शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आधुनिकतासंगै यसरी बदलियो चुनावी प्रचार शैली

बिहीबार, १८ जेठ २०७४, ०९ : ०४
बिहीबार, १८ जेठ २०७४
दमक, १८ जेठ - अघिल्ला चुनावहरुभन्दा यसपटकको स्थानीय तहको चुनाव फरक देखिँदै गएको छ । चुनावको प्रचारप्रसार शैली नै बदलिँदै गएको छ । झापा जिल्लाका विभिन्न नगर र गाउँमा उम्मेदवारले घरदैलोका क्रममा मतदातामाझ पुग्दा बाजागाजामा आफ्नो उम्मेदवारीबारेका गीतहरु घन्काइरहेका देखिन्छन् । नेपाली काँग्रेस कमल गाउँपालिकाका प्रमुखका उम्मेदवार हुकुमसिंह राई प्रचारशैलीमा निकै परिवर्तन आएको स्वीकार्नुहुन्छ । उनले मतदातामाझ जाँदा गाडीमा साउन्डसेट राखेर आफ्नो प्रचारका लागि बाजा बजाउँदै आएको बताए । उनी भन्छन्, “जमानाअनुसार चुनावी प्रचारशैली परिवर्तन गर्नैपर्छ ।” उम्मेदवार राई आफ्नो धारणा जसरी जनतामाझ लैजान सकिन्छ, त्यसरी नै हामीले आन्तरिक व्यवस्थापन गर्नु जरुरी भएको ठान्छन्। “हिजो जस्तो चुनावी शैली थियो, त्यो अहिले सुहाउँदो हुँदैन”, उनले भने । उनी आफूले पनि प्यारोडी गीतमार्फत प्रचार गरिआएको बताउँछन् अघिल्ला वर्षमा चुनावताका भोट माग्दा भित्ते पोस्टर टाँसेर प्रचार गरिने चलन थियो । कहीँ कसैले हस्तकलामा लेखाएर आफ्नो अभिव्यक्ति प्रकट गरिने शैली थियो, तर अहिले त्यो चलनले फड्को मारेको छ । त्यसको बदला आधुनिक पद्धतितर्फ आकर्षित हुदैँ गएको छ चुनावी प्रचार शैली १ काँग्रेसबाट दमक नगरका उपप्रमुखकी उम्मेदवार रेगिना भट्टराई पनि चुनावमा हुँदै आएको प्रचारप्रसार गरिने चलनले फड्को मारेको ठान्छिन् । “रेडियो, टिभी, पत्रिकासँगै गीत रेकर्ड गराएर भोटमाग्दै हिँड्ने चलन भित्रिएको छ”, उनले भनीन्, “आधुनिक प्रचारप्रसार शैलीले सहज मात्र होइन प्रभावकारीसमेत बनेको छ ।” नेकपा माओवादी केन्द्रबाट दमक नगरप्रमुखका उम्मेदवार रेवतराज पुरीले पनि चुनावमा आधुनिक प्रचारप्रसार शैलीलाई प्राथमिकता दिएको स्वीकार्छन् । उनी रेडियो, टिभी, पत्रिकासँगै फ्लेक्स प्रिन्टमार्फत भोट माग्ने प्रचारप्रसार शैलीमा धेरै खर्च गर्नु परेको बताउँछन् । उनले भने, “यसरी प्रचारप्रसार नगर्दा उम्मेदवार नै ओझेलमा पर्ने देखेको छु ।” उम्मेदवार पुरीले आधुनिक प्रविधिमार्फत आफूले भोट माग्दा त्यो शैली प्रभावकारी भएको बताउँछन् । दमकस्थित सप्तरङ्गी एफएमका प्रबन्ध निर्देशक गिरीराज भट्टराई उम्मेदवारले जनतामाझ मत माग्न जाँदा बाजागाजासहित गीत तथा आफ्नै शब्दमा भोट माग्ने अभ्यास हुन थालेको बताए । स्थानीय तहको चुनावमा दलका उम्मेदवार स्वाभाविक रुपमा धेरै भएका र प्रायः उनीहरु सबैले ‘जिङगल’ तयार गरेर चुनाव प्रचारप्रसारका गतिविधिमा जाने गरेको उनको भनाइ छ । “अहिले दैनिक एक दर्जन जति उम्मेदवारको त्यसरी रेकर्ड गराउँदै आएको छु ।” यसैगरी, दमक–५ स्थित काब्या रेकर्किड स्टुडियोमा एक महिनायता दलको प्यारोडी गीत बनाउनेको भीड लागेको सञ्चालक अशोक थापा बताउँछन् । “एक महिनादेखि अरू कुनै काम गर्न पाएका छैनौँ”, सञ्चालक थापाले चुनावका लागि दल र उनीहरुका उम्मेदवारलाई प्यारोडी गीत लेख्ने र रेकर्ड गर्नमै हामी सबै व्यस्त हुनुपरेको सुनाए । अधिकांश उम्मेदवारले ‘गाउँ गाउँबाट उठ’, ‘सुर्के थैली खै', ‘मनपर्ने एउटी साली छ’, ‘मोहनी लाग्ला है’, ‘झुम्के फुली नाकैमा बुलाकी’, ‘ठमेल बजारमा’ सहित दर्जनौं गीतलाई चुनावी प्यारोडी गीत बनाउने गरेको थापा बताउँछन् । उनका अनुसार सबैभन्दा धेरै माओवादी केन्द्रको दमकका उम्मेदवारले प्यारोडी गीत रेकर्ड गराएका छन् । त्यसपछि राप्रपा, काँग्रेस र एमालेका उम्मेदवारले यस्ता गीत तयार पारेका छन् । उहाँको स्टुडियोमा दमकको मात्र होइन, कमल र गौरीगन्ज गाउँपालिका, गौरादह नगरपालिका तथा मोरङको उर्लाबारी नगरपालिकाका उम्मेदवार पनि अर्डर लिएर आउने गरेका छन् । दैनिक १५ घन्टाभन्दा बढी गीत रेकर्डिङमा व्यस्त रहनु परेको अनुभव सुनाउँदै थापाले एउटा गीत तयार पारेको १० हजारदेखि २० हजारसम्म लिने गरेको बताउँछन् । गीतमा थापासँगै स्थानीय गायक चन्द्रा बस्नेत, सुदृष्टि राई, रमिला रम्जेल, डिकबहादुर धिमाल, लक्ष्मी खनाल, पिताम्बर दाहाल र रञ्जित प्रसाईंले स्वर दिँदै आएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप