राजपा रहस्य : आयोगमा निवेदन नै नदिई कसरी हुन्छ दल दर्ता ?
काठमाडौ जेठ १४–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टी दर्ता तथा चुनाव चिन्ह नपाएको विषय अहिले चर्चामा छ ।
शनिबार दिनभरि सानेपादेखि बालुवाटारसम्म भएको बैठकमा राजपा नेपालका नेताहरुले मुख्यरुपमा दल दर्ता र चुनाव चिन्हको कुरा उठाएका थिए भने सञ्चारमाध्यममा पनि यही विषयले प्रमुखता पायो ।
उनीहरुले पार्टी दर्ता र चुनाव चिन्ह पाउनुपर्ने कुरा उठाए पनि राजपाले हालसम्म सो प्राप्तिका लागि निर्वाचन आयोगमा कुनै पनि प्रकृया शुरु नगरेको पाइएको छ ।
निर्वाचन आयोगका एक पदाधिकारीले भने, ‘हामीले तपाईहरुको पार्टी दर्ता भयो, तपाईहरुको चुनाव चिन्ह यो हो लिनुस् भन्दै उहाँहरुको घरममा जाने होइन, उहाँले पहिला प्रक्रिया शुरु गर्नुपर्छ, अनि मात्र के गर्न सकिन्छ हेर्न सकिन्छ ।’
मधेशी मोर्चाका विभिन्न छ दलले पार्टी एकीकृत गरि राजपा नेपाल बनाएको आज ३७ दिन पुगेको छ । तर पार्टी दार्ताको प्रकृया समेत शुरु नगरिएको हो । ‘प्रकृया नै शुरु नगरिकन दल कसरी दर्ता हुन्छ, ? चुनाव चिन्ह कसरी पाइन्छ’ आयोगका ती अधिकारीको टिप्पणी छ ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माले पनि राजपाले पार्टी दर्ताको लागि निवेदन नै नदिएको बताए । उनले भने, ‘पार्टी दर्ताको निवेदन नै आएको छैन भने यसको बारेमा के टिप्पणी गर्ने, प्रकृया नै शुरु नगरिकन मैले यो पाइन, त्यो पाइन भनि हल्ला गरेर हुन्छ ?’
६ पार्टी एकीकरण गरी राजपा नेपाल पार्टी गठन गराएको भन्ने मात्र आयोगमा जानकारी आएको भन्दै शर्माले त्यस आलावा कुनै निवेदन नआएको बताए । पार्टी दर्ताका लागि विधान, घोषणापत्र, पार्टीको झण्डा, चुनाव चिन्ह समेतको उल्लेख गरेर निवेदन दिनुपर्ने बताउँदै उनले निवेदन आएपछि मात्र आयोगले कारवाही अगाडि बढाउने बताए ।
पार्टी दार्ताको प्रकृया बारे बुझ्नका लागि राजपा नेपालका केही नेताहरु वैशाख २९ गते निर्वाचन आयोग पुगेका थिए । त्यहाँका पदाधिकारीहरुले पार्टी दर्ताका लागि चाहिने कागजात र प्रकृयाबारे जानकारी गराएका थिए । तर अहिलेको अवस्थामा चुनाव चिन्ह तथा पार्टी दर्ता गर्न नसकिने पनि आयोगका पदाधिकारीले भनेका थिए । यद्यपी नयाँ पार्टी दर्ता गराउनु र संसदमा रहेका दलहरुबीच एकीकृत पार्टी दर्ता गराउनु फरक कुरा हो । एकीकृत पार्टी दर्ता हुनसक्छ भन्ने कुरा आयोगले भनेको थियो र जेठ ३ गते सबै डकुमेन्ट लिएर आउनुस् समेत आग्रह गरेको थियो ।
किन गएन आयोगले भनेको समयमा ? राजपा नेपालका नेताहरु आयोगबाट फर्किने वित्तिकै घोषणापत्र र विधान निर्माणको तयारीमा जुटे । एउटा कार्यदल नै बनाएर घोषणापत्र र विधान बनाउनमा लागेका थिए । तर विधान निर्माणमा नेताहरुबीच विवाद हुन पुग्यो भने सोहि कारण आयोगमा दल दर्ता तथा चुनाव चिन्हका लागि प्रकृया हुन नसकेको हो । राजपाका एक नेताका अनुसार विवादकै कारण अहिलेसम्म विधान तथा घोषणापत्र निर्माणले पूर्णता पाउन सकेको छैन ।
राजपा नेपाल स्रोतले भन्यो, ‘ न विधान तयार भएको छ न घोषणापत्र तयार भएको छ । न त कार्यसमितिको पूरा लिस्ट तयार भएको छ अनि आयोगमा कसरी निवदेन दिन सकिन्छ, बेकारमा नेताहरुले हल्ला गरिरहनु भएको छ ।’
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने, ‘चुनाव चिन्ह र पार्टी दर्ता हाम्रो मुख्य माग होइन, त्यो धेरै गौण कुरा हो तर राज्यको तर्फबाट यो जवर्जस्ती चलाइएको हल्ला हो । संविधान संशोधन, स्थानीय तहको संख्या थप गर्ने, मुद्दा फिर्ता, बन्दी रिहाई, क्षतिपूर्ति लगायतका माग हाम्रो पुरा भयो भने चुनावमा जान्छौं । नत्र गइँदैन ।’
राजपा नेपालले चुनाव चिन्ह र पार्टी दर्ता गराउन पाए भने सबैथोक छाडेर चुनावमा गइहाल्छ भन्ने खालको भ्रम चलाइएको दाबी गर्दै उनले उनले भने, ‘ संशोधन र स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाएन भने हामी कुनै पनि हालतमा चुनावमा जाँदैनौ ।’
राजपा नेपालका सहमहामन्त्री जितेन्द्र सोनलले निर्वाचन आयोगले अहिलेको अवस्थामा नयाँ दल दर्ता तथा नयाँ चुनाव चिन्ह पाउन नसकिने बताएको तर्क गर्दै सोहि कारण प्रक्रियामा नगइएको बताए ।
यद्यपी राजपा संसदमै रहेका पार्टीहरु भएकाले दर्ता हुनुपर्ने उनको तर्क छ । उनले भने, ‘राजपा नेपाल नयाँ शक्ति पार्टी वा साझा पार्टी जस्तो होइन, संसदमा रहेका छ दल मिलेर बनेको पार्टी हो, उसले जुन बेला पनि दर्ता गराएर चुनाव चिन्ह लिनसक्छ, नयाँ शक्ति र साँझा पार्टीसँग राजपा नेपालाई दाँजेर हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण