बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्र प्रदेश १ मा मन्त्री बन्ने विषयमा विवाद,  के भन्छन् आङ्बो ?

शुक्रबार, २२ पुस २०७९, १२ : ०१
शुक्रबार, २२ पुस २०७९

विराटनगर । प्रदेश १ मा सरकार गठनको विषयमा माओवादी केन्द्रमा विवाद देखिएपछि संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अफवाहको पछि नकुद्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले प्रदेश १ सरकार गठनको विषयमा सत्ता साझेदार दलहरुबीच कुनै निर्णय र सहमति नभइसकेको, केन्द्रमा सहमति नभई प्रदेशस्तरमा अनौपचारिक बाहेक कुनै निर्णायक छलफल अगाडि नबढेको बताएका छन् । 

यस्तै आङ्बोले प्रदेश पार्टी र संसदीय दलभित्र कोही पनि व्यक्ति र पात्रले प्राप्त गर्ने जिम्मेवारीको बारेमा कुनै छलफल प्रारम्भ नभएको र पार्टीको माथिल्लो निकाय वा पदाधिकारीहरुबाट कोही निश्चित पात्र विशेषको निम्ति कुनै प्रस्ताव, दबाब वा निर्देशन नआएको पनि बताएका छन् । 

माओवादी प्रदेश १ का कतिपय सांसदहरुले मन्त्री बन्न गरेको लबिङ स्वाभाविक भएको भन्दै उनले भनेका छन्, ‘जनताको बीचमा हजारौँ सपना बाँडेर निर्वाचित भएर आएका जनप्रतिनिधिले कार्यकारी निकायमा बसेर जनताको सेवा गर्ने चाहनालाई कसैले अन्यथा नठानौँ भ्रम र अफवाहको पछि नलागौँ ।’

जीवन आचार्यलाई मन्त्री बनाउने विषयमा विवाद

प्रदेश १ सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयको टुङ्गो नलाग्दै माओवादी केन्द्रमा भने विवाद सुरु भएको छ । माओवादीका प्रदेश १ सचिव तथा प्रदेश सांसद गणेश उप्रेतीले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेखेपछि उक्त विवाद सतहमा आएको हो । 

‘राजनीति गर्नेहरूले राजनीतिक निर्णय र राजनीतिक पहलकदमी लिएकै राम्रो,’ उनले आज पोस्ट गरेको स्ट्याटसमा उल्लेख छ, ‘त्यसभित्र अराजनीतिक र मूल्य मान्यता नाघेर निर्णयहरू लिँदा आन्दोलन वा अभियान कसैलाई फाइदा पुग्दैन ।’

उनले लेखेको स्ट्याटस पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य जीवन आचार्यप्रति लक्षित गरेको अनुमान छ । प्रदेश १ को सरकार गठन हुने समय नजिकिँदै गर्दा मोरङका दुई नेताबीच मन्त्री बन्ने होडबाजी छ । आचार्य प्रधानमन्त्री प्रचण्डको ज्वाई हुन् । 

उनको कारणले मोरङको क्षेत्र नम्बर ६ (१) मा पार्टी संगठन निर्माण भएको छ । उक्त क्षेत्रमा माओवादीको जनाआधार कमजोर थियो । उनै आचार्यको जोडबलमा निर्वाचनको सन्दर्भ पारेर एमालेका स्थापित नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

माओवादी केन्द्रको भागमा पर्ने सम्भावित ४ मन्त्रालयमध्ये कसले नेतृत्व गरेर जाने भन्ने रस्साकस्सी छ । माओवादीबाट तेह्रथुमका दुर्गा चापागाईं, संखुवासभाका राजेन्द्र कार्की, उदयपुरका राम राना मगर, सोलुखुम्बुका गोम्बु शेर्पा, मोरङका आचार्य र उप्रेती तथा गीता तिम्सिना मन्त्री बन्ने लाइनमा छन् । मोरङबाट आचार्य, उप्रेती र तिम्सिनामध्ये एक जनामात्रै पर्ने भएको कारण उनीहरुबीच तीव्र प्रतिस्पर्धा र छेडखानी सुरु भएको हो । तिम्सिनाले मन्त्री पद नपाए सभामुखमा दाबी गरेको बताइएको छ । 

बुढीगंगा गाउँपालिका माओवादी केन्द्रका इन्चार्ज ईश्वरी आचार्यले जनयुद्धदेखिका र पछि आएका बीचमा फाटो सिर्जना गर्ने उद्देश्यका साथ नेता जीवन आचार्यको विरुद्धमा सुनियोजित प्रचार भएको बताए । ‘जनतासँग गरेको नियमित काम कारबाहीको विषयमा पनि आन्तरिक पार्टीमा छलफल होला नि ?,’ आचार्यले भने, ‘जनयुद्धको समयमा पार्टीका नेता कार्यकर्ताले गरेको योगदानको उच्च सम्मान गर्दछौँ, तर त्यसको मतलब त्यसपछि आएका हामीजस्ता हजारौँ कार्यकर्ताले पनि १५ वर्षभन्दा बढी लगानी गरिसकेको कुरा बिर्सनु हुँदैन ।’ जीवन आचार्यको कारण मोरङका विकास निर्माणमा सहयोग पुगेको, नेताहरूकै लागि अध्यक्ष प्रचण्डको किचनमा पुग्न सहज भएको जस्ता कुरा बिर्सन नहुने उनले बताए । ‘मध्यम वर्ग तथा जनयुद्ध गरेका बाहेकले मन्त्री बन्नु नहुने हो भने सांसद किन बनाएको, पार्टीको केन्द्रीय सदस्य किन बनाएको ?,’ उनले प्रश्न गरे, ‘पहुँच चाहिने बेलामा जीवन आचार्य चाहिने अहिले मन्त्री बन्ने समयमा अवरोध गर्ने र विवाद सिर्जना गर्ने ? ।’ विवाद भएको विषयमा जीवन आचार्यले भने मुख खोलेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप