अतिसङ्कटापन्न डङ्गर गिद्धको सङ्ख्या बढ्दै
भीष्मराज ओझा
काठमाडौँ, ९ जेठ । पछिल्लो अध्ययनानुसार नेपालमा पाइने गिद्धमध्ये अतिसङ्कटापन्न सूचीमा रहेको डङ्गर गिद्धको सङ्ख्या बढ्दो क्रममा छ ।
पछिल्ला चार वर्ष सन् २०१४, २०१५, २०१६ र २०१७ मा गरिएको सर्वेक्षणमा डङ्गर गिद्धको सङ्ख्या बढेर क्रमशः ६८, ७१, ७४ र १११ देखिएको छ । सन् २००२ को सर्वेक्षणमा नेपालमा २०५ डङ्गर गिद्ध भेटिएको र त्यो सङ्ख्या सन् २००९ मा घटेर ५२ को सङ्ख्यामा झरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पक्षी संरक्षण सङ्घ र संयुक्त अधिराज्य बेलायतको आरएसपिबीको सहयोगमा हरेक वर्ष सर्भेक्षण गरिन्छ । सर्वेक्षण टोलीले यही वैशाख १९ देखि २९ गतेसम्म गिद्धको बाह्रौँ वार्षिक राजमार्ग ट्रान्स्जेक्ट सर्भे गरेको थियो । टोलीले तराईको पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढबाट सुरु गरी कञ्चनपुरको गड्डाचौकीसम्म करिब ५६० किमी राजमार्गमा सर्भेक्षण गरेको हो । नेपालमा विधिवत् रुपमा गिद्धको अध्ययन अनुसन्धान तथा संरक्षणको थालनी सन् २००२ को राजमार्ग ट्रान्स्जेक्ट सर्वेक्षणदेखि भएको हो ।
पूर्वपश्चिम राजमार्गका अतिरिक्त पश्चिमी पहाडी क्षेत्रमा अवस्थित सडक सञ्जाल जस्तैः सल्यान, रुकुम, रोल्पा, प्युठान, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङ्जा, कास्की र तनहुँमा पनि सर्वेक्षण गरिएको पक्षी संरक्षण सङ्घ, गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्णप्रसाद भुसालले बताए ।
सो सर्वेक्षण प्रत्येक वर्ष अङ्ग्रेजी मेमा गरिन्छ । सो कार्यका लागि प्रयोग गरिने गाडी २० किमी प्रतिघन्टाको गतिमा राजमार्गमा चलाइन्छ । सर्वेक्षणअन्तर्गत राजमार्गका दुवैतिर एक हजार मिको दूरीसम्म देखिएका गिद्धको पहिचान गरी अभिलेख राखिन्छ ।
विभागले सन् २००९ प्रथम र सन् २०१५ मा नवीकरण गरी ‘गिद्ध संरक्षण कार्ययोजना’ लागू गरेको छ । ‘गिद्ध सुरक्षित क्षेत्र’ को अवधारणा सफल पार्न अहिले ५६ जिल्ला समेटी एक लाख १६ हजार ४३० वर्ग किमी क्षेत्रमा पशु उपचारमा डाइक्लोफेनक मुक्त क्षेत्र घोषणा गरिएको पक्षी संरक्षण सङ्घका प्रमुख कार्यकारी अधिकृत डा नरेन्द्रमानबाबु प्रधानले जानकारी दिए।
दक्षिण एसियामा सन् १९९० देखि गिद्धको सङ्ख्या नाटकीय ढङ्गबाट घटिरहेको छ । भारतमा १५ वर्षका अन्तरालमा डँगर गिद्धको सङ्ख्या ९९।९५ प्रतिशतले घटेको देखिएको छ । नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये पाँच प्रजातिका गिद्ध नेपालबाट मात्रै नभएर विश्वबाट नै लोप हुने खतरामा छन् । नेपालमा सेतो, हिमाली, हाडफोर, राज, खैरो, डँगर, सानो खैरो, सुन र लामो ठुँडे गिद्ध पाइन्छन् । तीमध्ये डँगर, सानो खैरो, सुन र लामो ठुँडे गिद्ध अतिसङ्कटापन्न सूचीमा छन् ।
गिद्धको अप्राकृतिक विनाशका कारण पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनक नै प्रमुख कारक तत्व हो भने हाल गिद्धलाई हानि नगर्ने डाइक्लोफेनकको सट्टा प्रमाणित रुपले सुरक्षित मानिएको मेलोक्सिक्याम उत्पादन भइसकेको छ । पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनक नेपाल, भारत र पाकिस्तानमा सन् २००६ मा प्रतिबन्धित भए पनि यसको अवैधानिक प्रयोग र अन्य हानिकारक पीडानाशक औषधि निमुस्लाइड, किटोप्रोफिन, एसिक्लोफेनक औषधिको प्रयोगबाट दक्षिण एसियामा अझै पनि गिद्ध ह्रास भएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण