शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

संघीय गठबन्धनले गर्यो आन्दोलनको नयाँ कार्यक्रम घोषणा

बुधबार, १७ जेठ २०७४, २२ : ३८
बुधबार, १७ जेठ २०७४
काठमाडौं, जेठ १७– महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति सारिएलगत्तै संघीय गठबन्धनले पनि आन्दोलनको स्वरुप परिवर्तन गरेको हो । निर्वाचनको कार्यक्रम प्रभावित तुल्याउने गरी गरिएको आन्दोलनको कार्यक्रमको स्वरुप परिवर्तन गरी उनीहरुले विहीबारदेखि अन्तरक्रिया छलफल लगायतका कार्यक्रम तय गरेका छन् । मुश्लिम समुदायको रमजानका दिन तय गरिएको निर्वाचनको मिति सारिएकोमा सकारात्मक भन्दै गठबन्धनले आन्दोलनको स्वरु परिवर्तन गरेको हो । गठबन्धनले जेठ १८ गतेदेखि २५ गतेसम्मको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । आन्दोलनको कार्यक्रमअनुसार जेठ १८देखि २१ गतेसम्म गाउँ टोल, गाउँपालिका नगरपालिका स्तरमा आन्दोलन परिचालन समिति गठन गर्ने, जेठ २२ गते सबै गाउँ टोल तथा वडामा आन्दोलन परिचालन समितिको अन्तरक्रिया र आन्दोलनको रणनीति बनाउने रहेका छन् ।यस्तै, जेठ २४ गते सबै गाउँपालिका वा नगरपालिकाको एक स्थानमा विरोध सभा गर्ने र जेठ २५ गते मधेस, थरुहट, लिम्बुवानमा दिउँसो १बजेदेखि ३ बजेसम्म दुई घण्टा चक्काजाम गर्ने लगायतका कार्यक्रम घोषणा गरिएको छ । गठबन्धनका संयोजक महन्थ ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषित अवधिभित्र सरकारले संविधान संशोधन, मुद्दा फिर्ता र स्थानीय तहको संख्या जनसंख्याको अनुपातमा बढाउने लगायतका माग सम्बोधन गरी निर्वाचनमा जाने वातावरण नबनाएमा सशक्त र कडा आन्दोलनको कार्यक्रम ल्याइने चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप