शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कृषि कर्म गर्न नर्वेबाट फर्किएका पौडेल माडीमा काँग्रेसबाट एक्लो वडा अध्यक्ष

शनिबार, १३ जेठ २०७४, १५ : ००
शनिबार, १३ जेठ २०७४
चितवन, १३ जेठ । नर्वेबाट उच्च शिक्षा हासिल गरी कृषि कर्म गर्न आफ्नै गाउँ माडीको गर्दिमा फर्किएका एक युवक माडी नगरपालिकाको वडा अध्यक्ष बनेका छन् । माडी नगरपालिका वडा नं १ का स्थानीयवासी ३९ वर्षीय कृष्णप्रसाद पौडेल वडा अध्यक्षमा निर्वाचित बनेका हुन् । गाउँले र पार्टीको पटक पटकको आग्रहपछि आफू वडा अध्यक्षमा उम्मेदवारी दिन तयार भएको पौडेलले बताए । सो नगरपालिकामा नेपाली काँग्रेसले एउटा वडामा मात्र अध्यक्ष जितेको छ । जित्ने व्यक्ति पौडेल हुन् । काठमाडौं विश्व विद्यालयबाट गणित विषयमा स्नातकोत्तर गरी नर्वेको युनिभर्सिटी अफ ओस्लोबाट उनले एमफिल समेत गरेका छन् । छ वर्षको नर्वे बसाइँपछि झन्डै दुई वर्षअघि कृषि र पशुपालन गर्न उनी आफ्नै गाउँ गर्दि आएका हुन् । उनले भने – “काँग्रेसको क्रियाशील सदस्य पनि म होइन, समर्थक मात्र हो । पार्टीका साथीले दुई पटकसम्म आग्रह गर्दा अस्वीकार गरेको थिएँ । सबैको दबाब परेपछि उठेको हुँ ।” जित हासिल गरिसकेपछि भने आफूले नर्वेमा सिकेका सीपलाई समेत प्रयोग गरेर गाउँ बनाउने उनको योजना छ । काठमाडौँंका विद्यालयमा करिब १० वर्ष र काठमाडौँ विश्व विद्यालयमा दुई वर्ष ६ महिना पढाउनुभएका पौडेलले फर्किएपछि मासिक रु एक लाख भन्दा बढी तलबको प्रस्तावसहित नेपालमा धेरै काम पाएको भए पनि कृषि कर्म गर्नकै लागि आफू गाउँ आएको बताए । माडी आएपछि उनले आफ्नो पाँच बिगाहा जग्गामध्ये तीन बिगाहामा बीउका लागि गहुँ लगाएका छन् । निकट भविष्यमै ५० वटा भैँसी पाल्ने उहाँको योजना छ । नर्वेमा झै जमिन विभाजन गरेर विकास निर्माण गर्ने र युवालाई लक्ष्य गरी कृषि र पशुपालनमा लगाउन सामूहिक मेगा कृषि परियोजना सुरु गर्ने उनको सोच रहेको छ । माडीका जनता सबैभन्दा बढी निकुञ्जका वन्यजन्तुबाट प्रभावित भएको र यसका लागि बस्ती र निकुञ्ज जोड्ने ६ किलोमिटर क्षेत्रमा तारजाली लगाउने आफ्नो योजना रहेको पनि उनले बताए । गाउँ फर्किएपछि साथीसँग मिलेर उनले माडी यातायात प्रालि स्थापना गरी भरतपुर–माडी बस सेवा सुरु गरेका थिए । यसको पौडेल महासचिव हुनुहुन्छ । उच्च शिक्षापछि निकुञ्ज पारिको बस्ती माडी छाड्ने युवाका लागि पौडेल प्रेरणाको स्रोत रहेको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्रीसमेत रहेका माडिवासी हरि पौडेल बताउँछन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप