शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सदरमुकाममै कुपोषित छन् बालबालिका

मङ्गलबार, ०९ जेठ २०७४, ०९ : ०१
मङ्गलबार, ०९ जेठ २०७४
रोल्पा - सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवन मरणको दोसाँधमा छन् । यसरी कुपोषित हुने बालक हुन् –विवेक विक । उमेर दुई वर्ष भएपनि उनी बस्न सक्दैनन् । बाबु श्यामलाल विक मजदुरी गर्न बिहानै बजारतिर जान्छन् । बाबु मजदुरीबाट नफर्कुञ्जेल बन्द कोठामा एकोहोरिएर सुतिरहन्छन् उनी । ओछ्यानमै दिसापिसाब गर्छन् । भोक प्यास लागेपनि उनलाई खान दिने न कोही हुन्छ न त खाने कुरा नै । दाजु विकास विवेकभन्दा एक वर्ष मात्र जेठा छन् । भाइलाई कोठामै राखेर घरको ढोका बन्द गरी बुबा गएपछि विकास पनि बाहिर धुलो र ढुङ्गालाई साथी बनाएर दिनभरि खेलिरहन्छन् । बाबु समयमै घरमा आए खान पाउँछन् नत्र उनी पनि दिनभर भोकभोकै हुन्छन् । चालीस वर्ष उमेर पुगिसकेका श्यामलालले चार वर्षअघि मिझिङ रोल्पाकी अप्सरा कामीसँग विवाह गरे । सुनार दम्पतीले दुई छोरा जन्माए । वर्षौंते दुई छोरा जन्माए पनि आर्थिक समस्याका कारण उनीहरुले राम्रोसँग स्याहार गर्न सकेनन् जसका कारण दुवै छोरालाई कुपोषण भयो । विभिन्न निकायको सहयोगमा कुपोषित छोरालाई शिशु स्याहार केन्द्र दाङमा लगी भर्ना गरे । पोषण पुनःस्थापना केन्द्रमा दुई महिना बसेका उनीहरु पोषित भएपछि श्यामलालले घर फिर्ता लिएर आए । छोराहरुलाई घरमा ल्याए पनि श्रीमती भने घरमा थिइनन् । श्रीमतीका बारेमा लामो समयसम्म सोधीखोजी गरे । “कसैले काठमाडौँमा इँटाभट्टामा काम गर्न गएको भनिदिए भने कसैले पोइल गई भने, तर म भने छोराको मायाले एक दिन पक्कै आउली भनेर बाटो हेरिरहेँ, तर चार महिना बितिसक्दा समेत श्रीमती आइन,” उनले दुखेसो पोखे । छोराहरुलाई स्याहार गर्ने कि ज्याला मजदुरी गरेर खाने ? घरमा कोही छैनन्, काममा जाँदा छोराहरुको स्याहार गर्ने मान्छे हुँदन । छोराको स्याहार गर्न घरमा बस्दा भोकभोकै बस्नुपर्छ । सुनारले गम्भीर हुँदै भने । नगरपालिकाले दलित बालबालिकाको पोषण सुधारका लागि मासिक रु २०० भत्ता दिने भएका कारण दुई छोराको भत्ताबाट केही दिन गुजारा चल्ने गरेको उनले बताए । नगरपालिकाले दिएको रु तीन हजार २०० भत्ताबाट रु एक हजार ५० को चामल लिएर खाइरहेका छौँ । बचेको भत्ता चाडपर्वमा मासु खाँदा लागेको ऋण तिर्दा सकिएको उनले बताए । बालबालिकाको ८० प्रतिशत दिमागको विकास दुई वर्षमुनि नै भइसक्ने भनिएपनि विकास र विवेक सुनारले भने पेटभरि खान समेत पाइरहेका छैनन् । पोषण र बालअधिकारको क्षेत्रमा काम गर्ने बग्रेल्ती सङ्घसंस्था भएपनि विकास र विवेक भने खान नपाएर जीवनमरणको दोसाँधमा छन् । पोषण सप्ताह भन्दै तारे होटेलमा ठूलठूला कार्यक्रम भइरहेको विचरा विकास र विवेकलाई के थाहा १ बाबुले मजदुरी गरेर ल्याएको पैसाले किनेको सडेको चामलको भात नै अबोध विकास र विवेकको ‘पोषण’ हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप