शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कामपाको निर्णयः वृद्धवृद्धालाई थप भत्ता, नेपाल भाषालाई मान्यता

बुधबार, १७ जेठ २०७४, २१ : ४०
बुधबार, १७ जेठ २०७४
काठमाडौँ, जेठ १७ – काठमाडौँ महानगरपालिकाले ८० वर्ष पूरा भएका पुरुष र ७५ वर्ष पूरा भएका महिलालाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’का रुपमा सम्मान स्वरुप वार्षिकरुपमा रु १२ हजार भत्ता दिने निर्णय गरेको छ । महानगरका नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आज बसेको बैठकले घरघर उत्सर्जन हुने फोहरलाई सूर्योदय अगावै विर्सजन गर्ने व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । कामपाका प्रमुख शाक्यका अनुसार काठमाडौँ महानगरको सरकारी कामकाजको भाषाका रुपमा नेपाली र नेपाल भाषाको प्रयोग गर्ने निर्णय गरिएको छ । संयुक्त राष्ट्रसङ्घमा नेपालको पहिचानका रुपमा सूचीकृत भएको रञ्जना लिपीलाई समेत कामपाको सबै वडा कार्यालयको बोर्ड र ‘लेटर प्याड’मा प्रयोग गरिने भएको छ । दुई वर्ष अघिको भूकम्पबाट पीडित महानगरवासीलाई निजी आवासीय प्रयोजनका घर निर्माण गर्दा निःशुल्क परामर्श सेवा र भवन निर्माण इजाजत दस्तुरमा शतप्रतिशत छुटको व्यवस्था गरिने महानगरले निर्णय गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घरघरमै चिकित्सक पठाइने र काठमाडौँ महानगरमा स्थान पहिचान गरी आवश्यक सङ्ख्यामा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय पनि गरिएको छ । महानगरलाई २४ घण्टा खुला जीवन्त सहरका रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास गरिने पनि प्रमुख शाक्यले जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप