बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

साउदीभन्दा धेरै तेल, तैपनि यस्तो खराब हालतमा देश

शुक्रबार, २९ वैशाख २०७४, १४ : २४
शुक्रबार, २९ वैशाख २०७४

कारकास, वैशाख २९ – करिब दुई दशकअघि ह्युगो चाभेजले जुन भेनेजुएलालाई क्रान्तिको रथमा सवार भएर तेल कम्पनीहरुको माकुराको जालबाट बाहिर निकालेका थिए, त्यो देश अहिले खराब स्थिति र अप्ठ्यारो बाँदलले घेरिएको छ जसबाट उम्कने बाटो देखिन छाडेको छ ।

चाभेजका उत्तराधिकारी निकोलस मडुरोको नीतिले देश आर्थिक संकटको साथै राजनीतिक संकटबाट गुज्रिरहेको छ ।

चाभेजले देशको बागडोर सम्हालेपछि देशका बहुसंख्यक जनतलाई मूलधारमा ल्याउन सरकारी ढुकुटीको मुख खोलेका थिए । गरीबको स्वास्थ्य, शिक्षा र आधारभूत आवश्यकता पूरा गर्न चावेजले तेल कम्पनीहरुसँग राजश्वमा ठूलो हिस्सा मागे र त्यसलाई खुल्ला हृदयले खर्च गरे ।

भेनेजुएलामा रहेका भारतीय राजदूत दीपक भोजवानी बताउँछन्, ‘ राष्ट्रपति बनेपछि ह्युगो चाभेजले देशको नक्शा नै परिवर्तन गरे । कयौँ कम्पनीहरुको राष्ट्रियकरण भयो, कर बढाएर गरीबको स्वास्थ्य, शिक्षा र आवासमा सरकारी खर्चले ठूलो राहत दियो ।

अन्तर्राष्ट्रिय बजारमा जब तेलको मूल्य बढ्दासम्म त्यहाँ ठीकठाक थियो । तर, तेलका मूल्यमा गिरावट आयो, समस्याको पहाड विकराल बन्न पुग्यो । यतिबेला महंगाई आकाशिएको छ, मानिसहरु दैनिक उपभोग्य सामग्री पाइरहेका छैनन् भने अर्थव्यव्यवस्थाको मेरुदण्ड मानिएको तेलको उत्पादन हरेक दिन कम हुँदै गइरहेको छ ।

भोजवानी भन्छन्, ‘त्यहाँ तेलबाहेक अन्य घरेलु उद्योग छैन । सबै कुराको आयात गर्नुपर्छ । तेलको मूल्यमा गिरावट आएपछि मानिसहरुसँग पैसा छैन । केही आमदानी नभएपछि आयातको लागि कहाँबाट पैसा आओस् ? औषधि र दैनिक उपभोग्य सामान पनि पाइएको छैन ।’

साउदी अरबभन्दा धेरै तेल

भेनेजुएलामा साउदी अरबभन्दा बढी तेलको भण्डार रहेको छ । तर, यहाँको तेलको प्रकार अलिक फरक छ । यहाँको तेललाई भारी पेट्रोलियम भनिन्छ । यसलाई रिफाइन गर्न केही कठिन र खर्चिलो छ । त्यही भएर अन्य देशको तुलनामा भेनेजुएलाको कच्चा तेलको मूल्य अन्य देशको तुलनामा कम छ । भारत लगायत विश्वभरका कम्पनीहरु त्यहाँ तेल उत्खन्न गर्छन् ।

अन्य उद्योग छैन

चाभेजले सुधार कार्यक्रम लागु गर्दै तेल कम्पनीहरुलाई नियन्त्रणमा लिएका थिए तर कुनै अन्य उद्योग भने सञ्चालनमा ल्याउन सकेनन् ।

अहिले जब तेलको उत्पादन कम हुँदै गयो पछि त्यहाँको जनतासँग न काम छ न त आमदानीको अन्य उपाय । त्यही भएर यतिबेला यस्तो खराब स्थितिले देशलाई घेरेको हो ।

दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा स्कूल अफ फरेन स्टडिजका प्राध्यापक अब्दुल नाफे यसका लागि विदेशी कम्पनी र देशको मध्यमवर्गलाई पनि दोषी मान्छन् ।

उनी भन्छन्, ‘एक त सरकारको समाजिक खर्च निकै ठूलो छ, दोस्रो तर्फ तेल कम्पनी र मध्यमवर्गीय चाभेज विरोधीहरुले एक प्रकारको आर्थिक गृहयुद्ध शुरु गरेका छन् । पछिल्ला ६० वर्ष जसले तेलको नाफामा राज गरिरहेका थिए उनीहरुले विरोधी रवैया अपनाएका छन् । यदी यी व्यक्तिहरुको दृष्टिकोण सकारात्मक भएको भए स्थिति यति खराब हुने थिएन ।’

नजिकमाथि विश्वास

चाभेजले आफ्नो कार्यकालमा तेल कम्पनीको प्रबन्धमा भारी फेरबदल गरे । विदेशीलाई हटाएर उनले स्थानीय र आफूले भरोसा गर्नेहरुलाई मुख्य पदमा राखे । अहिले तेलसँग जोडिएको मामिलामा सरकारी कम्पनी पीडीवीएसएको दबदबा भए पनि अहिले त्यो आफै आफ्ना कर्जा तिर्न असमर्थ रहेको छ ।

केही विश्लेषकहरु चाभेजको नीतिबाट पनि तेल उद्योगलाई नोक्सानी भएको बताएँछन् । दीपक भोजवानी भन्छन्, ‘चाभेजले एक झट्कामा पीडीवीएसएबाट १८ हजारलाई निकालिदिए जसको कारण कम्पनीले गर्न सक्ने काम पनि गर्न पाएन । विदेशी कम्पनीमाथि कडाई गर्दा धेरै कम्पनी बाहिरिए । स्थानीय स्तरमा तेलको रिफाइन गर्ने क्षमता पनि विकसित भइसकेको थिएन । जहाँ पहिले ३० लाख ब्यारल तेल दैनिक निस्किन्थ्यो अब त्यहाँ अढाई लाख ब्यारल पनि तेल निक्लिदैन ।’

तर, चाभेजकै नीतिका कारण अन्य कयौँ देशहरुले त्यहाँ जाने मौका पाएका थिए जसमा भारत पनि एक हो ।

नकारात्मक राजनीति

संकटको यस घडीमा भेनेजुएलाका जनता देशको राजनीतिलाई पनि नकारात्मक भूमिकामा हेरिरहेका छन् ।

सत्ताको बागडोर यतिबेला चाभेज निकट रहेका निकोलस मडुरोको हातमा छ । जानकार मान्छन् कि मडुरोसँग चाभेज निकट हुनबाहेक अन्य खुबी थिएन । जसले गर्दा उनले न त अहिले राजनीति सम्हाल्न सकिरहेका छन् न त तेल कारोबार ।

राज्य सभामा विपक्षी दलको बोलबाला रहेको छ । उनले आफ्नो अधिकार बढाउने प्रयास गर्ने बित्तिकै विरोध प्रदर्शनको सिलसिला शुरु भएको छ । चाभेजले मडुरोलाई आफ्नो उत्तराधिकारी त बनाए तर उनमा आफूजस्तै चमत्कारिक गुण भर्न सकेनन् जसबाट उनले समस्याको हल निकाल्न र देशलाई एक जुट बनाउन सकून् ।

संविधान संशोधनले कुरा झन् बिग्रियो

मडुरोले नयाँ संविधानसभाको गठनको कुरा गरे मामिला झन् खराब गरे । अब्दुल नाफे भन्छन्, ‘दुवै पक्षले अतिशयवादी रुप धारण गरेका छन्, विपक्षी मध्यस्तताको प्रयास अस्वीकार गरिरहेका छन् भने उता मडुरो देश जुन हालमा पुगे पनि सत्ता छाड्न तयार छैनन् । त्यसमाथि संविधान संशोधनको कुरा गर्न झन् दुःखद हो । सन् १९९९ मा नै त संविधान बनेको हो । मडुरोले यो गल्ती गरे ।’

मडुरोको नीतिको देशबाहिर पनि विरोध भइरहेको छ । ल्याटिन अमेरिकी देशहरुको साथै अमेरिका पनि लोकतान्त्रिक प्रक्रिया कमजोर भएको भन्दै चिन्ता व्यक्त गरिरहेको छ र प्रतिबन्ध लगाउने सम्मको तयारी गरिरहेको छ ।

भेनेजुएलाको संकट छिमेकी देशहरुका लागि चुनौती बन्न सक्छ । सबैभन्दा ठूलो चिन्ता तेल भण्डारलाई लिएर छ ।

यस्तो खराब अवस्थामा कुनै मजबुत नेता पनि देखिएका छैनन् जसले देशलाई यो अवस्थाबाट निकाल्न सकोस् ।

बिबिसीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप