बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

हिरासतबाट फरार भएका लागूऔषध मुद्दाका थुनुवा टीकापुरमै पक्राउ

बिहीबार, २५ असार २०८३, १० : ५५
बिहीबार, २५ असार २०८३

सारांश

  • कैलालीको टीकापुरबाट लागूऔषध मुद्दाका फरार थुनुवा संजय नगार्जी पुनः पक्राउ परेका छन्।
  • विशेष सूचनाको आधारमा भेष परिवर्तन गरी मोटरसाइकल चलाइरहेको अवस्थामा उनलाई अमरावती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
  • हिरासतबाट थुनुवा फरार भएको घटनाको छानबिन गर्न डीएसपी तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

धनगढी । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका लागूऔषध मुद्दाका थुनुवा संजय नगार्जी पुनः पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–१ निवासी ३१ वर्षीय नगार्जीलाई इलाका प्रहरी कार्यालय टीकापुर र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले टीकापुरकै अमरावती क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीले दिएको जानकारीअनुसार विशेष सूचनाका आधारमा भेष परिवर्तन गरी मोटरसाइकल चलाइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउका बेला उनले चलाइरहेको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

नगार्जी गत असार ८ गते करिब ९ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए। लागूऔषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका उनी आइतबार राति ड्युटीमा रहेका प्रहरी जवानलाई झुक्याएर फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले फरार थुनुवाको खोजीलाई तीव्र बनाइएको र खोजतलासकै क्रममा उनलाई पुनः पक्राउ गर्न सफल भएको जानकारी दिए।

हिरासतबाट थुनुवा फरार भएको घटनाको छानबिन गर्न डीएसपी तिमिल्सिनाकै संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। घटनामा ड्युटीमा रहेका एक प्रहरी जवानलाई यसअघि नै निलम्बन गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप