शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

म्याग्दीका १०१ विद्यालयमा विद्यालय पुस्तकालय

शुक्रबार, १२ जेठ २०७४, ०८ : ४३
शुक्रबार, १२ जेठ २०७४
बेनी म्याग्दी - म्याग्दी जिल्लामा रहेका १०१ सामुदायिक विद्यालयमा विद्यालय पुस्तकालय स्थापना भएका छन् । रुम टु रिड नेपाल र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले म्याग्दीका सामुदायिक विद्यालयमा पुस्तकालयको स्थापना गरेपछि विद्यार्थीमा पढ्ने बानीको विकास भएको स्थानीयवासीले बताएका छन् । बिहीवार बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित फापरखेतको खड्ग भवानी आधारभूत विद्यालय र बेनपा–१ अर्जमको ज्ञानपुञ्ज आधारभूत विद्यालयमा पनि विद्यालय पुस्तकालय स्थापना गरिएपछि म्याग्दीका १०१ वटा विद्यालयमा पुस्तकालयको पहुँच पुगेको हो । विद्यालय पुस्तकालयको उद्घाटन गर्दै बेनपा–२ का नवनिर्वाचित वडा अध्यक्ष हिराबहादुर थापाले पुस्तकालयको प्रयोगले निरक्षरता उन्मूलनमा सहयोग पुगेको बताए । त्यस्तै, जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति दुर्गाराम सुवेदीले पुस्तकालयले आत्मनिर्भर बन्न र स्वतन्त्र पाठक बनाउन मद्दत पुगेको बताए । रुम टु रिड नेपालका कार्यक्रम अधिकृत मनोज सुवेदी, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका विद्यालय पुस्तकालय कार्यक्रम संयोजक हरिकृष्ण गौतमले पुस्तकालय कार्यक्रममार्फत गरिएका गतिविधि र भविष्यमा हुने सहयोगका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा अर्जुन मावि, भकुण्डेका प्रधानाध्यापक शिवकुमार खत्री, विद्यालयका पूर्व अध्यक्ष यामबहादुर कार्कीले पनि मन्तव्य राख्नुभएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप