नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
सारांश
- नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूलाई डिजिटल रूपमा अध्यावधिक गर्ने काम सम्पन्न गरेको छ ।
- पार्टीको सदस्यता प्रणालीलाई डिजिटलाइज्ड गर्न, सञ्चार सहज बनाउन र अभियानहरूमा सदस्यहरूलाई सूचना पुर्याउन यो कदम चालिएको हो ।
- डिजिटल अध्यावधिकले सदस्यहरूको नाम, ठेगाना, फोन नम्बर, सामाजिक सञ्जाल आईडी, उमेर, परिवारको मतदाता संख्या, विदेशमा रहेका सदस्यहरूको विवरण लगायत निर्वाचन प्रयोजनका लागि आवश्यक जानकारीहरू अद्यावधिक गरेको छ ।
नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूलाई डिजिटल रूपमा अध्यावधिक गर्ने काम सम्पन्न गरेको छ । कागजमा रहेको कांग्रेसको सदस्यतासम्बन्धी विवरणलाई डिजिटलाइज्ड गर्न हामीले यो महाअभियान सुरु गरेका हौँ । यसमा पहिलो कुरा, हामीले नेपाली कांग्रेसको सदस्यताको रेकर्ड प्रणालीलाई समय सापेक्ष तरिकाले सुधार गर्न खोजेका हौँ । अर्को शब्दमा भन्नुपर्दा हामीले पार्टीको सदस्यता प्रणालीलाई डिजिटलाइज्ड गर्न खोजेका हौँ ।
अहिलेम्म हाम्रो रेकर्ड प्रणाली डकुमेन्टमा थियो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ललितपुरको सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला कार्यालयहरू जल्दा डकुमेन्टमा रहेको रेकर्ड प्रणाली पनि जल्यो । त्यतिमात्र होइन, हाम्रा पार्टीका अन्य रेकर्ड पनि त्यो बेलामा ध्वस्त भए । पुराना ती रेकर्ड अब फेरि हामीले खोज्दा भेटिने स्थिति त हुँदैन । त्यसैले यो डिजिटल प्रणालीमा हामीले हाम्रो रेकर्डलाई रूपान्तरण गर्न खोजेका हौँ ।
दोस्रो कुरा, अहिलेको डिजिटलाइज्ड समयमा कुनै पनि संस्थामा डिजिटल नेटवर्क भएन भने फस्टाउन सक्ने सम्भावना कम छ । डिजिटल रूपमा त्यस संस्थामा आबद्धहरू एक–आपसमा जोडिने स्थिति भएन भने त्यो संस्थाको अस्तित्व हुन सक्दैन । आज सबै संस्थाको चुनौती भनेको डिजिटल कनेक्टिभिटीको विषय नै हो । त्यसैले हामीले नेपाली कांग्रेससँग आबद्ध सबैलाई डिजिटल रूपमा जोड्न यो महाअभियान सञ्चालन गरेका हौँ । कांग्रेसका सदस्यहरूलाई, शुभेच्छुकहरूलाई आवश्यक परेका बेलमा डिजिटल रूपमै सम्पर्क गर्न सक्नेगरी जोड्न खोजेका हौँ ।
तेस्रो कुरा, नेपाली कांग्रेस पार्टी हो । यसले विभिन्न अभियान समय–समयमा सञ्चालन गर्छ । त्यो अभियानका बारेमा पार्टीका सदस्यहरूलाई पटक–पटक सूचना पुर्याउनुपर्ने हुन्छ । पार्टी बैठकले गरेका निर्णयहरूको सूचना पुर्याउनुपर्ने हुन्छ । कुनै विषयमा राष्ट्रव्यापी रूपमा जनमत लिनुपर्ने बेलामा पहिला आफ्नै साथीहरूको अभिमत लिनुपर्ने हुन्छ । त्यो अभिमत लिनका निम्ति डिजिटल्ली कनेक्ट भएपछि त्यो पार्टीभित्रका साथीहरूको धारणा बुझ्ने सजिलो स्थिति बन्छ । त्यसैले यो नेतृत्वले सदस्यसँग, सदस्यले नेतृत्वसँग अथवा पार्टीका सम्पूर्ण सदस्यले पार्टीसँग संवाद गर्ने सजिलो परिस्थिति निर्माण गर्नका लागि यो अभियान चलाइएको हो ।
डिजिटल रूपमा सदस्यता अध्यावधिक गर्ने अभियान सञ्चालन गर्नु अगाडि क्रियाशील सदस्यतासम्बन्धि स्थिति के थियो भने हाम्रो रेकर्ड प्रणालीमा सदस्यहरूको नाम थियो, ठेगाना थियो । त्यो नाम र ठेगानाले डिजिटल कनेक्टिभिटी त्यति सजिलो हुने स्थिति थिएन । अब हामीले सदस्यता अध्यावधिक गर्दा फोन नम्बर अथवा ह्वाट्सएप नम्बर लिएका छौँ । सामाजिक सञ्जालको आईडी पनि हामीले उपलब्ध भएसम्म लिएका छौँ । अब हाम्रा सदस्यहरू कुन उमेरको हुनुहुन्छ, त्यो तथ्याङ्क पनि हामीले लिएका छौँ । हाम्रा सदस्यहरूको परिवारमा मतदाता कति हुनुहुन्छ ? अनि त्यसपछि देशमा विदेशमा को–को हुनुहुन्छ ? त्यो सबै रेकर्ड हामीले सदस्यता अध्यावधिकका क्रममा लिएका छौँ । निर्वाचन प्रयोजनका लागि एउटा सदस्यको भूमिका के–के कुरामा हुन सक्छ र त्यो सदस्यलाई त्यसको जानकारी कसरी गराउन सकिन्छ भनेर हामीले आवश्यक पर्ने सदस्यको जानकारी अध्यावधिक मार्फत लिएका छौँ ।
अहिले हाम्रो पार्टी संगठनको संरचनाभित्र हजारौँ बुथ समिति छन् । ६ हजार ७४३ वडा समिति छन् । ७५३ पालिका समिति छन् । प्रदेश निर्वाचन क्षेत्र समिति छन् । ७७ जिल्ला कार्यसमिति, ७ वटा प्रदेश समिति र केन्द्र गरी सातै तहमा हामीले यो डिजिटल रेकर्डको विकास गरेका छौँ । उनीहरूसँग डिजिटल रूपमा कनेक्ट भएर हुने सिस्टम पनि विकास गरेका छौँ । जस्तो अहिले हामीले यो अध्यावधिकको समय कहिलेसम्म हो, यो अध्यावधिकका निम्ति अपडेट कसरी गर्न सकिन्छ, यो सबै कुरा उहाँहरूसँग डिजिटल रूपमा कनेक्ट भएर गरेका हौँ । जस्तो हाम्रो केन्द्रीय सभापतिले देशैभरिका नेपाली कांग्रेसका क्रियाशील सदस्यहरूलाई केही कुरा सन्देश दिन चाहनुभयो, कुनै विषयको धारणा हाम्रो यस्तो हो, यही अनुसार यसलाई ‘फलो’ गर्नुहोला भन्न चाहनुहुन्छ भने उहाँको एउटा भिडियोले त्यो सबै साथीहरू कहाँ पुग्ने स्थिति हुन्छ । त्यसैले संगठनको संरचनाभित्र जिम्मेवारीमा रहनुभएका सबैको वास्तविक डिजिटल रेकर्ड लिएर उहाँहरूसँग डिजिटल रूपमा कनेक्ट हुने पद्धतिको विकास गरेका छौँ ।
यो अध्यावधिक भन्ने बित्तिकै के हुन्छ भने हामीहरूमध्ये कोही कसैको मृत्यु भएको थियो अथवा कोही अरु पार्टीमा जानुभएको थियो, कसैमाथि कारबाही भएको छ भने उहाँहरूको रेकर्ड हाम्रो प्रणालीबाट हटाएर अहिलेको ताजा सूची अपडेट गर्ने विषय हो । कसैको ठेगाना परिवर्तन भएको छ भने पनि सबै कुरा पछिल्लो चरण अपडेट हुने परिस्थिति अध्यावधिकबाट बनेको छ ।
- राजनीतिक मुद्दा बनाउने प्रयास किन ?
गत पुस २७ देखि ३० गतेसम्म भएको हाम्रो पार्टीको विशेष महाधिवेशनमा सबै नेता–कार्यकर्ता सहभागी हुनुहुन्नथ्यो । सहभागी नहुनुभएकाहरूले यो नेतृत्वप्रति आशङ्का व्यक्त गर्ने मुद्दा बनाउन खोज्नु भएको हुनसक्छ । आशङ्का छ भनेर पार्टीलाई हित हुने काम यो नेतृत्वले गर्यो, त्यसकारण विरोध गर्नुपर्छ भनेर विरोध गर्नु उपयुक्त होइन । विशेष महाधिवेशनबाट आएको नेतृत्वले राम्रो काम गर्यो, पार्टीलाई चाहिने काम गर्यो, पार्टीलाई लाभैलाभ, फाइदैफाइदा हुने काम गर्यो, त्यसैले मेरो विचारमा अब त्यसलाई जस जान्छ भनेर त्यसको विरोध गर्नुपर्ने कारण छैन ।
यसलाई कुनै राजनीतिक मुद्दा बनाइरहनुपर्ने पनि कारण छैन । विशेष महाधिवेशनमा सहभागी नहुनुभएका नेताहरू साथीहरूले केही राजनीतिक मुद्दाहरू उठाउनुभएको छ । ती कतिपय मुद्दा छलफल गर्न सकिने खालका पनि छन्, तर यसमा यो पनि मिसाउनुभएको छ । यो मिसाउनुपर्ने कुनै कारण छैन । डिजिटल रूपमा अध्यावधिक गर्ने विषयले पार्टीलाई कहीँ कतै अहित गर्दैन ।
हामीले विशेष महाधिवेशनबाट विधानमा व्यवस्था गरेर डिजिटल रूपमा क्रियाशील सदस्यता अध्यावधिकको महाअभियान सम्पन्न गरेका हौँ । विधानको धारा ४ मा यसको व्यवस्था गरिएको छ । विधान अनुरुप काम गर्नुलाई अनावश्यक कसरी भन्ने ?
(कांग्रेस महामन्त्री तथा पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक पौडेलसँग मधुसुधन भट्टराईले गरेको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण