सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

एक्ला व्यक्तिको हमलाले म्यान्चेस्टरको कन्सर्टमा २२ को मृत्यु, ५० घाइते

मङ्गलबार, ०९ जेठ २०७४, १५ : ०२
मङ्गलबार, ०९ जेठ २०७४

बीबीसी

जेठ ९ – सोमबार राती म्यान्चेस्टर शहरमा भएको पप कन्सर्टमा भएको हमलामा मारिनेको संख्या बढेर २२ पुगेको छ भने लगभग ५० घाइते भएका छन् ।

पुलिसका अनुसार त्यो आत्मघाती हमला थियो र एक्ला हमलाकर्ताको पनि मृत्यु भएको छ ।

चुनावको दुई हप्ता पहिले भएको यो बिस्फोटपछि सबै ठूला राजनीतिक दलले चुनाव अभियान स्थगित गर्ने घोषणा गरेका छन् । ब्रिटेनमा जून ८ मा चुनाव छ जसको अभियान जोडतोडले चलिरहेको थियो ।

बिस्फोटबारे अहिलेसम्म उपलब्ध जानकारीः

– बिस्फोट म्यान्चेस्टर एरिनामा भएको हो जुन शहरको सबैभन्दा ठूलो इन्डोर स्टेडियम हो ।

– २२ को मृत्यु, लगभग ५० घाइते

– अमेरिकी पपस्टार आरियाना ग्रान्डेको कन्सर्ट पछि भयो बिस्फोट

– बिस्फोट राती साढे १० बजे भयो

– पुलिसले यो आत्मघाती हमला बताएको छ

– ब्रिटेनकी प्रधानमन्त्री टेरिजाले कोबरा बैठक बोलाइन्

– बेलायती पुलिस यसलाई आतंकवादी घटना मानिरहेको छ

– सबै ठूला पार्टीले चुनाव अभियान स्थगित गरे

कार्यक्रम लगत्तै भयो बिस्फोटः

बिस्फोट म्यान्चेस्टर एरिनामा भयो जहाँ चर्चित अमेरिकी गायिका आरियाना ग्रान्डेको पप कन्सर्ट भइरहेको थियो । उनी स्टेजबाट गएको केही समयपश्चात् बिस्फोट भएको थियो ।

२३ वर्षीया आरियाना ग्रान्डे अमेरिकामा टेलिभिजनको कलाकार हुन् जो पछि ठूलै पपस्टार बनिन् । उनी विशेषगरी किशोरी र बच्चामाझ लोकप्रिय छिन् ।

प्रत्यक्षदर्शीले के देखे ?

प्रत्यक्षदर्शीका अनुसार उनीहरुले दुई बिस्फोटको आवाज सुनेका छन् ।

थुप्रै प्रत्यक्षदर्शीले बिस्फोटपछि मानिसहरु डराएको र घटनास्थल कस्तो देखिएको थियो भन्ने वर्णन गरे ।

२२ वर्षीय रोबर्ट टेम्पकिनले भने, ‘सबैजना चिच्याइरहेका थिए र दौडिरहेका पनि । मानिसहरुको कोट र फोन भुइँमा थिए । मानिसहरु सबैकुरा छोडेर भागिरहेका थिए । ’

‘केही मानिसहरु आफूले रगत देखेको भनेर चिच्याइरहेका थिए भने कोहीले उक्त आवाज बेलुन फुटेको आवाज भनिरहेका थिए भने कतिले स्पिकर पड्किएपछि निस्किएको आवाज भने ।’

जोश एलियोटले बीबीसीसँग कुराकानी गर्दै उनी मृत्युको रिपोर्ट सुनेपछि स्तब्ध भएको बताए ।

उनले भने, ‘एक ठूलो बिस्फोट भयो, सबैजना उभिए र चिच्याउन थाले । हामी त भुइँमा पल्टियौं । स्थिती निकै तनावपूर्ण थियो ।’

उनी भन्छन्, ‘जब हामीलाई स्थिती सुरक्षित भएको महसुस भयो तब हामी उठ्यौं र जतिसक्दो चाँडो त्यहाँबाट निस्कियौं ।’

‘मानिसहरु रोइरहेका थिए । जताततै पुलिसको गाडी देखिएको थियो । हामी सकेसम्म त्यहाँबाट चाँडोभन्दा चाँडो निस्कन चाहन्थ्यौं किनभने हामीलाई थाहा थिएन कि त्यहाँ के भइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप