शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नयाँ शक्तिले थाल्यो महोत्तरीबाट मधेशकेन्द्रीत चुनावी अभियान

बिहीबार, १८ जेठ २०७४, ११ : ४८
बिहीबार, १८ जेठ २०७४

महोत्तरी, जेठ १८– दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति सरेसँगै नयाँ शक्ति पार्टीले मधेशकेन्द्रीत चुनावी अभियान तीव्र बनाएको छ ।

गाउँ सहरमा चुनावी भेला तीव्र पारेको नयाँ शक्ति पार्टीले महोत्तरीका विभिन्न गाउँहरुमा चुनावी भेला सम्पन्न गरेको जनाएको छ । अभियानकै क्रममा एकडारा गाउँपालिका, समसी गाउँपालिका, गोशला नगरपालिका, बर्दिवास नगरपालिका लगायतमा चुनावी भेला सम्पन्न भएको महोत्तरी जिल्लाका उत्प्रेरक डा. सुरेन्द्र यादवले बताए ।

नयाँ शक्तिले बुधबार र बिहीबार पनि जिल्लाका विभिन्न स्थानहरुमा चुनावी भेला आयोजना गरेको छ । अभियान भेलाकै क्रममा एकडारा गाउँपालिकाको मोडुवाहीमा अरिहान मुखियाको संयोजकत्वमा ३१ सदस्यीय वडा कमिटी तथा शंकर साहको संयोजकत्वमा १५ सदस्यीय स्वयम् सेवक परिचालन समिति निर्माण गरेको छ ।

त्यसैगरी जलेश्वर नगरपालिकाको पर्कौलीमा ३१ सदस्यीय वडा कमिटी निर्माण गरेको पार्टीका जिल्ला संयोजक कौशलेन्द्र शर्माले बताए । मनरा गाउँपालिकाको इटरहवाकट्टीलगायतका विभिन्न गाउँहरुमा पनि नयाँ शक्तिले संगठन विस्तार गरेको जिल्ला संयोजक शर्माले जानकारी दिए ।

यता, जलेश्वर नगरपालिकामा जिल्ला संयोजक कौशलेन्द्र शर्माले प्रमुख र पूजा राईले उपप्रमुखमा दाबेदारी प्रस्तुत गरेका छन् भने बर्दिबास नगरपालिकामा तेज प्रसाद अधिकारीलाई प्रमुखमा प्रस्ताव गरेको छ ।

नयाँ शक्तिले दुई नगरपालिका तथा केही गाउँपालिकाहरुमा संभावित उम्मेदवारलाई अगाडि सारेपनि संघीय समाजवादी फोरमसँगको चुनाव चिन्ह साझेदारीका कारण दुवै पार्टीको संयुक्त चुनावी संयन्त्रले स्थानीय तहका उम्मेदवार चयन गर्ने नयाँ शक्तिका संयुक्त वार्ता तथा चुनावी कार्यदलका संयोजक राम कुमार शर्माले बताए ।

महोत्तरी जिल्लामा जलेश्वर, गौशाला एवं बर्दिबास गरी ३ नगरपालिका तथा एकडारा, मनरा, महोत्तरी, पिपरा, मटिहानी, लोहारपट्टी, बलभा, समसी, सितापुर भंगाहा, सोनमा, औरही र रामगोपालसहित १२ गाउँपालिका रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप