बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेसमा सत्ता गुम्दाको आक्रोश : निशानामा सभापति र महामन्त्री

सोमबार, १८ पुस २०७९, १३ : ५८
सोमबार, १८ पुस २०७९

गठबन्धन भत्किएर सत्ता विमुख भएको नेपाली कांग्रेसभित्र राजनीतिक घटनाक्रमको मन्थन भइरहेको छ । गठबन्धन बचाउन नसकेको भन्दै संस्थापन इतर पक्षबाट सभापति शेरबहादुर देउवाविरुद्ध घेराबन्दीको संकेत देखिन्छ ।

यता संस्थापन पक्ष भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको ‘अल्लारेपन’ पनि उत्तिकै जिम्मेवार रहेको बताउँछ । काठमाडौंमा सत्ता उलटफेर हुँदा साहित्य महोत्सवमा गफिन पोखरा पुगेका कारण थापा र शर्मा पनि केन्द्रीय सदस्यको प्रश्नको घेरामा परेका छन् ।

समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा गर्न २२ पुसमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएपछि उत्पन्न राजनीतिक घटनाबारे बैठकमा देउवाविरुद्ध संस्थापन समूह आक्रमक रुपमा प्रस्तुत हुने तयारीमा छ ।

देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन भनेर सभापतिले जवाफ दिनुपर्ने इतर समूहका नेता शेखर कोइरालाद्वारा ११ पुसमा जारी विज्ञप्तिमा उल्लेख छ । गठबन्धन विभाजन भएको विषयमा पुस २२ गतेदेखि बस्ने बैठकमा निर्मम समीक्षा हुने कोइरालाको भनाइ छ  ।

‘गठबन्धनको निरन्तरताका लागि हाम्रो तर्फबाट पनि नेगोशिएसन टिम थियो । कसरी वार्ता गर्नुभयो ? किन गठबन्धन भत्कियो ? बैठकमा निर्मम समीक्षा गर्छौं,’ कोइरालाले भने ।

महामन्त्री गगन थापाले गठबन्धनमा के भएको हो भनेर सभापतिकै मुखबाट सुन्ने बताए । ‘के भएको हो भन्ने कुरा हामी पहिला सभापतिको मुखबाट पार्टीको बैठकमा सुन्न चाहन्छौं । बैठकमा त गठबन्धन गर्ने भनेको बेलादेखिको कुरा छलफल गर्नुपर्छ,’ उनी भन्छन् ।

गठबन्धन नगरे पार्टी सकिन्छ भन्ने प्रवृत्तिविरुद्ध निर्मम समीक्षा हुने उनले बताए । उनले भने, ‘गठबन्धनविरूद्ध बोल्लास्, खबरदार भन्दै हप्की खाएको सम्झिन्छु अहिले । अब ती व्यक्ति, प्रवृत्ति र घटनाबारे मात्र होइन, कांग्रेसले किन र कसरी यस्तो सोच्यो भन्ने विषयमा बैठकभित्र र बाहिर पनि निर्मम समीक्षा हुन्छ ।’ १५–२० वर्ष चल्छ भनेको गठबन्धन १५ किन टुट्यो भनेर सभापतिले चित्तबुझ्दो जवाफ दिनुपर्ने उनको भनाइ छ ।

सहमहामन्त्री बद्री पाण्डेले भने सभापतिको राजनीनामासम्मको विषयमा बैठकमा उठाइने बताए । ‘पार्टी पंक्तिमा र जनस्तरमा विशेष महाधिवेशन बोलाउने र पार्टी सभापतिले राजीनामा दिनुपर्छ भन्नेबारेमा माग उठेको छ । यो विषय कार्यसमितिको बैठकमा निर्णयमा पु¥याउनुपर्छ,’ उनले भने ।

प्रवक्ता प्रकाशशरण महतले गठबन्धन टुट्नुमा सभापति देउवाको मात्र दोष नरहेको भन्दै पार्टीभित्र नेतृत्वलाई खुइल्याउने प्रवृत्ति देखिएको बताए । ‘जे भए पनि नेतृत्वको आलोचना गर्नुपर्छ भन्ने छ । अहिले प्रचण्डलाई नै दिएको भए अरु सबै पाइन्थ्यो । सबै बिगारे भनेर आलोचना गरिरहेका छन्,’ उनी भन्छन्, ‘प्रचण्डलाई नै दिएको भए पनि उनीहरूले किन दिएको? प्रचण्डको पुच्छर किन बनेको? हाम्रो यस्तो संख्या हुँदा पनि किन प्रचण्डलाई मानेको भन्थे ।’

पार्टी पदाधिकारीबाट गैरजिम्मेवार कुरा आउनुलाई आफूहरुले अनौठो रूपमा लिएको उनको भनाइ छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गैरजिम्मेवार कुरा गरेको महतले संकेत गरे ।

‘जिम्मेवार पदमा बसेर पार्टीको पक्षमा माहौल सिर्जना गर्नुको साटो हामीलाई निमन्त्रणा आएन भन्दै विरोधाभाषपूर्ण अभिव्यक्ति दिएको सुनियो । सबैको विषयको समीक्षा पार्टीले गहन रूपमा गर्छ,’ उनले भने ।

यस्तै केन्द्रीय सदस्य अजयकुमार चौरसियाले सभापति देउवाको पुरापुर प्रतिरक्षामा देखिएका छन् । उनले गठबन्धन भत्किएर सत्ता गुम्नुमा सभापतिको कुनै दोष नभएको बताए । प्रचण्डको अस्थिर प्रवृत्तिका कारण गठबन्धन भत्किएको उनको भनाइ छ ।

‘आफूलाई अप्ठ्यारो भएका बेला गठबन्धन बनाउन खोज्ने अनि परिस्थिति बदल्ने अवस्था आउँदा साथ गठबन्धन छाडेर धोका दिने प्रवृत्ति प्रचण्डजीमा देखियो,’ उनले भने ।

चौरसियका अनुसार एमाले र माओवादीका दोस्रो तहका नेताबीच पहिले नै गठबन्धन टुटाउने सहमति भइसकेको थियो । ‘पार्टी सभापतिलाई दोष देखिएर हुँदैन । पहिलो पार्टीका नेताले सरकारको नेतृत्व छाड्न हुँदैन भनेर धेरै साथीहरुले सल्लाह दिएका थिए,’ उनी भन्छन्, ‘पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नै आफ्नो नेतृत्वमा सरकार बनाउने संस्थागत निर्णय गरेको थियो ।’

यो परिस्थिति आएकोमा आफूहरु दुःखी रहेको तर आगामी दिनमा एकताबद्ध भएर वामपन्थी ध्रुवीकरणसँग लड्नुपर्ने उनले बताए । पार्टी नेतृत्व असफल नभएको उनको दाबी छ । देउवामा प्रतिकूल परिस्थितिलाई अनुकुलतामा बदल्ने क्षमता रहेको पनि उनले प्रस्ट पारे ।

‘हिजो प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएको सभापति शेरबहादुर देउवाले नै हो । सातै प्रदेशमा पार्टीलाई सत्तामा पु¥याउने काम पनि यही नेतृत्वबाट भएको हो । कांग्रेसलाई सबैभन्दा ठूलो पार्टीले बनाउन सफल हुनु भएको छ,’ उनले भने ।

एउटा घटनाक्रमले नेतृत्वलाई खुइल्याउने कुरा राम्रो नभएको उनी बताउँछन् । ‘पार्टी सभापतिले किन राजीनामा दिने ? हिजो प्रतिकुल परिस्थिति बन्दा केपी ओलीले दिए ?,’ देउवाको राजीनामा माग्नेलाई उनले भने, ‘तिनै नेताले फेरि पार्टीलाई सत्तामा फर्काएनन् ? सानोतिनो घटनाक्रमले सभापति र संसदीय दलको नेता फेर्दै जाने ? भोलि हाम्रो अनुकूल परिस्थिति पनि त बन्न सक्छ !’

सात दलीय गठबन्धनका सबै पार्टीभित्र असन्तुष्टि रहेको भन्दै भोलि कांग्रेसको अनुकूल परिस्थिति बन्ने उनले बताए । ‘कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने स्थिति आउन सक्छ  वा कांग्रेस गठबन्धनमा अरुको नेतृत्वमा सरकार बन्न सक्ने स्थिति आउन सक्छ । यो सरकार धेरै लामो चल्दैन,’ उनले भने ।

सत्ता गठबन्धन टुटेर नयाँ समीकरण अनुसार प्रचण्ड नेतृत्वको सरकार बन्दा महामन्त्रीद्वय थापा र शर्मा पोखरातिर बरालिनु गैर जिम्मेवारीको पराकाष्ट भएको देउवा पक्षको आरोप छ ।

केही केन्द्रीय सदस्यले सभापति देउवाका साथै महामन्त्रीलाई पनि निशाना बनाउने देखिन्छ । केन्द्रीय सदस्य नैनसिंह महर वर्तमान परिस्थितिको जिम्मेवारी पदाधिकारीले लिनुपर्ने बताए ।

उनले भने, ‘जस र अपजसको पहिलो जिम्मा सभापतिकै हुन्छ । यसमा दुईमत छैन । तर, पदाधिकारी र केन्द्रीय कार्यसमितिका पदाधिकारीले अवैधानिक काममा सहकार्य गर्नुभएको छ । यसको गम्भीर समीक्षा हुन्छ ।’

उनका अनुसार गठबन्धन टुट्नुमा पार्टी सभापतिसहितका पदाधिकारी र कार्यसम्पादन समितिले गल्ती गरेको देखिन्छ । त्यसको स्पष्टीकरण २२ गतेको केन्द्रीय समितिमा उनीहरूले दिनुपनुपर्ने महरले बताए ।

‘उहाँहरूबाट गल्ती किन भयो ? चित्तबुझ्दो गरी यसको प्रस्टीकरण दिन सक्नुपर्छ । अब त्यस्तो गल्ती दोहोरिँदैन भनेर ग्यारेन्टी के छ भनेर आधार खोज्छौँ,’ उनी भन्छन् । गल्ती–कमजोरी भएकोमा पदाधिकारीलाई कुनै न कुनै प्रकारको रियलाइजेसनसम्म पु¥याउने काम केन्द्रीय समितिबाट हुने महरको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप