शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

बागमती प्रदेश सरकार गठनमा कांग्रेस पनि पहल गर्दै

शुक्रबार, २२ पुस २०७९, १६ : ३४
शुक्रबार, २२ पुस २०७९

मकवानपुर । बागमती प्रदेश सरकार गठनका विषयमा दलहरुले सक्रियता बढाएका छन् । गत बिहीबार सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान भएसँगै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरु आन्तरिक छलफलमा जुटेका हुन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २४ गते अपराह्न ४ बजेसम्म सरकार निर्माणका लागि बहुमत सदस्यसहित दाबी पेस गर्न सूचना जारी गरेपछि दलहरु प्रदेश सरकार निर्माणको प्रक्रियाको छलफलमा जुटेका हुन् ।

प्रदेशसभामा मुख्य दलहरु सरकार गठनका विषयमा समीकरण बनाउन केन्द्रदेखि प्रदेशस्तरसम्म छलफल भइरहेको छ । सरकार गठनका विषयलाई लिएर प्रदेशसभाका दलका नेताहरु पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट र छलफललाई तीब्रता दिएका छन् । बागमती प्रदेश सरकार गठनका विषयमा मुख्य ठुला दलका केन्द्रीय नेतृत्व पनि सक्रिय देखिएको छ । प्रदेशसभाको मुख्य दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादीका शीर्ष नेतृत्व छलफलमा जुटेका हुन् ।

बागमती प्रदेशको सबैभन्दा ठुलो दल कांग्रेस पनि सरकार गठनका लागि सम्भावनाको खोजीमा जुटेको छ । केन्द्रीय सत्ता समीकरण विपरितको समीकरण निर्माण गरी सत्ता हत्याउने दाउमा कांग्रेस छ । सोही अनुसार कांग्रेसले छलफलसमेत अघि बढाएको छ ।

सत्ता गठबन्धनमा भागबण्डाको विवाद चलिरहेको अवस्थामा कांग्रेसको नजर फरक सत्ता समीकरण निर्माणमा केन्द्रित भएको हो । केन्द्रमा सात प्रदेशको प्रमुख पद बाँडफाँटमा असन्तुष्ट राप्रपासहित एकीकृत समाजवादीको साथ लिएर कांग्रेसले बागमती प्रदेशमा सरकार गठन गर्ने रणनीति बनाएको छ । सोही अनुसार कांग्रेसले राप्रपालाई प्रदेशको मुख्यमन्त्री बन्न अफर गरेको बुझिएको छ ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार प्रदेश सरकार गठनबारे पार्टीले औपचारिक छलफल नगरेको तर अनौपचारिक रुपमा छलफल भएको बताइन् । उनले प्रदेशमा सरकार गठनका लागि कांग्रेसका सबै नेताले सक्रिय रुपमा भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ । उनले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा सरकार गठन गर्नु जरुरी नरहेकाले फरक समीकरणबाट पनि सरकार बनाउन कांग्रेस तयार रहेको बताइन् ।

‘प्रदेश सरकार गठनका विषयमा अनौपचारिक छलफलहरु भएका छन् । केन्द्रमा जस्तो समीकरण छ, प्रदेशमा पनि त्यस्तै हुनुपर्छ भन्ने जरुरी हुँदैन । प्रदेशमा फरक समीकरणबाट पनि सरकार बनाउन सकिन्छ,’ उनले भनिन्, ‘सत्ता समीकरण निर्माणमा प्रदेशले आफ्नो भूमिका निर्वाह गर्न सक्नु पर्छ । प्रदेशका दलहरुले केन्द्र अनुसार भन्दा पनि आफू अनुकुल समीकरण बनाओस् भन्ने हाम्रो कुरा हो ।’

उनले केन्द्रमा एमाले, माओवादी केन्द्र र राप्रपाको समीकरणमा सरकार बनेको छ भन्दैमा प्रदेशमा पनि त्यही नै गर्नु पर्छ भन्ने अनिवार्य नरहेको बताइन् । बागमती प्रदेशमा कांग्रेस र एमाले अथवा कांग्रेस र माओवादी केन्द्र वा कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको पनि सरकार बन्न सक्ने अवस्था रहेको उनको भनाइ छ ।

‘प्रदेश सरकार गठनमा धेरै विकल्प छन् । त्यो विकल्पमा पनि प्रदेशका सांसदहरुले काम गर्नुपर्ने देखिन्छ,’ उनले भनिन्, ‘सोही अनुसार छलफल गर्नुपर्छ । हामी पनि त्यसै अनुसार प्रयासरत छौं । कांग्रेस अन्तिम समयसम्म पनि फरक समीकरण बनाउन पहल गर्ने पक्षमा छ,’ उनले भनिन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुर सिंह लामाले प्रदेश सरकार गठनमा थुप्रै सम्भावना बाँकी रहेकाले प्रदेशको ठुलो दलको हैसियतले कांग्रेसले अन्तिम समयसम्म पहल गर्ने बताए ।

प्रदेशमा सरकार गठनका लागि कांग्रेसले सबै मार्ग खुला गरेर छलफल गरिरहेको उनको भनाइ छ । सरकार गठनका विषयमा केन्द्रको समीकरण आफ्नो ठाउँमा राखेर प्रदेश अनुकुल समीकरण बनाउन सकिने उनले बताए ।

‘यस प्रदेशमा माओवादी केन्द्र र कांग्रेस वा कांग्रेस र एमालेको गठबन्धनमा सहजै सरकार बन्न सक्छ भने कांग्रेस, राप्रपा र अन्य साना दलहरूसँगको गठबन्धनमा पनि सरकार बन्न सक्ने अवस्था छ,’ उनले भने, ‘केन्द्र कै समीकरण हुनुपर्छ भन्ने छैन । केन्द्रको समीकरण केन्द्रमा र प्रदेशको प्रदेशमै बनाउन सकिन्छ ।’

यता बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य कृष्णप्रसाद शर्मा खनाल पनि प्रदेशस्तरको छलफलबाट सरकार गठन गर्नुपर्ने बताउँछन् । उनले प्रदेश सरकार गठनबारे केन्द्र र प्रदेशमा पनि केही छलफल भएको बताए ।

‘सरकार गठनबारे हामीले केन्द्रदेखि प्रदेशमा पनि त्यस विषयमा छलफल गरेका छौं । केन्द्र कै समीकरणमा सरकार बन्ने अवस्था प्रवल छ । तर केन्द्रकै अनुसार हुनुपर्छ भन्ने छैन,’ उनले भने, ‘परिस्थिति अनुसारको निर्णय प्रदेशमा हुन्छ । उक्त परिस्थितिमा सत्ता समीकरण फरक पनि बन्न सक्छ ।’

यता सत्ता गठबन्धन दलहरु भने केन्द्रको समीकरण अनुसार नै सरकार गठन गर्न प्रयासरत छन् । सत्ता गठबन्धन दल एमाले, माओवादी केन्द्र र राप्रपाका नेताहरु केन्द्रभन्दा फरक समीकरण बनाउने पक्षमा देखिँदैनन् । राप्रपाका महामन्त्री एवम् बागमती प्रदेशसभा सदस्य भुवन पाठक सत्ता गठबन्धनबाट अलग भएर सरकार गठन हुने सम्भावना नरहेको बताए । फरक गठबन्धनको प्रस्ताव आए पनि त्यस विकल्पमा राप्रपा जान नहुने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप