबिच भिडियो भाइरल भयो। त्यसैले भिडियोमा दिनुभएको अभिव्यक्तिबारे पनि बुझ्ने काम हुन्छ,’उनले भने।

कार्यक्रममा बोल्दै डीएसपी चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति वा राजनीतिक नेतृत्वको नभई कानुनअनुसार काम गर्ने संस्था भएको बताएका थिए।

‘हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हो, अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाली पुलिस हौँ, केपी ओलीलाई थुन्ने पनि यही पुलिस हो, यो बद्रीले राष्ट्रपतिले लगाउन पाउनु हुन्न भन्ने,’ भन्ने अभिव्यक्ति दिएका थिए।

भिडियोमा उनले आफ्नो भनाइ मन परे ताली बजाउन आग्रह गरेपछि कार्यक्रममा उपस्थित विद्यार्थीहरूले ताली बजाएको देखिन्छ। त्यसक्रममा उनले आफू प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्रहरी सेवामा प्रवेश गरेको उल्लेख गर्दै प्रहरी संगठन राजनीतिक आधारमा नभई कानुनी प्रक्रियाअनुसार सञ्चालन हुने धारणा पनि राखेका थिए।

डीएसपी चौधरीले कार्यक्रममा बोलिएको भिडियो सार्वजनिक नगर्न अनुरोध गरेको आवाज पनि भिडियोमा सुनिन्छ। उक्त भिडियो भने सामाजिक सञ्जालमा सार्वजनिक भयो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप