सहकारीको पहलमा चिया कारखाना
आइतबार, १४ जेठ २०७४, ०९ : २६
इलाम - सूर्योदय नगरपालिकाको फिक्कलमा रहेको इलामेली चिया उत्पादक सहकारी संस्थाले आफ्नै लगानीमा चिया प्रशोधन कारखाना स्थापना गरेको छ ।
सहकारी संस्थाले करोडौँको लगानीमा कारखाना स्थापना गरेको हो । निजी चिया कारखानाले किसानलाई हरियो चियाको मूल्यमा विभिन्न बहानामा ठगिरहेको अवस्थामा सहकारीले कारखाना स्थापना गरेपछि किसान हर्षित भएका छन् । सुरुदेखि नै अर्गानिक चियाको प्रशोधन गर्ने लक्ष्यका साथ सहकारीले रु छ करोडको लागतमा कारखाना स्थापना गरेको हो ।
उक्त कारखाना सहकारीस्तरको नेपालकै सबैभन्दा ठूलो अर्थोडक्स चिया कारखाना रहेको संस्थाका अध्यक्ष कृष्णप्रसाद सुवेदी बताउँछन् ।
“कारखाना निर्माणका लागि टी बोर्डबाट रु ७५ लाख र सहकारी विभागबाट रु छ लाख प्राप्त भएको छ” – अध्यक्ष सुवेदीले भने ।
किसानले उत्पादन गरेको हरियो चियापत्ती कारखानामा बिक्री गर्छन् । तर कारखाना सञ्चालकले यो र त्यो बहाना देखाउँदै किसानलाई लागतअनुसारको हरियो पत्तीको मूल्य दिएका छैनन् । सामान्यतयाः दुई पात एक सुइरो भएको ६० देखि ८० प्रतिशतसम्म भएको चियालाई गुणस्तरीय चिया मानिन्छ । सिजनमा किसानले उक्त गुणस्तरको चियाको मूल्य अधिकतम रु छ हजार प्रतिक्विन्टल पाएका थिए । तर इलामेली चिया कारखानाले प्रतिक्विन्टल रु १० हजारमा गुणस्तरीय चिया खरिद गरिरहेको अध्यक्ष सुवेदीको भनाइ छ ।
किसानले चिया उत्पादन गर्छन् तर उनीहरूको पहुँचमा कारखाना हुँदैन । किसानको थोरैमात्र पुँजीले कारखाना बनाउन सक्दैनन् । कारखाना बनाइहाले पनि गुणस्तरीय तयारी चिया नबन्दा बजारमा बिक्री नहुन सक्छ । त्यो समस्यासँग जुध्न नसक्नु र समस्याको समाधान नखोज्दा किसानले चियाको उचित मूल्य पाउन नसकेको कन्यामका चिया किसान रेवतीरमण पौडेल बताउँछन् । पौडेलले भने– “चियाखेती मात्र गर्ने तर प्रशोधन गर्न अरूलाई दिने गर्दा मूल्य नपाइएको हो ।” किसान आबद्ध भएको इलामेली सहकारी संस्थाले स्थापना गरेको कारखानाले अहिले धमाधम हरियोपत्ती प्रशोधन गरिरहेको छ ।
हरियो चियाको मूल्य कम पाइरहेको अवस्थामा दैनिक करिब पाँच हजार किलोग्राम हरियोपत्ती प्रशोधन गर्ने क्षमता भएको कारखानाबाट कृषकले राम्रो मूल्य पाउन थालेका छन् ।
यसअघि किसानले पत्तीको मूल्य बढीमा प्रतिकिलो रु ६० सम्म मात्र पाउँदै थिए । सहकारीले कृषकलाई प्रतिकिलो हरियोपत्तीको मूल्य रु एक सय दिन थालेपछि कारखानामा पत्तीको चापसमेत बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण