शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चार नगरप्रमुखको रत्ननगरमा स्वागत

शुक्रबार, १२ जेठ २०७४, १० : ४५
शुक्रबार, १२ जेठ २०७४

चितवन, १२ जेठ । पूर्वी–चितवनको चारवटा नगरपालिकाका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखले पूर्वी चितवनको विकासका लागि संयुक्त कार्यक्रम गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

भविष्यमा यो क्षेत्रलाई महानगर बनाउने योजनासहित अहिलेदेखि नै कार्यक्रम अघि बढाइने उनीहरुको भनाइ छ ।

रत्ननगर उद्योग वाणिज्य सङ्घ, चितवनको आयोजनामा बिहीबार रत्ननगरमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले एउटा नगरपालिकालाई नहेरी पूर्वी चितवनका चारवटै नगरपालिकाको संयुक्त विकास आवश्यक भएको बताए ।

चितवनको टिकौलीदेखि पूर्व सबै नगरपालिकालाई छुनेगरी चक्रपथ निर्माण आवश्यक भएको उनको भनाइ छ । “सबैलाई समेटेर भविष्यमा महानगर बनाउनुपर्छ, भागबन्डाको राजनीतिबाट हामी सबै माथि उठ्न सक्नुपर्छ, वनले भने – यसतर्फ मेरो ध्यान जाने छ ।”

स्वागतपछि मन्तव्य दिँदै पूर्वसभासद् तथा चितवनको खैरहनी नगरपालिकाका नवनिर्वाचित प्रमुख लालमणि चौधरीले सामाजिक रुपान्तरण र आर्थिक समृद्धिका लागि सबै नगरपालिकाको हातेमालो आवश्यक भएको बताए ।

कृषि, पर्यटन र उद्योगको विकासका लागि योजना ल्याउने भन्दै उनले नगरको विकासमा अहोरात्र खटिने प्रतिबद्धता जनाए ।

यस्तै, राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले अब विकासको गतिले तीव्रता पाउने भन्दै जनभावनाअनुसार काम गरेर देखाउने बताए ।

चितवनको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले ग्रामीण पर्यटनको आधार क्षेत्र भएकाले त्यसतर्फ आफ्नो ध्यान जाने भन्दै सबै नगरपालिकासँगको सहकार्य जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा खैरहनीकी उपप्रमुख सुनिता खरेल, राप्तीका उपप्रमुख इमानसिंह लामा, कालिकाकी उपप्रमुख कमला भट्टराई र रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दवाडीले समेत मन्तव्य व्यक्त गरेका थिए ।

सो क्रममा रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले यहाँको विकासका लागि जननिर्वाचित प्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए ।

चितवनको पूर्व र पश्चिमको बीचमा टिकौली जङ्गल छ । यसको पूर्वी क्षेत्रमा रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका छन् । दक्षिणमा माडी नगरपालिका छ भने उत्तरपूर्वमा इच्छाकामना गाउँपालिका छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप