शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काँग्रेसले प्रदेश नं १ र ७ का अधिकांश उम्मेदवार टुङ्ग्यायो

शुक्रबार, १२ जेठ २०७४, २१ : ५३
शुक्रबार, १२ जेठ २०७४
काठमाडौँ, जेठ १२ – नेपाली काँग्रेसले यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ र ७ का अधिकांश जिल्लामा पार्टीका उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिनभर बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी एवम् प्रभावशाली केन्द्रीय सदस्यसहितको बैठकले प्रदेश नं १ र ७ मा केही जिल्लाबाहेक पार्टीका उम्मेदवार तय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बाँकी रहेका जिल्ला एवम् प्रदेश नं २ र ५ मा पार्टीका उम्मेदवारको टुङ्गो लगाउन बैठक भोलि बिहान बस्नेछ । काँग्रेसले निर्वाचनका लागि क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्ग्याउने अधिकार दिएको छ । क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा आउने व्यवस्था गरेको छ । केन्द्रीय समितिमा आएका विषयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यकोे समूहले निर्णय गर्ने गरेको छ । बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत पार्टीका प्रभावशाली केन्द्रीय सदस्यको उपस्थिति थियो । काँग्रेसले भोलि राजपा नेपालसँग छलफल गर्ने काँग्रेसले भोलि बिहान दोस्रो चरणको स्थानीय तहकोे निर्वाचनका सम्बन्धमा राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका शीर्ष नेतासँग छलफल गर्ने भएको छ । बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा काँग्रेसले राजपा नेपाललाई निर्वाचनमा सहभागी भई निर्वाचनलाई सफल बनाउन आग्रह गर्ने बताइएको छ । राजपा नेपालका शीर्ष नेताको आज बसेको बैठकले निर्वाचनमा सहभागी नहुने निर्णय गर्दै आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । विभिन्न माग राखी आन्दोलनरत राजपा नेपालका माग सम्बोधन गर्ने क्रममा सरकारले केही दिनअघिमात्र २२ स्थानीय तह थप गर्नेसहित स्थानीय तहको सीमाङ्कन फेरबदल गरेको थियो । जुन निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आज अन्तरिम आदेश जारी गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप