बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

कस्ता व्यक्तिले रक्तदान गर्ने ?, यी हुन् रक्तदानका फाइदा

आइतबार, १० वैशाख २०७४, १२ : १२
आइतबार, १० वैशाख २०७४

–केदारनाथ नेपाल ‘निश्चल’

रगतविना जीवनको परिकल्पना गर्न सकिँदैन । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । कुनै पनि बेला जोसुकैलाई रगत चाहिन सक्छ । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । रक्तदान गरिसकेपछि दान गर्ने व्यक्तिले आत्मसन्तुष्टि प्राप्त गर्दछ ।

नेपालमा वि.सं. २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । समाजसेवी दयावीरसिंह कंशाकार नेपालका प्रथम रक्तदाता हुन् । उनले वि.सं २००० मा रक्तदान गरी ‘रक्तदान जीवनदान’ अभियान सुरु गरेका थिए ।

तत्कालीन राजा महेन्द्रले समेत रक्तदान गरी यो अभियानको आवश्यकताको जानकारी दिएका थिए । त्यसैगरी अहिलेसम्म नेपालमा धेरै रक्तदान गर्ने व्यक्तिहरूको सूचीमा नेपाल स्वयम्सेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको नाम अग्रपङ्क्तिमा आउँछ । उनले २०७३ मङ्सिर सम्ममा १४८ पटक ५२ लिटर रक्तदान गरिसकेका छन् ।

नेपालमा बर्सेनि करिब तीन लाख युनिट रगत चाहिन्छ । तर, जहिल्यै अभावको समाचार आइरहेका हुन्छन् । अधिक रक्तस्रावका बिरामी, प्रसूति, मुटु, मस्तिष्कलगायतको शल्यक्रिया र दुर्घटनामा परेकालाई बचाउन रगत अनिवार्य हुन्छ । थालासेमिया, ल्युकेमिया लगायतका रक्त क्यान्सर, हेमोफिलिया र रक्त अल्पता जस्ता समस्यामा तारन्तार रगत चाहिरहन्छ ।

जटिल खालको शल्यक्रिया बढिरहेको नेपालमा रगतको अभाव हुँदा अपरेसन नै सारिरहनुपर्ने अवस्था छ । सडक दुर्घटना पनि अचाक्ली बढेका छन् । बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अपरेसन पनि पहिलेको तुलनामा बढेको छ । यी सबै अवस्थाले रगतको माग आकासिएको छ ।

ब्लड बैङ्कहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । केही सङ्घ संस्थाहरुले जन्मोत्सव तथा विभिन्न कार्यक्रमको अवसर पारेर सङ्कलन गरेको रगतले अहिलेको मागलाई धान्न सकिरहेको छैन । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृत्तिले गर्दा देशमा रगतको चरम सङ्कट भएको छ ।

पुरुषमा प्रतिकेजी ७६ मिलिलिटर र महिलामा प्रतिकेजी ६६ मिलिलिटर रगत हुन्छ । तर, हरेक मानिसलाई प्रतिकेजी ५० मिलिलिटर रगत भए पर्याप्त हुन्छ । यस्ता विषयमा पर्याप्त ज्ञान दिलाउन सके पक्कै पनि रक्तदाताहरुको सङ्ख्या वृद्वि हुन सक्छ ।

अहिले विभिन्न सङ्घ संस्थाहरुले आयोजना गरेको कार्यक्रमबाट सङ्कलित रगतले उपभोक्ताको माग बल्लतल्त धानिरहेको छ । सरकारले विभिन्न मिडियालाई वितरण गर्ने लोककल्याणकारी विज्ञापन मार्फत् स्वास्थ मन्त्रालयले विभिन्न मिडियालाई विज्ञापन रकम प्रदान गर्दै आएको छ । जस्तैः खाना खानुअघि हात धोधौ । दिसापिसाब गरेपछि र बच्चाको दिशा धोएपछि साबुन पानीले हात धोऔँ, जस्ता विज्ञापन आएको सुनिन्छ । तर सम्बन्धित रक्तदानसम्बन्धी कुनै चेतनामूलक विज्ञापन आएको सुनिँदैन । कस्ता व्यक्तिले रक्तदान गर्ने ? स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् । तसर्थ, रगतमा हेमोग्लोबिनको मात्रा १२ ग्राम प्रतिशत वा सोभन्दामाथि, शरीरमा रक्तचाप, नाडी, तापक्रम सामान्य भएको स्वास्थ्य परीक्षणबाट मुटु, फोक्सो र कलेजो राम्रो रहेको हुनुपर्छ ।

साथै मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय, यौनरोग तथा एचआईभी / एड्स नलागेको हुनुपर्छ । गर्भवती र महिनावारीको समयमा रक्तदान गर्नुहुँदैन । महिलाले सुत्केरी भएको ६ महिनापछि रक्तदान गर्नुपर्छ । रक्तदाताको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन र दान अगाडि धूमपान गर्नुहुँदैन । रक्तदानको २४ घण्टाअघि र पछि रक्सी वा अन्य लागूपदार्थ सेवन गर्नुहुँदैन ।

रगतको प्रकार रगतको वर्गीकरण ए, बी, ओ तथा एबी र पोजिटिभ तथा नेगेटिभ भनेर गरिएको हुन्छ । रेसस माकासस बाँदरको रगतमा पाइने तत्व भएको रक्त समूहलाई आरएच पोजिटिभ र नभएकालाई आरएच नेगेटिभ समूह भनिन्छ । अरू समूह रगतमा पाइने एन्टिजेनको आधारमा विभाजन गरिएको हुन्छ । कुनै एन्टिजेन नभएमा ओ, एन्टिजेन अनुसार ए, बी र दुवै प्रकारको एन्टिजेन भएमा एबी भनिन्छ ।

३५ देखि ४० प्रतिशत नेपाली ए पोजिटिभ, २९ प्रतिशत ओ पोजिटिभ, २७ प्रतिशत बी पोजिटिभ र १० देखि १२ प्रतिशत एबी पोजिटिभ रक्त समूहका छन् । ९९.४ प्रतिशत नेपाली पोजिटिभ समूहको छन् भने ०.६ प्रतिशत ९ अहिले बढेर २ प्रतिश (आरएच नेगेटिभ) अर्थात् हाल नेपालमा १०० व्यक्तिमा दुई जनाको रक्त समूह नेगेटिभ छ । यो समूह विरलै भएकाले फ्रेन्ड्स अफ आरएच नेगेटिभ ब्लड ग्रुप गठन गरिएको छ ।

नेपाल रक्तसञ्चार केन्द्रले यो रगत समूहका व्यक्तिहरूको नाम, ठेगाना र सम्पर्क नम्बरलगायतको लगत राख्ने गरेकाले आवश्यक पर्दा मोबाइल वा एसएमएसबाट यो समूहको रगतको खोजी गर्न सकिन्छ । यसमा पनि ओ नेगेटिभ समूहको रगत पाउन निकै गाह्रो छ । ‘युनिभर्सल डोनर’ भनिने यस्तो समूहका व्यक्तिले आपतमा जुनसुकै रगत समूहको बिरामीलाई नजाँचीकनै रगत दिन सक्छन् । यस्तो अवस्थामा यौन तथा अन्य सरुवा रोग सर्ने सम्भावना भने रहन्छ ।

के हो रगत ? रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबडीसँगै कार्बनडाइअक्साइड, युरिया जस्ता विकार ओसार–पसार गर्छ । रगतको रातो रक्तकणले अक्सिजन तथा कार्बनडाइअक्साइड यताउति गर्न, श्वेत रक्तकणले रोगसँग लड्न र प्लेटलेट्सले रगत जमाउने काम गर्छ । शारीरिक तौलको ७ प्रतिशत भाग रगत हुन्छ भने त्यसमध्ये ६० प्रतिशत भाग प्लाज्मा ‘९० प्रतिशत पानी र १० प्रतिशत पोषक तत्व’ हुन्छ । रगतको बाँकी ४० प्रतिशत भागमा भने ठोस पदार्थ ‘रातो रक्तकण, श्वेत रक्तकण र प्लेटलेट्स’ हुन्छन् ।

रक्तदान गर्नुको फाइदा क्यालोरी घटाउँछ एक पटकको रक्तदानबाट मात्रै पनि लगभग ६ सय ५० किलो क्यालोरी नष्ट हुन्छ । यसले वजन नियन्त्रणमा ठूलो मदत गर्छ । हरेक तीन महिनामा रक्तदान गर्दा मानिस स्वस्थ रहन्छन् । तर त्यसका लागि पहिले हेल्थ चेकअप, ब्लडमा हेमोग्लोबिनको मात्रा र आइरनको मात्रा चेक गर्नु जरुरी छ । तीन महिनाको अन्तराल अघि रक्तदान गर्नु राम्रो हुँदैन ।

मुटुको समस्याबाट टाढा राख्छ हरेक तीन महिनामा रक्तदान गर्नाले शरीरमा रहेको आइरनको मात्रा नियन्त्रण गर्न सघाउ गर्छ । खासगरी पुरुष जसमा मुटुरोगको सम्भावना केही कम रहन्छ । शरीरको सञ्चालनका लागि आइरनको महत्वपूर्ण भूमिका रहन्छ तर यसको परिणाम धेरै हुँदा अक्सिडेटिब ड्यामेज हुनसक्छ । जसका कारण एजिङ, हृदयघात र स्टोकको समस्या देखिन्छ ।

क्यान्सरबाट जोगाउँछ शरीरमा आइरनको मात्रा धेरै हुनु क्यान्सरजस्तो बिरामीको कारण हुनसक्छ । यस्ता समस्याबाट बच्न समय समयमा रक्तदान जरुरी छ । अनुसन्धानले पनि यो कुरालाई मानेको छ कि रक्तदानले क्यान्सरको सम्भावनालाई शतप्रतिशतसम्म कम गर्छ ।

स्वास्थका लागि जरुरी रक्तदानपछि शरीरमा नयाँ रगत बन्छ । यसले स्वास्थसँग जोडिएका थुप्रै समस्याहरुबाट टाढा राख्छ । रक्तदानले काँर्डियोवैस्कुलर स्वास्थको पनि नियन्त्रण गर्छ । रक्तदानका दौरान ब्लड प्रेसर, शरीरको तापक्रम, हेमोग्लोबिनजस्ता चेकअप गरिन्छ जसले शरीरको उतारचढावका बारेमा पनि जानकारी दिन्छन् र लामो समयसम्म स्वस्थ रहन सकिन्छ ।

आत्मसन्तुष्टि रक्तदानपछि आफैँमा एक आत्मसन्तुष्टि विकास हुन्छ । आफैँलाई एउटा राम्रो काम गरेको अनुभव हुन्छ । कसैको जिन्दगी बचाउनु राम्रो काम हो । बिरामीको जरुरत हेरेर रगतलाई थुप्रै हिस्सामा बाँडिन्छ । साना बच्चाका लागि थुप्रै पटक रगतको जरुरी हुन्छ । त्यसैले आफ्नो खुसीसँगै अरुलाई समेत खुसी राख्न रक्तदान गर्नुहोस् ।

अन्त्यमा देशमा शिक्षित व्यक्तिको सङ्ख्या वृद्धि भए पनि अझै रक्तदानको ज्ञान बारे पर्याप्त जानकारी छैन । रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटाऔँ । रक्तदान गर्नुपूर्व विभिन्न विद्यालय तथा विश्वविद्यालय, स्वास्थ्य संस्था आदिबाट रक्तदानसम्बन्धी जानकारी लिन सकिन्छ ।

रक्तदान महादान हो । हामीले शरीरमा भएको रगत दान नगरे पनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने ? रक्तदान गरेजस्तो पुण्यको काम अरु केही हुँदैन । हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् ? कुनै बेला आफैलाई रगत चाहिँदा कसले दिन्छ ? त्यसैले रक्तदान गरौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप