शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

महानगरपालिका बनेपछि विराटनगरमा आज दीपावली

मङ्गलबार, ०९ जेठ २०७४, ०८ : २६
मङ्गलबार, ०९ जेठ २०७४
विराटनगर - विराटनगर महानगरपालिका बनेपछि स्थानीय हर्षित भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले विराटनगर उपमहानगरपालिकाको स्तरोन्नति गरी महानगरपालिकामा परिणत गरेको निर्णय गरेपछि स्थानीय हर्षित भएका हुन् । लामो इतिहास बोकेको विराटनगर महानगरपालिका बनाउनका लागि विभिन्न राजनीतिक दलका नेता, सांसद, व्यापारिक सङ्घ सङ्गठन, सामाजिक संस्था लामो समयदेखि प्रयासरत रहेका कारण पुरानो नगरी विराटनगर महानगरपालिका बनेको हो । दुई लाख १४ हजार जनसङ्ख्या रहेको विराटनगरमा अब टङ्कीसिनुवारी गाउँका करिब २० हजार र जहदा–३ का आठ हजार जनसङ्ख्यालाई समावेश गरिने भएको छ । १९ वडा रहेको विराटनगरका केही वडाको सङ्ख्या बढ्नुका साथै जनसङ्ख्या दुई लाख ४० हजारको हाराहारीमा जनसङ्ख्या पुग्ने अनुमान गरिएको छ । विराटनगरलाई महानगरपालिका बनाउने घोषणा गरेकोलगत्तै मोरङ व्यापार सङ्घले आज साँझ विराटनगरमा दीपावली मनाउन व्यापारीलगायत नगरवासीसँग अपिल गरेको छ । सो सङ्घले एक विज्ञप्ति जारी गरी सरकारको सो निर्णयको हार्दिक स्वागत गर्नुका साथै महानगरपालिका बनाउनका लागि सहयोग गर्ने विभिन्न राजनीतिक दल र नगरवासीप्रति आभार प्रकट गरेको छ । यसका साथै आगामी दिनमा पनि जनहितका लागि हुने कार्यमा सङ्घ सदैव अग्रसर रहने प्रतिबद्धतासमेत प्रकट गरेको छ । विराटनगरलाई महानगरपालिका बनाउनका लागि सांसद अमृत अर्याल, ऋषिकेश पोखरेल, पवन शारडा, अमन मोदीलगायतका सांसद एवम् मोरङका अन्य सांसद एवम् नेताको अहम् योगदान रहेको छ । राजनीतिक एवम् औद्योगिक क्षेत्रको केन्द्रबिन्दुको रुपमा रहेको विराटनगर अब चार महानगर– काठमाडौँ, ललितपुर, भरतपुर र पोखराको स्तरमा पुगेको देख्दा यहाँका स्थानीय आफूलाई गौरवान्वित महसुस गर्न थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप