बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

गरुडा–कटहरिया सडक जीर्ण, तत्काल मर्मत नभए आवागमन ठप्प हुने चिन्ता

बिहीबार, २५ असार २०८३, ०९ : २७
बिहीबार, २५ असार २०८३

सारांश

  • रौतहटको गरुडा–कटहरिया सडक वर्षौँदेखि जीर्ण हुँदा स्थानीय बासिन्दा, विद्यार्थी, किसान, व्यापारी र बिरामीले दैनिक सास्ती खेप्नुपरेको छ।
  • सडकमा २ देखि ३ फिट गहिरा खाल्डाखुल्डीले वर्षायाममा आवागमन ठप्प हुने र दुर्घटनाको जोखिम बढ्ने चिन्ता व्यक्त गरिएको छ।
  • स्थानीयवासीले तत्काल सडक मर्मतको माग गर्दै नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

रौतहट । रौतहटको मध्यभाग गरुडा–कटहरिया सडक वर्षौँदेखि जीर्ण बन्दै जाँदा सर्वसाधारण, विद्यार्थी, किसान, व्यापारी तथा बिरामीले दैनिक सास्ती खेप्न बाध्य भएका छन्। स्थानीयवासीले तत्काल मर्मत–सम्भार नगरिए वर्षायाममा सडक पूर्ण रूपमा अवरुद्ध हुन सक्ने चेतावनी दिएका छन्।

स्थानीयका अनुसार सडकका विभिन्न स्थानमा २ देखि ३ फिटसम्म गहिरा खाल्डाखुल्डी परेका छन्। वर्षायाममा ती खाल्डामा पानी र हिलो जम्दा सवारी साधन फस्ने, दुर्घटनाको जोखिम बढ्ने तथा आवागमन थप कठिन बन्दै गएको छ।

सडकको कालोपत्रे अधिकांश स्थानमा भत्किएकाले सुक्खा मौसममा अत्यधिक धुलो उड्ने गरेको छ। धुलोका कारण सडक किनारमा बसोबास गर्ने नागरिकको जनजीवन प्रभावित हुनुका साथै श्वासप्रश्वाससम्बन्धी समस्या बढ्ने, घर तथा पसलमा धुलो भरिने र वातावरण प्रदूषित हुने गरेको स्थानीयको गुनासो छ।

झाँझपुल–कटहरिया–बिर्ती सडक रौतहटको सदरमुकाम गौर, सर्लाहीसँग जोडिने प्रमुख सडकमध्ये एक हो। यस सडकबाट दैनिक हजारौँ यात्रु, तथा सवारी साधन आवतजावत गर्ने भए पनि सडकको दयनीय अवस्थाका कारण सामान्य दूरी पार गर्नसमेत लामो समय लाग्ने गरेको स्थानीय बताउँछन्।

व्यवसायीहरूका अनुसार सडक बिग्रिएकै कारण ढुवानीमा ढिलाइ हुने, सवारी साधन बारम्बार बिग्रिने तथा मर्मत खर्च बढ्दा व्यवसाय सञ्चालनमा प्रत्यक्ष असर परेको छ। किसानहरूले पनि कृषि उपज समयमै बजारसम्म पुर्‍याउन नसक्दा आर्थिक क्षति व्यहोर्नुपरेको बताएका छन्।

मोटरसाइकल चालकहरू सबैभन्दा बढी जोखिममा रहेको स्थानीयको भनाइ छ। सामान्य वर्षा हुँदा पनि खाल्डाखुल्डी पानीले ढाकिने भएकाले दुर्घटनाको सम्भावना बढ्ने गरेको उनीहरू बताउँछन्। एम्बुलेन्स, विद्यालय बस तथा सार्वजनिक यातायातका साधनसमेत सहज रूपमा सञ्चालन हुन नसक्दा स्थानीय जनजीवन प्रभावित बनेको छ।

कटहरिया नगरपालिका–४ का वडा अध्यक्ष चन्दन कुशवाहाले झाँझपुल–कटहरिया–बिर्ती सडक यस क्षेत्रका हजारौँ नागरिकको दैनिक आवागमनको मुख्य मार्ग भएकाले यसको तत्काल मर्मत आवश्यक रहेको बताए।

उनले भने, “वर्षौँदेखि सडक जीर्ण रहे पनि सम्बन्धित निकायले आवश्यक चासो दिएको देखिँदैन। वर्षायाममा खाल्डाखुल्डी, हिलो र पानी जम्ने समस्याका कारण यात्रु, विद्यार्थी, बिरामी र किसान सबैभन्दा बढी प्रभावित भएका छन्। त्यसैले सडकको तत्काल मर्मत–सम्भार गरी सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायसँग हाम्रो जोडदार माग छ।”

स्थानीयवासीले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि प्रभावकारी पहल नभएको गुनासो गरेका छन्। उनीहरूले वर्षायामअघि सडक सञ्चालनयोग्य बनाउने गरी खाल्डाखुल्डी पुर्ने, पानी निकासको व्यवस्था मिलाउने तथा दीर्घकालीन रूपमा सडक स्तरोन्नति गरी गुणस्तरीय कालोपत्रे निर्माण गर्न माग गरेका छन्।

स्थानीयहरूले समयमै मर्मत कार्य सुरु नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप