विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
सारांश
- इजिप्टले अर्जेन्टिनाविरुद्धको खेलमा रेफ्रीहरूले गलत निर्णय गरेको र फिफाले पक्षपात गरेको आरोप लगाएको छ ।
- अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सीलाई प्रतियोगितामा टिकाइराख्नका लागि खेलहरूमा झेल गरिएको इजिप्टका प्रशिक्षकको आरोप छ ।
- विश्वकपको ड्र, रेफ्रीहरूको नियुक्ति र पहेँलो कार्डको तथ्यांकले अर्जेन्टिनालाई विशेष सुविधा दिइएको हो कि भन्ने प्रश्न उठाएको छ ।
काठमाडौँ । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीले विश्वकप उपाधिको रक्षा गर्ने अभियानमा पूरा शक्ति लगाइरहेको छ । त्यसका लागि उसले निकै सङ्घर्ष पनि गर्नुपरेको छ ।
अर्जेन्टिनाले पहिलो दुई नकआउट खेलमा केप भर्डे र इजिप्ट लाई सहज रूपमा हराउने अपेक्षा गरिएको थियो । तर अर्जेन्टिनाले दुवै खेलमा ३–२ को कठिन जित निकाल्नुपर्यो ।
तर, इजिप्टविरुद्धको जित विवादरहित रहेन । अन्तिम १६ को खेलमा रेफ्रीहरूले गलत निर्णय गरेको आरोप लगाउँदै इजिप्टले फिफासँग उक्त खेलका अफिसियलहरूलाई प्रतियोगिताबाट हटाउन माग गरेको छ ।
अर्जेन्टिना र विशेषगरी उसका स्टार खेलाडी लियोनल मेस्सीप्रति सहानुभूति राख्ने काम भएको इजिप्टले आरोप लगाएको छ । खेलपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले आफ्नो टोलीमाथि ‘अन्याय भएको’ र ‘निष्पक्ष व्यवहार नगरिएको’ बताएका थिए ।
उनले अप्रत्यक्ष रूपमा फिफाले समेत पक्षपात गरेको आरोप लगाए ।
उनले भने, ‘सायद उनीहरू विश्व च्याम्पियनलाई प्रतियोगितामा टिकाइराख्न चाहन्थे । सायद उनीहरू मेस्सीलाई पनि प्रतिस्पर्धामा कायम राख्न चाहन्थे ।’
तर के वास्तवमै अर्जेन्टिनालाई सफल बनाउन कुनै योजनाबद्ध प्रयास भइरहेको छ ? यसबारे विभिन्न पक्षहरूलाई हेरौँ ।
इजिप्टका गुनासा कत्तिको जायज छन् ?
इजिप्टले ३–२ ले हार बेहोरेपछि निराश हुनु स्वाभाविक थियो । अफ्रिकी टोली खेल सकिन ११ मिनेट बाँकी रहँदा २–० ले अगाडि थियो र इतिहासमै पहिलो पटक क्वार्टरफाइनल पुग्ने अवस्थामा थियो ।

तर त्यसपछि अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै खेल ३–२ ले आफ्नो पक्षमा पार्यो । इजिप्टको दाबी छ कि उनीहरूको पराजयको कारण केवल खेल मात्र होइन, रेफ्रीहरूको ‘गम्भीर त्रुटि’ र ‘दोहोरो मापदण्ड’ पनि थियो । उनीहरूले फ्रान्सेली रेफ्री फ्रान्कोस लेटेक्स र उनको टोलीमाथि प्रश्न उठाएका छन् ।
इजिप्टको एउटा गोल भिडियो सहायक रेफ्री (भीएआर) को हस्तक्षेपपछि रद्द गरिएको थियो ।
उनीहरूको दाबी अनुसार अर्जेन्टिनाको विजयी गोल पनि रद्द हुनुपथ्र्यो र त्यसको सट्टा उनीहरूलाई पेनाल्टी दिइनुपथ्र्यो ।
मोस्ताफा जेकोको उत्कृष्ट गोल त्यसबेला रद्द गरियो जब आक्रमणको सुरुआतमै मार्वन अतियाले लिसान्द्रो मार्टिनेजको खुट्टामा टेकेको ठहर गरियो ।
यो निर्णय विवादास्पद थियो । तर त्यसबेला इजिप्ट १–० ले अगाडि थियो र त्यसपछि उसले अर्को गोल पनि गर्यो । त्यसैले उक्त गोल मानिएको भए खेलको नतिजा फरक हुन्थ्यो भन्ने प्रमाणित गर्न सकिँदैन ।
इजिप्टले अर्जेन्टिनाको निर्णायक गोल हुनुअघि आफ्ना पक्षमा दुई सम्भावित पेनाल्टी पनि नदिइएको दाबी गरेको छ ।
हामदी फाथीले आफूलाई एलेक्सी म्याक एलिस्टरले समातेको दाबी गरेका थिए भने मोहमद सलाहले आफूलाई जुलियन अल्भारेजले लडाएको बताएका थिए ।
मार्टिनेज र सलाहको घटनामा केही समानता देखिए पनि पेनाल्टी दिन पर्याप्त आधार नरहेको विश्लेषण गरिएको छ ।
निर्णय विवादास्पद अवश्य थियो, तर त्यसैले मात्र मेस्सीको पक्षमा षड्यन्त्र भएको पुष्टि हुँदैन ।
फ्रान्सको खेलमा अर्जेन्टिनी रेफ्री
क्वार्टरफाइनलमा फ्रान्स र मोकक्को बीचको खेलका लागि सम्पूर्ण अन–फिल्ड अफिसियल अर्जेन्टिनाका नियुक्त गरिएका छन् । मुख्य रेफ्री, दुवै सहायक, चौथो अफिसियल र रिजर्भ अफिसियल सबै अर्जेन्टिनाबाट हुनु यस विश्वकपमा पहिलो घटना हो । मुख्य रेफ्री फाकुन्डा टेलोको यो लगातार दोस्रो विश्वकप क्वार्टरफाइनल हो ।

कतिपयले अर्जेन्टिनाले फ्रान्स प्रतियोगिताबाट बाहिरियोस् भन्ने चाहन सक्ने तर्क गरेका छन्, किनकि फ्रान्स उपाधिको प्रमुख दाबेदार हो ।
यद्यपि टेलोजस्ता अनुभवी रेफ्रीले आफ्नो निष्पक्षता गुमाउने सम्भावना अत्यन्त कम मानिन्छ । तर यस्तो नियुक्तिले शंकालाई भने बढाएको छ ।
मेस्सी रातो कार्डबाट जोगिए ?
प्रतियोगिताको सुरुआतमै मेस्सीले एइसा मान्डीमाथि गरेको ट्याकलका लागि कार्डसमेत पाएनन् ।
पछि त्यस्तै प्रकृतिको ट्याकलका कारण फ्रलोरिन बालागुन लाई भिएआरसमीक्षा पछि रातो कार्ड देखाइएको थियो । दुवै घटनामा विपक्षी खेलाडीको माथिल्लो पिँडुलामा सम्पर्क भएको थियो ।
यदि मेस्सी त्यतिबेला रातो कार्ड पाएर निलम्बित भएका भए उनले अल्जेरिया, अस्ट्रिया र जोर्डनविरुद्ध गरेका पाँच गोल गर्न पाउने थिएनन् ।
यसले मेस्सीलाई विशेष व्यवहार गरिएको हो कि भन्ने प्रश्न उठाएको समाचारहरुमा उल्लेख छ ।
अर्जेन्टिनाले कम पहेँलो कार्ड पाइरहेको छ ?
क्वार्टरफाइनलअघि १७ खेलाडीले एक थप पहेँलो कार्ड पाए सेमिफाइनल गुमाउने जोखिममा छन् । अर्जेन्टिनाबाट केवल गोन्जालो मोन्टेइलमात्र यस्तो जोखिममा छन् ।
यस प्रतियोगितामा अर्जेन्टिनाले प्रत्येक १९.७ फाउलमा एउटा पहेँलो कार्ड पाएको छ ।
यस हिसाबले केवल तीन टोली—चेक गणतन्त्र, नर्वे र ट्युनिसियाले मात्र अर्जेन्टिनाभन्दा कम अनुपातमा कार्ड पाएका छन् । उता इङ्गल्याण्डले प्रत्येक ७.७ फाउलमा एउटा पहेँलो कार्ड पाएको छ ।
अर्जेन्टिनाले इंग्ल्यान्डभन्दा बढी फाउल गरे पनि उसले आधा मात्र पहेँलो कार्ड पाएको तथ्यांकले रेफ्रीहरूको व्यवहारमाथि प्रश्न उठाएको छ । फिफाले विगतमा पनि मेस्सीलाई प्राथमिकता दिएको थियो ?
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले मेस्सीलाई आफ्ना प्रतियोगितामा भरी देख्न रुचाउने गरेको आरोप यसअघि पनि लागेको थियो । गत वर्ष अमेरिकामा भएको पहिलो क्लब विश्वकपमा आयोजक राष्ट्रको प्रतिनिधित्व गर्ने टोली छनोट गर्दा प्लेअफ च्याम्पियन नभएपनि इन्टर मियामीलाई छनोट गरिएको थियो ।
त्यसबाट मेस्सीले उद्घाटन खेल खेल्ने अवसर पाएका थिए ।
विश्वकपको ड्र पनि अर्जेन्टिनाका लागि अनुकूल ?
गत डिसेम्बरमा फिफाले विश्वकप ड्रको संरचनामा सानो तर महत्वपूर्ण परिवर्तन गरेको थियो ।
विश्व वरीयताका शीर्ष चार टोली(फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्यान्ड)लाई फरक–फरक क्वार्टरमा राखिएको थियो । यसका कारण उनीहरू समूह विजेता बनेमा सेमिफाइनलअघि एकअर्कासँग खेल्नुपर्दैन ।

अर्जेन्टिनाले नकआउट चरणमा विश्व वरीयताको ६७औँ स्थानको केप भर्डे, २९औँ स्थानको इजिप्ट र अब १९औँ स्थानको स्विट्जरल्यान्डको सामना गरिरहेको छ ।
यता स्पेनले पोर्चुगल र बेल्जियमजस्ता बलिया टोलीसँग खेलिरहेको छ भने फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । यस आधारमा अर्जेन्टिनाले अन्य शीर्ष टोलीहरूको तुलनामा अपेक्षाकृत सहज यात्रा पाएको देखिन्छ ।
पेनाल्टीमा पनि अर्जेन्टिना अगाडि
२०२२ को विश्वकपमा अर्जेन्टिनाले पाँच पेनाल्टी पाएर नयाँ कीर्तिमान बनाएको थियो । २०२६ विश्वकपमा पनि अर्जेन्टिना तीन पेनाल्टीसहित सबैभन्दा अगाडि छ । यद्यपि मेस्सीले अस्ट्रिया र इजिप्टविरुद्ध दुई पेनाल्टी भने गोलमा परिणत गर्न सकेका छैनन् ।
इंग्ल्यान्ड र स्विट्जरल्यान्डले दुई–दुई तथा बेल्जियम, फ्रान्स र नर्वेले एक–एक पेनाल्टी पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
-
लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण