आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीको आन्तरिक कारणले चुनावमा जसपा कमजोर भएको ठहर

एमालेसँग चुनावी तालेमल पार्टीका नेता तथा कार्यकर्ताले उपयोग गर्न सकेनन् : अध्यक्ष यादव
मङ्गलबार, १९ पुस २०७९, १६ : ३५
मङ्गलबार, १९ पुस २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक काठमाडौँमा जारी छ । जसपा संघीय परिषद्का अध्यक्ष अशोक राईले ‘मुलकको वर्तमान राजनीतिक परिस्थिति र हामो पार्टीको भूमिका’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले ‘प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्बन्धी समीक्षा’ विषयमा प्रस्तुत गरेका मौखिक प्रतिवेदनमाथि बैठकमा छलफल चलिरहेको छ ।

हालसम्म ३५ जनाले आफ्नो धारणा राखिसकेका छन् । हालसम्म बोलेकामध्येले एमालेसँगको गठबन्धन पार्टीको हितमा रहेको तर त्यसलाई पार्टीले व्यवस्थापन गर्न नसकेको धारणा राखेका छन् । कतिपयले एमालेसँग तालमेल गरेका कारण चुनावमा पार्टी कमजोर भएको धारणा पनि राखेका छन् । पार्टीका केही नेताले पार्टीभित्रैबाट एक अर्कालाई हराउने अभियान चलाएको धारणा राख्दै त्यस्ता नेतालाई कारवाही गर्न माग गरेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि पार्टीको आन्तरिक कारणले चुनावमा कमजोर भएको जनाएका छन् । उनले कुनै नेताको नाम नलिइकन कतिपय नेताहरु आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सक्रिय भएको जनाए । कोही खुलेर र कोही गोप्य रुपमा आफ्नै नेताको विरुद्धमा लागेपछि चुनावमा कमजोर भएको उनको भनाइ थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष यादवले आफू पनि पार्टीकै कतिपय नेताहरुको असहयोगका कारणले चुनाव हारेको धारणा बैठकमा राखेका थिए । जिल्ला जिल्लाबाट आएका चुनावी रिपोर्टले पनि आन्तरिक कारणले नै पार्टीका धेरैजना पराजित भएको अध्यक्ष यादवले बैठकमा जनाएको ती नेताको भनाइ छ ।

एमालेसँग तालमेलका बाबजुद चुनावमा जसपा एक ढिक्का नरहेका कारण हारेको र एमाले एक ढिक्का भएका कारण जितेको विश्लेषण अध्यक्ष यादवको छ । उनले बैठकमा भने, ‘एमालेका नेता तथा कार्यकर्ता एक ढिक्का छन्, उनीहरुले आफ्नै पार्टीका उम्मेदवारलाई हराउने अभियान चलाएनन् तर जसपा एक ढिक्का छैन, कतिपय नेताहरु खुलेर आफ्नै पार्टीका उम्मेदवारलाई हराउनेतिर लागेका थिए ।’

एमालेसँग चुनावी तालेमल गर्दा कुनै घाटा नरहेको बताउँदै अध्यक्ष यादवले त्यसलाई पार्टीकै नेता तथा कार्यकर्ताले उपयोग गर्न नसकेको धारणा राखेका थिए । संघीय परिषद्का अध्यक्ष राईले पनि एमालेसँग चुनावी गठबन्धन गर्दा जसपालाई नोक्सान नभएको धारणा राखेका छन् । जहाँ पार्टीका नेताहरु जितेका छन् उनीहरु एमालेकै सहयोगमा जितेको धारणा राख्दै उनले आफ्नो पार्टीमा देखिएको कमी कमजोरीलाई सुधार गर्नुपर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए ।

जसपा नेपाल अन्य पार्टीभन्दा व्यवस्थित र संगठित रहेको उल्लेख गर्दै उनले सानातिना कमी कमजोरी सच्याएर अगाडि बढ्न उनले आग्रह गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप