निकोटिन सेवनका जोखिम
डा. धनरत्न शाक्य –भर्खर १६मा टेकेको रुपक (नाम परिवर्तित)लाई अरु ठूला मानिसले झैं हातमा चुरोट च्यापी धूँवा उडाउँदै हिड्न मज्जा लाग्छ ।बिहेको जन्तीमा पाएको पानपरागबाट शुरु भएको शितलजीको निकोटिन सेवन अब चेन स्मोकिङमा पुगेको छ ।
- तल्लाघरे माइली बज्यै तरुनी हुँदैदेखि बिँडी पिउँथिन् । हालै क्षयरोग भएपछि चिकित्सकबाट धुमपान छाड्ने सल्लाह आउँदा बेचैन र अक्कबक्क भएकीछिन् ।
- अरु त छोडिएला । ..... चुरोट त खोइ? - एक सर्को तान्न पाएन कि छट्पटीले बस्न सकिन्न । यहि छट्पटीको कारण साथीभाइको सल्लाहमा चुरोट पिइयो । अब छाड्न नसकिने भइयो.... । - लाख कोसिस गर्दा पनि चुरोट छाड्न सकिएन हो...... के गर्ने होला ?
निकोटिनको लतलाई नभुलौंः मनमस्तिष्कमा असर पार्ने पदार्थहरुको कुरा गर्दा अक्सर बिर्सिने तर अत्याधिक लत् लगाउने नशालु चिज हो निकोटिन । निकोटिनयुक्त पदार्थहरु मुलतः चुरोट, बिँडी, सिगार, तमाखु, कक्कड, सुल्पा जस्तो धुँवा तान्ने (moking) र सुर्ती, जर्दा, पान, मसला, नस, गुट्खा जस्ता धुँवारहित (smokeless)रुपमा सेवन गर्ने चलन छ ।
निक्कै पहिलेदेखि नै शुरु भएको भएपनि यस्ता पदार्थको प्रयोगमा बीसौं शताव्दीमा उल्लेख्य बृद्धि भएको थियो । सन् १९५०को दशकदेखि यसको सेवनले विभिन्न रोगहरु निम्टिने तथ्य अगाडि आउन थालेको हो । सन् १९८८ तिर प्रकाशित धूमपानले स्वास्थ्यमा पार्ने असरसम्बन्धी शोधलेखले विकसित देशमा ठूलो हल्चल् नै मच्चायो, विशेषतः अमेरिकामा । यसबारे धेरै तरीका र कार्यक्रमहरु अगाडि आए । फलतः ती मुलुकहरुमा यसको प्रयोग र असर कम हु“दै गएका छन् । जनचेतनाको प्रसारले यस्तो सकारात्मक परिवर्तन सम्भव भएको कुरा विशेषतः विद्यालय जाने उमेरका मानिसहरुमा गरिएका शोधहरुमा देखिएको हो ।
अमेरिकामा यसको प्रयोग र असर घट्दैछ; सयकडा २५ले धूमपान गर्ने, २५ले हाल छाडेका तथा ५०ले कहिल्यै धूमपान नगर्ने भएपनि त्यहाँ स्वास्थ्य खर्चको ६० प्रतिशत यससम्बन्धी समस्याको उपचारमा खर्चिने तथ्यांक छ । नेपालजस्ता अल्पविकशित विकासशील मुलुकहरुमा भने यसको सेवन, खपत् र असरहरु बढ्दै गएको देखिन्छ । अमेरिकाको यो तथ्यांक सबैजसो ग्रामीण महिला र पुरुष कुनै न कुनै निकोटिनयुक्त पदार्थको सेवनमा लिप्त नेपालका लागि ठूलो कटुसत्य हो जसबाट पाठ नसिक्ने हो भने दुःख र पछुतो मात्र हात लाग्नेछ ।
निकोटिनको समस्याबारे मनन् गरौंः यी पदार्थहरु सामाजिक रुपले ग्राह््य र स्वीकृत छन्; विविध स्वरुपमा, सजिलै र जहाँ पनि पाइन्छन् । यी पदार्थले अरु लत लाग्ने पदार्थभन्दा तुलनात्मक रुपमा अधिक, चाँडो र प्रभावकारी हिसाबले बानी पारेर त्यत्तिक्कै प्रभावका लागि ज्यादा मात्रा चाहिने, सेवन नगर्दा तल्तल लाग्ने र व्यक्तिलाई यसको सेवन अनिवार्य जस्तो महसुस गराउने गर्छन् । बिकसित मुलुकको आँकडा हेर्दा, तीनचौथाइ जति मानिसले कुनै न कुनै बेला कुनै रुपमा यसको सेवन गर्ने, एकचौथाइ जतिमा यसको लतै पर्ने र अझ सेवनकर्ताहरुमा त एकतिहाई जतिमै दुव्र्यसन हुनेगर्छ । यसको प्रयोगको व्यापकतामा थोरबहुत भिन्नता भएपनि यो तथ्य विश्वका सबैजसो भागमा मान्य हुने देखिन्छ ।
विश्वमा १ अर्बभन्दा धेरै मानिसले यसको सेवन गर्छन् र यसकै प्रयोगका कारण प्रतिवर्ष १ करोड जतिले सन् २०३० सम्ममा मृत्यूवरण गर्ने अनुमान गरिन्छ । मानव जातिलाई सताउने धेरैवटा बिमारीहरु सुर्तीजन्य पदार्थको सेवनसँग जोडिन्छन् । यस हिसाबले, यो अरु कुनैपनि दुव्र्यसनजन्य पदार्थभन्दा खतरनाक साबित हुन्छ । विश्व स्वास्थ्य संघले यसलाई एक दशकभन्दा पहिलेदेखि नै सर्वाधिक व्यापक, प्राणघाटक र महंगो त्यस्तो स्वास्थ्य समस्याको रुपमा सम्बोधन गर्दै आएकोछ जसको उपचार भने विभिन्न पदार्थहरुको दुव्र्यसनहरुमध्ये अधिक प्रभावकारी हुनेगर्छ ।
समस्या हामीकहाँ झन् भयावह छः नेपालको सन्दर्भमा त अझ भयावह देखिन्छः वि.पि.को.स्वा.वि.प्र.को यस लेखकको एक समुहबाट धरानमा हालै भएको एक अनुसन्धानमा, समुदायका मानिसमा करीब ४०%, मानसिक बहिरंग विभागमा ५५% र अन्तरंग विभागमा भर्ती भएका ६२% बिरामीहरुमा निकोटिनमा लत परेको देखियो । हामीकहाँ विशेषतः ग्रामीण जनसमुदाय तल्लाघरे माइलीबज्यै जस्तै यसका असरबारे अनभिज्ञ र बेपर्वाह छन्, तिनीहरुमा अझ बढी सेवन छ, नेपाली महिलाहरुको धुमपान सेवनको दर विश्वमै उच्च मानिन्छ, सुर्ती, पानपराग वा खैनीलाई अम्मल वा लत भनी हेर्ने बुझाइ कम छ । यो समस्याको पनि उपचार गर्नुपर्छ, उपचार हुन्छ वा सम्भव छ भन्ने जानकारी लगभग नेपाली जनमनमा शुन्य जस्तो छ परिदृश्यमा जस्तै ।
अम्मलीलाई सम्झाउने नाउँमा होच्याउने, मानमर्दन गर्ने, हिनताबोध गराउने, गाली गर्ने वा चरित्रमाथि प्रश्न लगाउने गरिन्छ औसतमा । धुमपानका अम्मलीलाई पनि यसका असरहरुबारे यथार्थ जानकारी हुँदैन । शिशु र बच्चाहरु अनि परिवारसँगै निर्लज्ज भएर बन्द कोठामा धँुवा छाड्ने मान्छेको कमि छैन हामीकहाँ । समाज, छरछिमेक वा हाम्रा साँस्कृतिक माहोल, चालचलन त यस्ता पदार्थको प्रयोगलाई प्रोत्साहन दिन्छ, आजको मितिमा चुरोट वा सुर्तीजन्य पदार्थको प्रयोग विनाको भोज, पार्टी वा भेला खल्लो र अपूर्ण हुन्छ शितलजीकोझैं । सरकार वा राज्य यसको कर उठाउन र त्यसको सदुपयोग गर्न असमर्थ देखिएको छ । जनसरोकार र जनस्वास्थ्यको लागि राज्यस्तरमा प्राथमिकता, कार्यक्रम र साधनश्रोतको लगानी न्युन देखिन्छ । सवारी साधन, पार्क वा यस्तै सार्वजनिक स्थलमा नियमको धज्जी उडाउँदै निर्लज्ज र बेपर्वाह यसको प्रयोग गर्नेलाई नियमतः कार्वाहि गर्ने दायित्व त यहाँ जोक्स बन्छ ।
सुर्ती सेवनका जोखिमबारे बुझौंः निकोटिनयुक्त पदार्थको सेवनले भ्रममा पर्ने गरी केहि वाञ्छित् जस्तो लाग्ने असरहरु पनि देखाउँछन् । दिक्दार र थकान हुने खालको काममा जाँगर जगाइराख्ने, मन स्थिर र शान्त राखेर रिस घटाउने, जैविक प्रक्रियाको दरमा वृद्धि गरेर तौल नियन्त्रित राख्ने जस्ता परोक्ष्य असरहरु क्षणिक रुपमा हुने प्रतिवेदन पनि छन् । सेवन हुँदै गएपछि भने दुव्र्यसनका लक्षणहरु उत्पन्न हुन्छन् । बिहान उठ्नासाथ वा जागेको आधा घण्टाभित्र वा कुनै निश्चित समयमा तल्तल् शुरु हुनुको मतलब हुन्छ यसमा बानी वा लत् पर्नु । चुरोट जस्ता निकोटिनयुक्त पदार्थहरुमा निकोटिनका अलावा टार, एमोनिया, आर्सेनिक, कार्वोनमोनोक्साइड जस्ता सयौं खालका हानिकारक रसायनहरु पनि हुन्छन् जसले आआफ्ना असरले सेवनकर्ताको स्वास्थ्य धरापमा पार्छन् ।
अर्वुदरोगको ३० प्रतिशतभन्दा पनि बढी क्यान्सर यसमा हुने बेन्जोपाइरिन लगायतका क््यान्सर निम्ट््याउने रसायनका कारण हुने तथ्यांक छ । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुख, पेट, घाँटी, पिसावथैली, मिर्गौला लगायत् अरु धेरैखालका क्यान्सर हुने गर्दछन् । यसले निमोनिया, ब्रोन्काइटिस, दम र अरु सासप्रश्वासका रोगहरु, मुटु र रक्तनलीका रोगहरु, नशासम्बन्धी रोगहरु र अरु धेरै स्वास्थ्य समस्याहरु निम्ट््याएर सेवनकर्ताको आयु क्रमशः छोट््याउँछ । अप्रतक्ष्य रुपमा पनि क्षयरोग, पाचन समस्या, पाठेघरको क्यान्सर, मोतीविन्दु जस्ता धेरेै स्वास्थ्य समस्याहरुसँग सुर्तीजन्य पदार्थको सम्बन्ध देखिएकोछ । गर्भवती महिलाको सेवनले गर्भको शिशुको तौल कम हुने, मानसिक र शारिरीक विकासमा असर पर्ने तथा घरमा सँगै बसेर अरुले गरेको सेवनले परिवारजनलाई पनि गम्भीर हानि हुने कुरा सिद्ध भएकोछ । सुर्तीजन्य पदार्थको सेवनको उदासिन, छट्पटी, पागलपन, मद्यपान र अन्य नशालुपदार्थको दुव्र्यसन सहित अरु मानसिक समस्याहरुसँग पनि निकटको सम्बन्ध देखिएको छ । परिदृश्यमा छट्पटी कम गर्न चुरोट पिउनाले यसको लत लागेको अवस्थामा छाड्न नसक्ने र छट्पटी अरु बढेकोछ । अरु नशासेवनको समस्या धेरैमा सुर्तीजन्य पदार्थको सेवनबाट शुरु हुनेगर्छ शितलजीमा जस्तै ।
विश्व स्वास्थ्य संघले जनाए अनुसार, संसारमा, अझ नेपाल जस्ता विकासशील मुलुकहरुमा आधाभन्दा धेरै बालबालिकाहरु सुर्तीको धुँवाबाट प्रदुशित हावामा सास लिन बाध्य छन्, यसको महामारी विकासशील राष्ट्रहरुमा बढ्दैछ,यसको सेवनकर्तामध्ये आधाजतिको यसैको कारण मृत्यू हुन्छ, मृत्यूका ८ मुख्य कारणहरुमध्ये ६ वटामा सुर्तीजन्य पदार्थ कारक मानिन्छ । विश्वमा वर्षेनी ६० लाख जति मानिस यसको कारण मर्छन्; यो संख्या सन् २०३० सम्ममा बढेर ८० लाख पुग्ने आंकलन गरिँदैछ, हालको तथ्यांक हरेक दशमा एकबाट उक्लेर हरेक छमा एकजनाको मृत्यूको कारण बन्दैछ । बीसौं शदीमा १० करोड मानिसको ज्यान लिएको यो समस्याले एक्काइसौं शदीमा १ अर्बको ज्यान जाने प्रक्ष्येपण गरिएकोछ । अरुले धुमपान गरी छाडेको धुँवाबाट पनि ६ लाखजतिले मृत्युवरण गर्छन् । यसका कारण हुने मृत्यु यति व्यापक छ कि त्यसले मद्यपान, सडक दुर्घटना, हत्या, एचआईभि, अन्य लागुपदार्थको सेवनबाट हुने मूत्यु संख्याभन्दा पनि धेरै हुने देखिएकोछ । यसको गम्भीर र व्यापक प्रयोगका कारण हुने विविध स्वास्थ्य असरले हुने अस्वस्थता, बिकलांगता र मृत्युबाट पर्ने आर्थिक हानी र व्यय आदिको यथार्थपरक विश्लेसनबाट यो मानव जातिको सबभन्दा खतरनाक स्वास्थ्यनासक र विकासको बाधक भएको पुष्टि हुन्छ । सन् २०१७, मे ३१ को ‘विश्व धुमपान रहित् दिवस’ले पनि यहि सन्देस दिएकोेछ । र, यस्तो भयावहलाई सामना गर्न प्रभावकारी उपायहरु सबै तहमा अपनाउन अत्यावश्यक भएकोछ ।
अब सचेत बनौंः यसको असरबारे सुसुचित, सचेत र जागरुक नभएसम्म सकारात्मक परिवर्तन सम्भव हुँदैन । यसको सेवनकर्ताले पहिले यसको असरबारे जाने बुझे, मनन् गरे भने नै यसको लत छोड्ने बाटो खुल्छ । यसको प्रयोगकर्ताहरुले विभिन्न बहानामा सेवनलाई निरन्तरता दिँदा यो बुझ्नु जरुरी छ कि सामाजिक, वातावरणीय वा पारिवारीक माहोल (उपलव्धता, कानूनी, सांस्कृतिक परिस्थिति) जति यसको प्रयोग र जटिलताका पछाडि महत्वपूर्ण रहन्छन्, त्यत्ति नै वा ज्यादा व्यक्तिको आफ्नो मनस्थिति, कमि, अनुवांशिक तत्वहरु र सुर्तीजन्य पदार्थको लत लगाउने र अरु असरहरु पनि जिम्मेवार हुन्छन् । त्यसैले, कारक तत्वको पहिचान र उपचारतिर लाग्नु श्रेयस्कर हुन्छ ।
व्यक्ति, परिवार, समाज सबैले यसबारे सुसुचित भएर आआफ्नो तर्फबाट यो समस्या कम गर्ने दिशातिर लाग्न जरुरी भएको छ । सेवन नगर्नेले यसको प्रयोगबाट टाढा रहने, सेवन गर्नेले छाड्ने तथा लत बसेको भए व्यक्ति, परिवार र साथीभाईले यसको उपचार र उपाय गर्नेतिर लाग्नुपर्छ । सरकारले पनि यसको रोकथाम र व्यवस्थापनका प्रभावकारी उपायहरुको मनन् गरी कार्यान्वयनमा ल्याउन जरुरी भएकोछ ।
(लेखक धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका वरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ तथा एडिशनल प्रोफेसर हुन ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण